रामधुनीका पूर्वउपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष समेत नौ जनाउपर गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्र सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रवक्ता दाहालका अनुसार रामधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी उक्त निर्माण कार्यको गलत नापी किताव र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धाबाट खुलेको छ ।

यसैगरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी र तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीले अनुगमन तथा मूल्याङ्कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी भ्रष्टाचार गरेको आरोप छ ।

यस्तै, जलपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) ले सरकारी सम्पत्तिमा गैरकानुनी हानि र आफूलाई लाभ पुर्‍याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताव एवम् ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई नगरपालिकाको कार्यालयमा पेश गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध दुई लाख १२ हजार ७३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण बमोजिम सजाय गरी बिगोसमेत जफत हुने मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?