नातिनातिनासँग पढ्दै ६१ वर्षीया चन्तरा

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । सिकाइ जन्मदेखि मृत्युपर्यन्त चलिरहने प्रकृया हो । सिक्नलाई न कुनै समय चाहिन्छ न त उमेर विशेष नै । विभिन्न कारणले विद्यालय जान नपाएकाहरु पनि अहिले विद्यालयमा भर्ना हुने र पढ्ने क्रम सुरु भएको छ । त्यसैमध्येकी एक हुन् । बैतडीको पाटन नगरपालिका ८ आरुवाटाकी चन्तरा महरा ।

नातिनातनीहरुलाई विद्यालय पु-याउन मात्रै जाने उहाँ हिजो आज भने उनीहरुसंगै क,ख सिक्दैहुनुहुन्छ । गत वैशाखमै जनता मावि आरुबाटामा भर्ना भएकी चन्तरा कक्षा १ मा अध्ययन गर्दै हुनुहुन्छ । उमेरले ६१ लाग्यो । नातिनातीनीहरु संगै कविता पढ्ने, पढाउने र अक्षर चिनारी सिकिरहनुभएको छ । अक्षर चिनारीसँगै नाम लेख्न र सरल शब्दहरु पढ्न थालीसकेकी छन् ।

विद्यालयका शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफुपनि भर्ना भएको उहाँले बताउनुभयो । ‘नातीनातीनीहरुलाई विद्यालय पु¥याउन आउथे, उनिहरुसँगै दिनैभर बस्थे, मलाई पनि पढौँपढौँ लाग्यो, यहाँका शिक्षकहरुले पनि पढुनुहोस् भन्नुभयो, भर्ना भैहाले,’ उहाँले भन्नुभयो ।

घरपरिवारका सदस्य र स्थानीयहरुले पनि उनलाई पढ्नमा हौसला दिरहेका छन् । ‘नातीहरुसँगै बढ्छु, घरमा पनि सिकाउछु, गाउँका मानिसहरुले पनि राम्रो गर्नुभो भन्छन्,’ चन्तराले भन्नुभयो ।

उहाँका लागि विद्यालयबाट पुस्तक, कापी, कलम लगायतका आवश्यक सामाग्रीहरु उपलब्ध गराइएको छ । ‘कक्षा १ का विद्यार्थीहरुसँगै बस्नुहुन्छ, अक्षर चिनारी र सरल शब्दहरु पढ्ने भइसक्नुभयो,’ जनता माविका प्रधानाध्यापक राम कुवँरले भन्नुभयो ।

विद्यालयमा भइरहने विभिन्न गतिबिधिमा सरिक हुदा चन्तराले पढाईको महत्व पनि बुझ्दै गएकी छन् । उमेर छदै पढ्न नपाउदा उनलाई अहिले ठूलो पछुतो छ । ‘सबैभन्दा ठुलो कुरुा पढाई रहेछ, पढाई छ त सबै छ, ऊ बेला पढ्ने अवसर नै मिलेन, अहिले पछुतो लाग्छ,’ महराले भनिन् । परिस्थिति जे जस्तो भएतापनि पढाई नछोड्न विद्यार्थीहरुलाई सुझाव पनि दिने गरेकी छन् ।

साना बालबालिकाहरुलाई घरबाट विद्यालय पु¥याउनको लागि दिनहु विद्यालय आइरहने भएकाले शिक्षकहरुले पनि पढ्न उत्प्रेरीत गरेका थिए । अहिले अक्षर चिनारीसँगै नाम लेख्नसम्म भ्याईसकेकी छन् । चन्तराले यस ढल्किदो उमेरमा पनि बालबालिकासँगै विद्यालयमा अध्यायन गरिरहदा पढाईको महत्व झनै छर्लङ्ग पारीरहेकि छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?