बैतडीका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका तीन पालिकामा प्रमुख प्रशासकीय अधिकृतविहिन भएका छन् । जिल्लाको डिलाशैनि, सुर्नया र दोगडाकेदार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाजमा समस्या भएको हो ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा विकास निर्माणका कामहरु अहिले सम्म अगाडि बढ्न नसकेका डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै परिपत्र गर्दै आएको भएपनि सामान्य प्रशासन मन्त्रालयले खटाउन नसक्दा विकास निर्माणका अघि बढाउन नसकिएको अध्यक्ष जोशीको भनाई छ ।

बेलाबेला प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा स्थानीय तहका नियमित कामकाज प्रभावित हुने गरेका छन् । केहीदिन अघि मात्रै सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सिगास गाउँपालिकामा सरुवा भएपछि सुर्नया पनि प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँरले जानकारी दिनुभयो ।

अवस्थीलाई यसअघि सुर्नयासहित डिलाशैनी र सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । गत विहीबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई सिगास सरुवा गरेको हो ।

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिका पनि तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । दोगडाकेदार गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको ३ महिनामै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनलाग्दी सरुवा गर्ने प्रवृतिले स्थानीय सरकारहरुलाई काम गर्न असहज हुने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने गरेको छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत विहिन पालिका पुर्चाैडी नगरपालिकामा नगरपालिकाकै स्वास्थ्य शाखामा कार्यरत विनोद कुमार कुँवरलाई र शिवनाथ गाउँपालिकामा नरेन्द्र सिंह महतालाई बढीमा दुई महिनाको लागि आर्थिक तथा प्रशासनीक अधिकार दिइएको छ । उनीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) अनुसार जिम्मेवारी दिइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा समस्या हुने गरेको स्थानीय तहहरुले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?