चिसो बढेपछि एक महिनाका लागि विद्यालयहरु बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

-नृपेन्द्रबहादुर मल्ल

मुगु । जिल्लाका एक नगरसहित चार वटा स्थानिय निकाय मध्ये हिउँदको समयमा अत्यधिक चिसो हुने पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयहरूमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ ।

अत्याधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र शिक्षक-विद्यार्थीलाई पठन पाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गते सम्मका लागि गाउँपालिकामा भित्रका उच्च हिमाली बस्तीहरू सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु र पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयहरूमा एक महिना जाडो बिदा दिने निर्णय भएको मुगुम् कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनु भयो ।

ती बस्तीहरूमा जाडो अत्यधिक भएका कारण दिन प्रति दिन विद्यार्थी स्कुल आउन छोड्न थालेकाले एक महिना विद्यालय बन्द गर्नु परेको गाउँपालिकाले जनाएको छ ।

जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले एक महिनाका लागि माथिल्लो करानमा पठन पाठन बन्द गरिएको उहाँको भनाइ छ । जाडोले गर्दा पालिकाभित्र रहेका करिव एक दर्जन सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको हो ।

पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिका भित्र कार्यरत शिक्षकहरू आफ्ना घरतर्फ जान थाल्नु भएको छ । गाउँपालिकामा एक महिना सम्म विकास निर्माणका कामदेखि अन्य सरकारी सेवा प्रवाहका कामहरूसमेत चिसोका कारण एक महिनाका लागि प्रभावित हुने बताईएको छ ।

बिस्तारै चिसो कम भएपछि माघ महिनाको १५ गते पछि गाउँपालिका भित्रका सम्पुर्ण सरकारी सेवाका काम नियमित रूपबाट सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

विद्यालय मात्र होइन चिसो बढेपछी मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्ला बस्तीहरु मुगु, चितै, डोल्फू, किम्रीलगायत बस्तीका बासिन्दा जाडो छल्ने गाउँ नै खाली गरेर बेंसी तिर झर्न थालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?