एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

रासस
Read Time = 2 mins

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।

चाँगुनारायण नगरपालिका-३, झौखेलस्थित ‘सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो । क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा अध्ययन हुन लागेको केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

केन्द्रले सातवटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे आगामी सातादेखि अनुसन्धान गर्ने भएको छ । देशका एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताउनुभयो । सात प्रदेशका हिमाल, पहाड, तराई क्षेत्रमा अनुसन्धान गर्नेछ ।

अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीका लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो । एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताउनुभयो । अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्यान्डमा एकै पटक सुरु हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?