राष्ट्रपति रनिङ्ग शिल्डमा धर्मपुर प्रथम

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा धर्मपुर माध्यमिक विद्यालय प्रथम भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुख्य नारासहित भएको सो प्रतियोगितामा वडा नम्बर-३, ठुलोलुम्पेकस्थित धर्मपुर माध्यमिक विद्यालय प्रथम भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीको सर्वाङ्गिण विकासका लागि चार दिनसम्म सञ्चालन भएको सत्यवती गाउँपालिका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विभिन्न विधामा १४ स्वर्ण, आठ रजत र पाँच कांस्य गरी २७ पदक प्राप्त गरेको यस धर्मपुर माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यस्तै, वडा नम्बर-४, लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र ७ कांस्य गरी १९ पदक प्राप्त गरेर द्वितीय भएको छ । वडा नम्बर-५, हँसरास्थित सत्यवती माध्यमिक विद्यालयले चार स्वर्ण, पाँच रजत र तीन कांस्य गरी १२ पदक प्राप्त गरेर तृतीय भएको शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।

भलिबल, कबड्डी, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याबलिङ थ्रो, ट्रयाक, रिलेलगायतका विभिन्न विधामा प्रतियोगितामा भएको हो । सत्यवती गाउँपालिकाको आयोजना भएको सो प्रतियोगितामा पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय गरी १५ वटा विद्यालयका खेलाडीहरू सहभागी भएका थिए । जसमा १३ माध्यमिक विद्यालय र दुई आधारभूत विद्यालय सहभागी भएका सत्यवती गाउँपालिकाले जनाएको छ ।

त्यसअवसरमा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले प्रथम हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय र तृतीय हुने विद्यालयलाई मेडल र प्रमाण पत्र वितरण गर्नुभयो । उहाँले पुरस्कृत हुने खेलाडी र सहभागी सबै खेलाडीलाई शुभकामना एवम् धन्यवाद दिनुभयो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?