बीउ उत्पादनमा आत्मनिर्भर बनाउन कृषकको जोड

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरुले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ । जिल्लाको सदरमुकाम तम्घासमा कृषकहरुलाई व्यवसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरुले यस्तो बताउनुभएको हो ।

तालिम कृषकहरुका लागि अत्यन्तै उपयोगी भएको भन्दै बीउको कारोबारमा सहजता ल्याउन आग्रह गरेका छन् । ‘यस जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन सके मात्र तालिमले सार्थकता पाउनेछ ।’ तालिममा सहभागी कृषक कृष्णप्रसाद घिमिरेले भन्नुभयो-‘तालिम लिएका सबै कृषकहरुले बीउ उत्पादन गरे मात्र पनि आयातित बीउ रोक्नुका साथै प्रतिस्थापनका लागि टेवा पुर्‍याउनेछ ।’

मुल बीउ जिल्ला बाहिरबाट धेरै आयात भएको छ । त्यसरी आयातित भएको बीउ पनि खायनको रुपमा प्रयोग भइरहेको भन्दै बीउमा गरिएको लगानी खेर गइरहेको कृषक घिमिरेले बताउनुभयो । अझै पनि बीउमा आत्मनिर्भर बन्न सकेका छैनौं । स्थानीय तहले समन्वयकारी भूमिका खेलेर सहयोग पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कृषि सम्मानित पेशा हो । बाहिरबाट ल्याउने बीउ रोक्न र स्थानीय बीउको प्रवर्द्धनका लागि पहल गर्न जरुरी छ । स्थानीय तहले अनुगमन गरि कृषकलाई आवश्यक सहयोग गर्न आवश्यक रहेको भन्दै सहभागी अर्का कृषक गंगा पन्थले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा सबैले उतार्नुपर्ने बताउनुभयो ।

बीउबिजन नियमावली, २०६९ को नियम १५ (ङ) बमोजिम तालिम सञ्चालन गरी सहभागी कृषकहरुलाई परीक्षा समेत लिएर प्रमाणपत्र प्रदान गरिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली विकास अधिकृत मोहन प्रसाद खतिवडाले बताउनुभयो । ‘यसबाट व्यवसायिक रुपमा बीउ उत्पादन गर्ने कृषकहरुका लागि अनुमतिपत्र प्राप्तिका लागि सहज हुन्छ ।’ उहाँले भन्नुभयो- ‘बीउ उत्पादन र बिक्री वितरणको कार्य सार्वजनिक चासो र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएकाले गुणस्तरीय बीउ उत्पादनमा ध्यान पुर्‍याउन आवश्यक छ ।’

यस जिल्ला मकैको बीउ उत्पादनका लागि अग्रणी जिल्लाको रुपमा परिचीत छ । यहाँ उत्पादन भएको बीउले जिल्लालाई आत्मनिर्भर बनाएर निर्यात गर्ने अवस्थामा पुर्‍याउन जरुरी देखिन्छ । प्रायः सेमिनार, गोष्ठी र तालिमहरु केबल कार्यक्रमका लागि कार्यक्रम मात्रै हुने गरेकाले अब यस्ता तालिमलाई प्रतिफल दिने गरी फलदायी बनाउनुपर्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

‘आयातलाई प्रतिस्थापन नगरी समृद्धि प्राप्त हुन सक्दैन । तालिमबाट सिकेको ज्ञान र सीपलाई सबैले व्यवहारमा उतार्न जरुरी छ । उहाँले भन्नुभयो,-‘धेरैजसो तालिम र गोष्ठीबाट प्राप्त प्रमाणपत्र दराज र बाकसमा थन्काएर राख्ने गरिएको छ । हामी सबैको पहिलो प्राथमिकता कृषि हो । तालिम गरेको प्रमाणपत्र बाक्सामा नबसुस् । रिजल्ट देओस् ।’ मानव पूँजीको विकास बिना समृद्धि हासिल गर्न नसकीने भन्दै नगरप्रमुख पन्थीले अहिलेको समय भनेको उत्पादनको समय हो संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित कार्यक्रमबाट रिजल्ट आउन नसक्दा नागरिकमा निराशा पैदा भएको बताउनुभयो ।

बीउको कारोबार गर्न इच्छुक कृषकहरुलाई लक्ष्यित गरी बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरको प्राविधिक सहयोगमा तीन दिनसम्म ३५ जना कृषकहरुको सहभागीतामा बीउ बिजन व्यवसायी अनुमति पत्र प्राप्त गर्नका लागि आवश्यक बीउ उत्पादन तथा व्यवस्थापन सम्बन्धि कृषकलाई तालिम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीका कार्यालय प्रमुख गंगा पोखरेलले बताउनुभयो । यस जिल्लाका लागि ५६१ मेट्रिक टन बीउको आवश्यकता छ । अहिले १५६ मेट्रिक टन मात्र बीउ उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?