टेलिफोनको टावरमा विद्युत सेवा विस्तारहुँदा स्थानीयलाई राहत

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत सेवा विस्तारहुँदा यहाँका स्थानीयवासिलाई फोन गर्न सहज भएको छ ।

माथिल्लो कर्णाली धेरैजसो टेलिफोन टावर सौर्य उर्जा सोलार प्रणालीबाट संचालित छन् । वैकल्पिक सौर्य उर्जा सोलारबाट चलाएका टेलिफोन टावर घाम लागे मात्रै चल्ने गरेका छन् । हातमा स्मार्ट मोवाइल सेट तर टेलिफोनको टावर नै नहुँदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । यस्तै समस्या झल्दै आएको तातोपानीका नागरिकलाई अहिले उक्त टावरमा विद्युतको लाइन पुगेपछि रातदिन टेलिफोन सेवा संचालनमा आएको वडाध्यक्ष अमर बहादुर रोकायाले जानकारी दिनुभयो ।

यसअघि त्यो टावरमा सोलार प्रणाली संचालन हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा संचालनहुने गरेको थियो । वडाध्यक्ष रोकायाले भन्नुभयो,“टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुनका लागि टावरमै विद्युत लाइन पु‍र्‍याएपछि सहज भएको छ । अब गाउँ २४ सै घण्टा टेलिफोन सेवा सुचारु हुने वडाध्यक्ष रोकायाको भनाइ छ । ”

समुन्द्रि सतहबाट दुई हजार ८५० मिटर उचाईको हाँकु लाग्ना टावरमा गिडिखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पुगेपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडालगायतका गाउँमा दिनरात संचारको सुविधाको पहुँचमा पुग्ने स्थानीयवासि प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

१५ लाख बजेटमा हाँकु लाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिक टेलिफोन सेवाको पहुँचमा आएकाछन् । वडाको ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको ९ लाख ९६ हजार गरि कुल १५ लाख ९६ हजार बजेटमा विद्युत टावरमा विद्युत लाइन पुर्‍याउन खर्च भएको हो । उक्त टावरमा समेत फोरजी इन्टरनेट सेवा जडान गरिएको वडाध्यक्ष रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?