अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देश विकासमा नभई तस्करी र भ्रष्टाचारमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । उहाँले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरितन्त्र फैलिएको पनि बताउनुभएको छ । शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गर्नुभयो । सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप उहाँको छ ।
उहाँले भन्नुभयो, ‘म एमालेका नेता कार्यकर्ताहरूलाई भन्न चाहन्छु, अहिले पनि अरू पार्टीमा अल्मलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ । देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ । सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमालेबाहेक अरू कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।’
ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमालेबाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने दाबी पनि गर्नुभयो । उहाँले एमालेका हरेक नेता तथा कार्यकर्तालाई आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन पनि दिनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताउनुभयो । उहाँले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहनसक्ने देश नभएको जिकिर गर्नुभयो । ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली-मेची अभियान गरिएको दाबी गर्नुभयो ।
झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ । अभियानमा एमालेले जनतासँग सघन सम्वाद गर्ने, प्राध्यापक, शिक्षक, राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा काम गरिरहेकाहरूसँग अन्तरक्रिया गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच