भासिएको पुलबाटै श्रीनगरबासीले गर्छन् दैनिक यात्रा, नगरपालिका ‘मुकदर्शक’

हिमालय टाइम्स
Read Time = 4 mins

नृपेन्द्र बहादुर  मल्ल, मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १ हुलुम खोलाको झोलुङ्गे पुल गत वर्षको असोज महिनामा परेको अबिरल बर्षाको कारणले पुल मुनिको पर्खाल पहिरोले भत्किएपछि उक्त पुल जोखिममा पर्यो। पुल जोखिममा परे पनि श्रीनगर गाउँका स्थानीयबासीहरू सदरमुकाम गमगढी बजार लगायत बनपाखा जाँदा जोखिम मोलेर सोही पुल भएर दैनिक आवतजावत गर्ने गरेका छन ।

वडा अध्यक्ष पदमराज मल्लले भने, ‘भासिएको पुलबाट वडा बासी लगायत कसैले पनि यात्रा नगर्न छायाँनाथ रारा नगरपालिकाको आदेश अनुसार वडाले निर्णय गरी बार लगाई पुल बन्द गरिसकेको भएपनि पुलमा लगाईएको बार हटाई निर्णयको कुनै वास्ता नगरी जोखिम मोलेर स्थानियले यात्रा गर्ने गरेका छन ।’ जोखिममा परेको पुलबाट यात्रा गर्दा दुर्घटना समेत हुन सक्ने अध्यक्ष मल्लको भनाई छ ।

यो पुलको समयमा नै कुनै पनि निकायबाट मर्मत सम्भार नभए पछि दिन प्रतिदिन पुल झर्दै गएको छायाँनाथ रारा नगरपालिका वडा नं १ मा कार्यरत सब ईन्जिनियर बिष्णुभक्त हितानले बताए। आर्थिक बर्ष २०७४/०७५ मा निर्माण गरिएको ९२ मिटर लामो र करिव ८० मिटर उचाईको उक्त हुलुम खोला पुल डोलिडारको रू ६९ लाखको आर्थिक र जिल्ला विकास समितिको प्राविधिक सहयोगमा निर्माण भएको थियो ।

श्रीनगर, भामवाडा लगायत घट्टललेख, तलिलेख, लुवारपोल्ना, गाँडापानी, चराप, झाकोटलगायतका बस्तीका मानिसहरू त्यहि पुल भएर सदरमुकाम ओहोरदोहार गर्दै आएका छन । पुल भासिएको खबरले टाढाका बस्तीका मानिसहरू बैकल्पिक बाटो चैन खोला र अल्का साँघुबाट गमगढी आवतजावत गर्ने गरेका छन् भने केही स्थानीयहरू छोटो दुरी हुनाले जोखिम मोलेर भए पनि त्यही भाँसिएको पुलबाट यात्रा गर्दै आएका छन् ।

भासिएको पुलबाट यात्रा गर्दा कतिखेर के हुने हो ? त्यसको कुनै टुङ्गो नभएको त्यहाँ स्थानीयहरू बताउँछन् । वाल भत्किएर जोखिममा परेको पुलको केही दिन मै मर्मत सम्भारको काम अघि बढाइने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताउनुभयो । बजेट अभावले पुल मर्मतको काममा केही ढिलाई भएको भए पनि मर्मतको कार्यको लागि नगरपालिकामा निर्णय समेत भइसकेको पनि उहाँले बताउनुभयो ।

पुल देखि नगरपालिकाको कार्यालय ५ मिनेटको दुरिमा पर्छ । कार्यालय नजिकै रहेको जोखिमपुर्ण अवस्थामा रहेको पुलले नगरपालिकालाइ गिँज्याइ रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?