विद्यालयको बाँझो जमिनमा तोरी खेती

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो  जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ ।

विद्यायलको जग्गा संरक्षणसंगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिनुभयो ।

यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रम समेत सञ्चालनमा छ । “विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ, उहाँले भन्नुभयो, “त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान गर्‍यो ।” उहाँले अनुसन्धान कार्यक्रम बाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताउनुभयो । “झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ”,उहाँले भन्नुभयो, “यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ ।”

विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उहाँले बताउनुभयो । कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उहाँले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताउनुभयो । उहाँले भन्नुभयो “स्थानियले भैसी बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उहाँहरु सबैले राम्रो गर्नुभएको छ भन्दै सहयोग गर्न आउनुहुन्छ । ” खेतीले विद्यालयलाई समुदायसंग जोड्ने सेतुको रुपमा काम गरेको अनुभव भएको उहाँले बताउनुभयो ।

विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले सिचाइँको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसंग अनुरोध गरिएको जानकारी दिनुभयो ।

“विद्यालयलाई यो कार्यक्रम मार्फत नमूना विद्यालयको रुपमा अघि बढाउने योजना छ”,उहाँले भन्नुभयो,“विद्यार्थीलाई सिकाइसंग र अभिभावकलाई विद्यालयसंग जोड्ने यो महत्वपूर्ण छ ।” जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यवहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शिक्षक ढकालले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?