
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङको वसन्त पञ्चमी प्राथमिक विद्यालयले एउटै कोठामा विद्यार्थी राखेर पठनपाठन गराइरहेको पाइएको छ । उक्त विद्यालयले बालविकासका दुईजना र कक्षा-१ का एकजना विद्यार्थीलाई एउटा कक्षामा तथा कक्षा-२ का चारजना, कक्षा-३ का एकजना र कक्षा-४ का एकजना विद्यार्थीलाई एउटा कोठामा राखेर तीन महिनादेखि अध्यापन गराइरहेको हो । यो विद्यालयमा बालविकाससहित कक्षा-४ सम्म नौजना मात्रै विद्यार्थी अध्ययनरत छ । साउन भदौको विद्यालय बिदामा धमिराले काठ (डेस्क, बेन्च) खाएपछि काठ सुकाएर स्टोर गर्दा कक्षा-४ र कक्षा-२ को कोठा ओगटेकाले एकै ठाउँमा बहुवर्ग शिक्षण गर्नुपरेको विद्यालयका प्रधानाध्यापक तिलक श्रेष्ठले बताउनुभयो ।
यसरी एकै ठाउँमा विद्यार्थीलाई पढाउँदा असर पुग्दैन ? भन्ने प्रश्नमा प्रअ श्रेष्ठले भन्नुभयो, ‘लामो समय बहुवर्ग शिक्षण विधि अपनाएर लामो समयसम्म एउटै कक्षा कोठामा राखेर अध्यापन गराउँदा असर पर्ने देखियो । तथापि, फर्निचरलाई व्यवस्थापन गर्छौं । कक्षा सुचारु गर्छौं । अलग-अलग कक्षा व्यवस्थापन गर्न सक्षम छौँ ।’ त्यो कहिले हुन्छ ? भन्दा एक सातामा आ-आफ्नो कक्षाकोठामा पढाइ हुने प्रअ श्रेष्ठले बताउनुभयो ।
सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा पढाइरहेको देखेपछि १०-१५ दिनअघि नै आ-आफ्नो कक्षामा पढाउन सुझाव दिइसकेको बाम्राङका वडाध्यक्ष एवं वडा शिक्षा समिति संयोजक महेन्द्रबहादुर राईले बताउनुभयो । एकैजना विद्यार्थी भए पनि आफ्नो कोठामा पढाउनुहोस् भनिसकेको छु । एकैजना भए पनि उसले पढ्न पाउने नैसर्गिक अधिकार खोसिनु भएन भनेको छु । वडाध्यक्ष एवं वडा शिक्षा समिति संयोजक राईले भन्नुभयो ।
कक्षा-१ देखि कक्षा-३ सम्म बहुवर्ग शिक्षण गर्न पाउने तर, कक्षा-४ लाई बहुवर्ग शिक्षण गराउन नपाइने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्माले बताउनुभयो । अन्य कुरा समस्या हेरेर मात्रै भन्न सकिने विश्वकर्माको भनाइ छ ।
रित्तिँदै विद्यालय
यो विद्यालयमा दुई जनाको स्थायी दरबन्दी छ । जसमा प्रअ श्रेष्ठ र शिक्षिका सुशीला शर्मा । बालबिकासमा तुलसा हिङमाङ हुनुहुन्छ । एकजना कार्यालय सहयोगी । तर, विद्यार्थी ज्यादै कम छ । शैक्षिक सत्रको सुरुवातमा कक्षा-१ मा सात जनाले भर्ना गरे । भर्ना भएका सातमध्ये आकृति परियार बाम्राङकै सावित्रा मावि, तेज विशंखे याम्खा, रमेश राई समावि दिक्तेल, निशा राई र निशान राई तथा आरुष हिङमाङलाई परिवारले काठमाडौं लगेपछि अहिले कक्षा–१ मा एकजना मात्रै विद्यार्थी छन् ।
