काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत गरे पनि व्यवहारमै देखापर्ने गरी सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । काठमाडौंमा राष्ट्रिय व्यावसायिक पहलले गरेको चौथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले विभिन्न नीतिहरू अवलम्बन गरेको र क्रमशः त्यसको प्रतिफल देखिने क्रममा रहेको दाबी गर्दै भन्नुभयो, ‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणासमेत गर्ने तयारी गरिरहेको छु ।’
प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूले देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न प्रयास गरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु । केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तरक्रिया गरेको छु । अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरू समेत गरिएको छ । मेरो विश्वास छ-उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्व सम्मेलन (कोप-२८) मा पनि नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक छ । सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु ।’
नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी र नीतिगत सुधार गर्ने प्रतिबद्धता
प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक कानुनी र नीतिगत सुधार गर्न तयार रहेको बताउनुभएको छ । सरकार नेपाललाई लगानीको गन्तव्य बनाउन प्रतिबद्ध रहेको र यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,‘जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन् । जिम्मेवार अभ्यासहरूमार्फत व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् । अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरण बनाउन आवश्यक कानुनी र नीतिगत सुधार गर्न सरकार तयार छ ।’
प्रधानमन्त्री प्रचण्डले बुधबार मात्रै शासकीय सुधारमा केन्द्रित रहेर सरकारका बहालवाला र भूतपूर्व कर्मचारीहरूको बृहत् गोष्ठी गरिएको जानकारी दिँदै भन्नुभएको थियो, ‘त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ । शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने विश्वास लिएका छौँ ।’
प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिका विशेष सहायकबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहनुभएकी दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशकसमेत रहनुभएकी लाउबाचरले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएको हो ।
भेटवार्तामा नेपाल र अमेरिका बीचको सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै दुई देशबीच द्विपक्षीय सहकार्य थप बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । लाउबाचर बुधबार नेपाल आउनुभएको हो । उहाँले बुधबार नै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग भेटवार्ता गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच