मेसी विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी

Read Time = 4 mins

एजेन्सी । फोर्बस पत्रिका अनुसार लियोनल मेसी विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बन्नुभएको छ । फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले एनबीएका लेबर्न जेम्स र म्यानचेस्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीमा आफ्नो नाम दर्ज गर्नुभएको हो ।

अर्जेन्टिनाका कप्तान मेसीले १ मे २०२२ सम्मको १२ महिनामा १३ करोड अमेरिकी डलर कमाउनुभएको छ । त्यसमा मेसीले पाँच करोड ५० लाख अमेरिकी डलर ‘इन्डोर्समेन्ट’बाट कमाउनुभएको छ । २०२१ मा लियोनल मेसी दोस्रो स्थानमा हुनुहुन्थ्यो । त्यतिबेला कोनोर म्याग्रेगर शीर्षस्थानमा रहनुभएको थियो ।

एनबीएमा लस एन्जल्स लिकर्सका फरवार्ड जेम्सले १२ करोड १२ लाख अमेरिकी डलर कमाउनुभएको छ । उहाँले खेलबाट चार करोड १२ लाख अमेरिकी डलर कमाउनुभएको छ भने मैदानबाहिर आठ करोड अमेरिकी डलर कमाउनुभएको छ । उहाँ गत वर्ष पाँचौं स्थानमा रहनुभएको थियो । उहाँले गतवर्ष नौ करोड ६५ लाख अमेरिकी डलर कमाउनुभएको थियो ।

तेस्रो स्थानमा रहन सफल पोर्चुगलका फरवार्ड रोनाल्डोले ११ करोड ५० लाख अमेरिकी डलर कमाउनुभएको छ । रोनाल्डो अघिल्लो वर्ष तेस्रो स्थानमै रहनुभएको थियो । रोनाल्डोले मैदानबाहिरबाट पाँच करोड ५० लाख अमेरिकी डलर कमाउनुभएको छ । यसवर्ष रोनाल्डोको आम्दानी घटेको छ । उहाँले २०२१ मा १२ करोड कमाउनुभएको थियो ।

धेरै कमाउने खेलाडीमा पिएसजीकै फरवार्ड नेइमार चौथो स्थानमा हुनुहुन्छ । ब्राजिलका नेइमारले नौ करोड ५० लाख अमेरिकी डलर कमाउनुभएको छ । नेइमार गतवर्ष छैटौं स्थानमा रहनुभएको थियो । नेइमारले गतवर्ष पनि नौ करोड ५० लाख अमेरिकी डलर कमाउनुभएको थियो ।

तीन पटकको एनबिए च्याम्पियन स्टेफन करी पाँचौं स्थानमा हुनुहुन्छ । गोल्डेन स्टेट वारियर्सका करीले नौ करोड २८ लाख अमेरिकी डलर कमाउनुभएको छ । एनबिएकै अर्का खेलाडी केभिन डुरान्ट छैटौं स्थानमा हुनुहुन्छ । उहाँले नौ करोड २० लाख अमेरिकी डलर कमाउनुभएको छ । टेनिस खेलाडी रोजर फेडेरर सातौं स्थानमा रहनुभएको छ । फेडेररले नौ करोड सात लाख अमेरिकी डलर कमाउनुभएको छ । फेडेरर गतवर्ष सातौं स्थानमै हुनुहुन्थ्यो । उहाँको कमाई गतवर्षभन्दा सात लाख अमेरिकी डलरले बढेको छ ।

त्यसैगरी मेक्सिकोका बक्सर कानेलो अल्भारेज आठौं स्थानमा हुनुहुन्छ । अल्भारेजले नौ करोड अमेरिकी डलर कमाउनुभएको छ । सात पटकका सुपर बल च्याम्पियन बेस बल खेलाडी टम ब्राडी नवौं र एनबीएका खेलाडी जियानिस आतेतोकुम्बो दशौं स्थानमा रहनुभएको छ । ४४ वर्षे ब्राडीले आठ करोड ३९ लाख अमेरिकी डलर कमाएउनुभएको छ भने आतेतोकुम्बोले आठ करोड नौ लाख अमेरिकी डलर कमाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?