कक्षा-२ मा पाँचजना भर्ना भए । अहिले चारजना मात्रै विद्यार्थी कक्षामा आउँछन् । देवीकला राई समावि दिक्तेल जानुभयो । कक्षा-३ मा चारजना भर्ना भए तर, एकजना मात्रै विद्यार्थी अध्ययन गर्न आउँछन् । नेत्र विशंखे याम्खा, अनुशा बिक समावि र आस्तिका राई बालविकास प्रावि बाम्राङ जानुभयो । कक्षा-४ मा पनि चार जनाले भर्ना गरे । तर, अहिले एकजना मात्रै विद्यार्थी अध्ययन गर्छन् । रुपेस राई समावि दिक्तेल जानुभयो । तुलसा नेपाली र प्रकृति परियार नपढी घरमै बसिरहेको विद्यालयले जनाएको छ । बालविकासमा पाँचजना भर्ना भए । तर, भर्ना भएका शेखामाया जोशी निजी स्कुल जानुभयो । प्रशंसा दर्नाल र भावना ढकाल घरमै बसिरहेका बालविकासका शिक्षिका तुलसा हिङमाङले बताउनुभयो ।
भर्ना भइसकेका विद्यार्थीहरू पनि नजिकैको विद्यालयमा गएपछि विद्यार्थी संख्या कम भएको प्रअ श्रेष्ठ बताउनुहुन्छ । पठनपाठन गतिलो नभएर विद्यार्थी अन्त गएको हो ? भन्ने प्रश्नमा प्रअ श्रेष्ठले पठनपाठन अरू विद्यालयभन्दा कम नरहेको जिकिर गर्नुभयो । हाम्रो विद्यालयमा भर्ना भएका विद्यार्थी अधिकांश दलित समुदायका भएकाले छात्रावृत्तिका लागि दुई/तीनवटा विद्यालयमा भर्ना गर्नेे र दुवैतिरबाट लाभान्वित हुने मनसायले हाम्रै विद्यालयमा भर्ना भई पोसाक, पुस्तकको सुविधा लिने र कता सजिलो त्यतै अध्ययन गर्नाले विद्यार्थी कमी भएको देखियो । प्रअ श्रेष्ठले भन्नुभयोे ।
जीर्ण छ भवन
विद्यालयका तीनवटा भवन जीर्ण छन् । २०४९ सालमा निर्माण गरिएको कच्ची भवनलाई २०७२ सालको भूकम्पले थिलथिलो बनाएको छ । विद्यालयसँग दुई रोपनी १४ आना मात्रै जमिन छ । तर, विद्यालयको बलेसीदेखि व्यक्तिको जग्गा छ । विद्यालयको अनुरोधमा व्यक्तिको जग्गालाई सम्याएर विद्यालयको प्रांगण बनाइएको छ । वरीपरी घेराबारा गरिएको छ । बाम्राङमा जम्मा ६ विद्यालय छन् । सुर्केडाँडा निमावि, सावित्रा मावि, शिद्देश्वरी प्रावि संखु, जनता प्रावि रातापानी, बालविकास प्रावि र वसन्त पञ्चमी प्रावि छन् ।
एकजना दरबन्दी र एकजना बालविकास शिक्षिका भएको बालविकास प्रावि बाम्राङमा पनि विद्यार्थी ज्यादै कम छ । त्यहाँ बालविकासमा ११ जना, कक्षा-१ मा पाँच जना, कक्षा-२ मा दुईजना, कक्षा-३ मा दुई जना विद्यार्थी रहेको प्रधानाध्यापक लक्ष्मी राईले बताउनुभयो । भर्ना भइसकेका विद्यार्थीलाई पनि अभिभावकले निकालेर निजी विद्यालय लगेपछि विद्यार्थी घटिरहेको प्रअ राईले बताउनुभयो ।
यसैगरी, सावित्रा मावि बाम्राङमा बालविकासमा पाँच जना, कक्षा-१ मा आठ जना, कक्षा-२ मा पाँचजना, कक्षा-३ मा पाँचजना, कक्षा-४ मा १० जना, कक्षा-५ मा १० जना, कक्षा-६ मा १३ जना, कक्षा-७ मा १८ जना, कक्षा-८ मा १० जना, कक्षा-९ मा २२ जना र कक्षा-१० मा २३ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । तर, नगरपालिकाको ईमिस र विद्यालयको हाजिरीमा विवरण मिलेको पाइँदैन । विद्यालयहरूले भौतिक विद्यार्थीभन्दा बढी ईमिसमा विद्यार्थी संख्या देखाएर दैनिक दिवा खाजा र पुस्तक खर्चमा आउने बजेटको दुरुपयोग गर्ने गरेको गुनासो आउने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच