काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको टिप्पणी गर्नुभएको छ । ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा आठौँ दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोख्नुभएको हो । नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ । ‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भन्नुभयोे, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाइ थियो ।
बुधबार बागलुङकै बुर्तिवाङमा आयोजित सभामा ‘राजनीतिबाट माथि उठेर विकासमा लाग्न’ कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आहृवान गर्नुभएका ओली भोलिपल्टै सत्ता गठबन्धनप्रति आक्रामक देखिनुभयो । ‘जहाँ-जहाँ सडक बनेका छैनन् त्यहाँ कांग्रेसले ठेक्का लिएको छ’ ओलीले भन्नुभयोे, ‘सरकार त विकास गर्न नसक्ने लुते नै भयो ।’ पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उहाँले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको बताउनुभयो । ‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भन्नुभयोे, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन-०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गर्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको टिप्पणी गर्नुभयोे । उहाँले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिनुभयो । ‘ऋणी भएनन्, बचतकर्ता भएनन् भने तिम्रा बैंक बन्द हुन्छन्,’ उहाँले भन्नुभयोे, ‘चर्को ब्याज लगाएर जनतालाई मार्ने काम नगर ।’ मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताउनुभयो । उक्त योजनाअनुसार मिसन-०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबीसमेत ओलीले गर्नुभयो । बिहीबार बागलुङको गलकोट, घोडाबाँधे र बागलुङ बजारमा एमालेले जनभेटघाट र सभासमेत गरेको थियो । अभियानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू, महासचिव शंकर पोखरेललगायत सहभागी हुनुहुन्छ ।
नेकपा (एमाले)ले मंसिर १४ गतेबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच