रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद समाप्त भैसक्यो : अध्यक्ष राउत

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 7 mins

राजविराज । सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठान निर्माणको माग गर्दै माग ७२ दिन देखी रिले अनशन जारी रहि रहँदा प्रतिनिधिसभा सदस्य डा. सिके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गर्नु भएको छ ।

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक सञ्जालमार्फत सुक्रबार सो कुराको खुलासा गर्नु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइ सकेको थियो । अर्थात् म निर्वाचित हुनु भन्दा एकडेढ वर्ष अगाडि नै यो परियोजना बन्द भइसकेको थियो किनकी कसैले यसलाई नवीकरण गर्ने पहल गरेनन् ।”

डा. राउतले “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०” लेखाइ पुनः प्रक्रिया अहिले ’जिरो’ बाट शुरु गर्नु परेको जनाउँदै नयाँ गठनादेश लेखाएर कानून मन्त्रालयबाट पास गरि त्यसलाई अर्थ मन्त्रालयबाट पास गर्दै, मन्त्री परिषद्मा लग्नु परेको उल्लेख गर्नु भएको छ । उहाँले आफ्नो पहलमा दशैँ अगाडि नै नयाँ गठनादेश ’रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०’ लेखाउन लगाएर कानून मन्त्रालयमा पठाउन लगाइसकेको जिकिर गर्नु भएको छ ।

“पछिल्लो २-३ महिनादेखि दिनहुँ मन्त्रालयमा हाम्रा सहयोगी यो काम गराउन लागि परेका छन्, आफैँले फाइल यो मन्त्रालयबाट त्यो मन्त्रालय पुर्‍याउँदा पुर्‍याउँदै पनि यति समय लाग्यो । यसमा प्रधानमन्त्रीज्यूको पनि दोष देख्दिन, उहाँले मेरै अगाडि कामको स्टेप-स्टेपमा मन्त्रीज्यूहरूलाई ४/४ पटक फोन गरेर काम बढाउन दबाब दिनु भएकै हो, उहाँलाई पनि धन्यवाद छ ।” डा. राउतले लेख्नु भएको छ ।

सामाजिक सञ्जालमै उहाँले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आ.व. २०७६/७७ मा ४० करोड बजेट निकासा गरिएपनि उक्त बजेट फ्रिज भएको उल्लेख गर्नुभएको छ । त्यस्तै आ.व. २०७७/७८ मा ११ करोड बजेट खर्च गर्न नसकेपछि ४ करोड गजेन्द्र नारायण सिंह अस्पतालमा र ६ करोड ५० लाख रकमान्तर गरी अन्यत्र हालिएको तथा आ.व. २०७८/७९ मा बजेट नरहेकोले समितिको म्याद सकेर परियोजना बन्द भइसकेको जानकारी दिनुभएको छ ।

डा. राउतले अगाडि लेख्नु भएको छ ,“यो योजना सप्तरीकै गौरवको योजना हो । हामी यसप्रति सजग मात्रै होइन, यस कामलाई पूरा गराउन दिनरात लागि परेका छौं ।”

विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै विगत ७२ दिनदेखि स्थानीयहरूले रिले अनशनलाई निरन्तरता दिइरहेका छन् ।

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौल स्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो ।

२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माणकार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नु भएको थियो । यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक त्यहाँ केही काम भएको छैन ।

पछिल्लो समय स्थानीयहरूलेको सोही आन्दोलनलाई समर्थन गर्दै सप्तरी युथ नेपालले तीन चरणको आन्दोलनको घोषणा गरेका थिए । जसअन्तरगत राजविराजमा दबाबमूलक र्‍याली, विभिन्न सभा तथा हस्ताक्षर अभियान गरेका थिए । हस्ताक्षर अभियान अन्तरगत १० हजार व्यक्तिले गरेको हस्ताक्षर संकलन गरि युथ नेपालको एक टोली काठमाडौं पुगी प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन ।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
ashokmandalkhatwe
ashokmandalkhatwe
2023-12-29 9:22 pm

Namestai Mohedya.
Ke Ramraj hospital ma Hareak Dalitka Chora,chori Lai Free Upechar huncha.pedha sakcha. Kam work peyencha ki.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?