बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । उहाँले बिहीबार भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । पूर्वराजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुन्ने गरेको बताउनुभयो । ‘म जता जाऊँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उहाँले भन्नुभयो, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’ तर, आफू कतै नगएको र नेपालीहरूको साथमै रहेको उहाँको भनाइ थियो । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्र्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा शाहले भन्नुभयो, ‘नेपालीहरूको सुख-दुःख, सुविधा, असुविधा, बाधा-पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’
पूर्वराजा शाहले राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गइरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताउनुभयो । ‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौँ’, शाहले आफ्नो सम्बोधनमा भन्नुभयो । साथै उहाँले अनेक स्रोतसाधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्यमान्यता तथा सभ्यता भएर पनि आज कताकता आफैँ हराइरहेको बताउनुभयो । ‘नेपाल बुद्ध जन्मेको देश, सगरमाथाको देश, सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश’, उहाँले भन्नुभयो, ‘अनि अनेक स्रोतसाधन सम्पदाले भरिपूर्ण समृद्धशाली देश । यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौँ, कताकता आफँै हारिरहेका छौँ ।’
शाहले समाज, कानुन र व्यवस्थाबिना अस्तित्वमा रहन नसकिने बताउँदै भन्नुभयो, ‘देश सुहाउँदो र बलियो आविष्कारमार्फत अगाडि बढ्नुपर्छ । तर, आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौँ युवा जनशक्ति विदेशिएको छ’, शाहले भन्नुभयो, ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त्य हुनु पर्दछ ।’
सम्बोधनका क्रममा उहाँले देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्ने बताउनुभयो । ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय उत्साह प्रतिभाको महान् निवास हो । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ ।’
शाहले भन्नुभयो, ‘सदाचारी राजनीतिको युग बितिसकेको छ । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँभित्र तथा बाहृय शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ ।’
नेपालको एकीकरणदेखि आधुनिकीकरण सम्मका यावत प्रक्रियामा हामी नेपालीकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्भव भएको उहाँको भनाइ थियो । ‘त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ । त्यो हामी आफैँले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसैअनुरूप हुनुपर्दछ भन्ने हामीलाई लाग्दछ’, उहाँले भन्नुभयो ।
उहाँले अब सबै नेपाली एकैठाउँ उभिने बेला भएको बताउँदै भन्नुभयो, ‘अब हामी सबै एकै ठाउँमा उभिऔँ अनि सोचौँ । सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ, देश हामीले नै बनाउने हो । हाम्रै स्रोतसाधन परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो’, उहाँले भन्नुभयो, ‘हामी मात्रै ठिक अरू बेठिक, हाम्रो बाटो मात्रै सुबाटो अरूको कुबाटो भन्ने द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँडौँ । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।’ उहाँले सम्बोधनको अन्त्यमा कविता शैलीमा आहृवानसमेत गर्नुभएको थियो ।
अभिनन्दन कार्यक्रममा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज सरकार’ भनेर सम्बोधन गरिएको थियो । विभिन्न ठाउँबाट स्वतःस्फूर्त ठूलो संख्यामा सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए ।
पुस ८ गते भैरहवा आउनुभएका पूर्वराजा अहिले मध्यपश्चिम केन्द्रित विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ । भैरहवामा रहनुभएका पूर्वराजा शाहले बुटवलको जीतगढी किल्ला र नीलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थानको भ्रमण गरिसक्नु भएको छ ।
शनिबार उहाँले कपिलवस्तुको शिवराज नगरपालिका-३ मा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको थियो । पूर्वराजा शाहले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग सामूहिक भेट गर्नुभएको थियो । पूर्वराजा शाह २१ गते काठमाडौं फर्किने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच