राष्ट्रियसभा निर्वाचन : कर्णालीमा यस्ता छन् कांग्रेसका आकांक्षी उम्मेदवार

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

कालीकोट । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ । राजनीतिक दलहरु अहिले उम्मेदवार छनोटको चरणमा छन् ।

राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदमा चुनाव हुन लागेको छ । राष्ट्रियसभा सदस्य प्रदेशस्तरमा हुने चुनावबाट निर्वाचित हुन्छन् र यसपटकको चुनावमा सातमध्ये कुनै प्रदेशमा ३ र कुनैमा २ पदका लागि चुनाव हुँदैछ ।

२९ मंसिरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० पुसभित्र तीन जनाको नाम सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको छ । प्रदेशले पनि जिल्ला कार्यसमितिलाई तीन जनाको नाम सिफारिस पत्राचार गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा लागि नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरुको भने लर्को लागेको छ । चर्चित युवा नेतादेखि यसअघि नै मन्त्री समेत भइसकेका कांग्रेसका नेताहरुसमेत राष्ट्रिय सभामा जान चाहिरहेका छन् ।

राष्ट्रिय सभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको छ । सोही अनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आइसकेका छन् ।

कर्णाली प्रदेश प्रदेश समितिको वैठक सोमबार बसे पनि निर्णय भने हुन सकेको छैन् । प्रदेश सभापति ललितजंग शाहीले मंगलबार नाम सिफारिसको निर्णय हुने बताउनुभयो ।

‘आएका नाम सबै पठाउने कि सेलेक्सन गर्ने सकस छ । गठबन्धनबाट कांग्रेसले कुन क्लष्टर पाउने निर्णय हुन नसक्दा नाम पठाउन अलमल छ’, प्रदेश सभापति शाहीले भन्नुभयो ।

कर्णालीमा राष्ट्रियसभा सदस्यमा अन्य, दलित र महिला क्लस्टरका गरी तीन पदमा चुनाव हुँदैछ । प्रदेश सभापति शाहीले मंगलबार बस्ने बैठकले आकांक्षीहरुको सबै नाम केन्द्रीय कार्यालयमा पठाउने सम्भावना रहेको बताउनुभएकोछ ।

राष्ट्रिय सभाका लागि कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले आकांक्षा दोहाेर्‍याउनुभएको छ । कालीकोट निवासी शाही यसअघि प्रत्यक्षतर्फ पटक-पटक चुनाव हारिसक्नुभएको ब्यक्ति हो । यद्यपि उहाँ युवा वर्गमा निकै चिनिनुभएको नेता हो । पार्टीभित्र प्रदेश कमिटीको सभापतिमा समेत पराजय भोग्नुभएका शाहीले राष्ट्रिय सभामा जान चाहानुभएको हो । कालीकोटबाट नै कालीबहादुर सहकारी, दैलेखबाट रवीन्द्रराज श्रेष्ठ, हिमबहादुर शाही, रंगबहादुर शाहीको नाम चर्चामा छ । हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुन मन्त्री समेत भइसक्नुभएको नेता हो । रंग शाही पनि गणतन्त्र भन्दा पहिला नै सांसद भइसक्नुभएका पुराना नेता हुनुहुन्छ ।

सुर्खेतबाट डम्बर जिसीलगायतका पुराना नेताहरू छन् । मुगुबाट हस्तबहादुर मल्ल, जाजरकोट सनक कार्की, रुकुम पश्चिमबाट कृष्ण रोकाया, मानबहादुर नेपाली, सल्यानबाट पूर्व केन्द्रीय सदस्य विन्दु रेग्मी, ध्रुव पुरीलगायतका नेताहरूको नाम चर्चामा छ ।

जुम्लाबाट दीनबन्धु श्रेष्ठको नाम पनि चर्चामा छ । उहाँ ०७४ मा प्रदेश सभा सदस्य भई जलस्रोत तथा ऊर्जा मन्त्री समेत भइसकेका नेता हुनुहुन्छ । लंक बहादुर शाहीलगायत अन्य नेताहरूले पनि चाहना देखाएका छन् । महिलातर्फ खासगरी खगिसरा आचार्य, रामछाँया शाही, यशोदा शाहीलगायतको नाम चर्चामा छ ।

पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारको नाम पठाउन भनेपछि सोमबार जिल्लाबाट आएका नामउपर प्रदेश कमिटीले छलफल चलाएको छ ।

कार्यसम्पादन दिएको समय एक दिन बाँकी रहँदासम्म कुनै पनि प्रदेशले उम्मेदवारको सूची केन्द्रीय कार्यालयमा नपठाएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रदेश समितिले कांग्रेसमा जिल्लाबाट सिफारिस भएर आएका नाममध्येबाट तीन जनाको नाम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने हो । तर जिल्ला समितिले पठाएका नामका अतिरिक्त प्रदेशले योग्य ठहराएका व्यक्ति र जिल्लाले पूर्वाग्रह राखेर नाम नपठाएको बहानामा अन्य व्यक्तिको नाम पनि प्रदेश समितिहरुले केन्द्रम पठाउने तयारी गरेका छन् ।

कांग्रेसको विधान अनुसार तल्लो तहले बढीमा तीन जनाको नाम मात्र उम्मेदवारमा सिफारिस गर्नुपर्नेछ । तर, आंकाक्षी व्यक्तिको नाम छुटेको अवस्थामा अपजस भोग्नुपर्ने भयले जिल्ला तथा प्रदेशले आकांक्षी सबैको नाम माथिल्लो समितिमा पठाउने विगतदेखिकै प्रचलन बनिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?