चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

नेपालले तिर्न बाँकी ऋण आन्तरिक ११ खर्ब ८३ अर्ब ५७ करोड र बाह्य ११ खर्ब ७३ अर्ब भन्दा बढी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय देशको आर्थिक अवस्था कमजोर बन्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षको पहिलो चौमासिकमा सार्वजनिक ऋण थपिएको छ । पछिल्लो समय नेपालका अर्थतन्त्रका सबै अवयवहरु प्रभावित बनेको छन् । महंगी नियन्त्रणभन्दा बाहिर गएको छ ।

रुस–युक्रेन युद्धका कारण इन्धनमा मुल्यवृद्धि र यसले उब्जाएको बहुआयामिक क्षेत्रमा परेका प्रभाव कारण देखिन्छन् । ऋणको माग बढ्दै जानु र पुनर्कर्जा वितरण गर्ने राष्ट्र बैंकको नीतिले राष्ट्रमा ठूलो तरलताको अभाव सिर्जना हुन पुगेको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ ।

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ ।

गत कात्तिक मसान्तसम्ममा सरकारले रू २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?