हात्ती धपाउन जङ्गलमा खोज अभियान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

महोत्तरी । चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन् ।

रातभरि बस्ती पसेर दिनभरि जङ्गल पस्ने हात्ती धपाउन अहिले केही दिनयता वनक्षेत्रमा खोज अभियान थालिएको हो । अभियान जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीसहितका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारी, वनसम्बद्ध अधिकारी तथा सुरक्षाकर्मीले सुरु गर्नुभएको हो ।

रातभरि बस्तीतिर पसेर बालीनाली नोक्सान गर्ने, काठे घरगोठ सिङ्गौरी खेलेर भत्काउने हात्ती उज्यालो हुन दुई घण्टाजति पहिले सघन वनका कन्द्रामा लुक्न जाने गरेको पाइएको छ । चुरे पहाडसँग जोडिएको जिल्लाको एकमात्र स्थानीय तह बर्दिबास नगरपालिकाका वनसँग जोडिएका बस्तीमा हात्तीको आतङ्क बढेपछि धपाउन खोज अभियान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताउनुभयो ।

“जङ्गली हात्तीले लगातार उपद्रो मच्चाएको गुनासो बस्तीबस्तीबाट बढेपछि धपाउन खोजी थालिएको हो”, प्रनाउ यादव भन्नुहुन्छ । यसपालि गएको दसैँयता बर्दिबास नगरक्षेत्रका विभिन्न बस्तीमा हात्तीको आतङ्क बढेको हो । बर्दिबास-१, २, ३, ४, ५, ८, १० र ११ मा यसपालि हात्तीले नोक्सान गरेको छ । यी वडाका बस्ती वनक्षेत्रसँग जोडिएका बस्ती हुन् ।

हात्ती दिउँसोभरि मानव चहलपहल कम हुने सघन झाडीमा लुक्ने र धेरैजसो मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । जङ्गली हात्तीले बर्दिबास-१, २ र ८ मा बालीनाली नोक्सान गर्ने गरेको छ । बर्दिबास-३, ४, ५, १० र ११ सहितका चुरे फेदका बस्तीमा भने काठेघर र गोठ लडाउने, घरआँगनका भकारी भत्काउनेसम्मका आतङ्क स्थानीयले भोग्दै आएका छन् ।

ADVERTISEMENT

बर्सेनिजसो हिउँद लाग्न थालेपछि हात्ती बस्ती पस्दै आएका छन् । विगत वर्षहरुमा तीन-चारको सङ्ख्या देखिएका भए पनि यसपालि भने एक जोडा देखिएका बर्दिबास-८ का वडाध्यक्ष शमशेरसिंह लामाले बताउनुभयो । यसपालि बस्ती पस्न पल्केका जोडा हात्तीले दसैँयता बर्दिबास-२ र ८ मा करिब २० बिघा क्षेत्रफलका धान, उखु र तरकारीसहितका बाली नोक्सान गरेका लामाको भनाइ छ ।

हात्तीको आतङ्क बढेपछि यसलाई नियन्त्रण गर्न खोज गरी धपाउने उद्देश्यले अभियान थालिएको बर्दिबास नगरप्रमुख क्षत्री बताउनुहुन्छ । नगरक्षेत्रका वनसँग जोडिएका बस्तीमा सर्वसाधारण हात्तीको त्रासले राम्ररी सुत्न नपाएका बर्दिबास-५ का वडाध्यक्ष काहारमान स्याङ्वाको गुनासो छ ।

करिब एक दशकयता हात्ती, नीलगाई र बँदेल बस्ती पस्ने क्रम बढेको हो । हात्ती वनसँग जोडिएका बस्तीबाट तल नझरे पनि नीलगाई र बँदेलको आतङ्क भने भारतीय सीमाक्षेत्रका बस्तीसम्मै बढेको छ ।

“वनक्षेत्रमा बाक्लो मान्छेको चहलपहल, पातलिँदो वन तथा पानी एवं चरीचरनको बढ्दो अभावले यी तल झर्दैछन्”, डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झा भन्नुहुन्छ, “पछिल्ला वर्षहरुमा वनक्षेत्र चिर्दै बनाइएका विकास संरचना ९विद्युत् लाइन विस्तार, रेल्वे ट्र्याक, सडक आदि० वन्यजन्तु मैत्री भएनन्, यसले वन्यजन्तुको नियमित आहारव्यवहार खलबलिएर यी बस्ती पस्ने क्रम बढेको हो ।” वनभित्र बासस्थान उजाडिँदै जानु र सहज आवागमनमा समेत अवरोध भएपछि वन्यजन्तु बस्ती पस्ने गरेका झाको निष्कर्ष छ ।

मान्छे र वन्यजन्तुबीच पछिल्ला वर्षहरुमा बढेको द्वन्द्व वन्यजन्तु मैत्री विकास पूर्वाधार निर्माण नगर्दा भएको झा बताउनुहुन्छ । अब वनभित्र काम गर्दा वनयजन्तुको पक्षलाई ध्यान दिएर गरिनुपर्ने र ठाउँठाउँमा वनभित्र पानी पोखरी निर्माण तथा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?