काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसिसी यू-१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । क्यानले यसअघि नै देव खनालको कप्तानीमा विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
विश्वकप खेल्ने नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् ।
यसअघि एसिया कप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा अटाउन सकेका छैनन् । उहाँको स्थानमा तीव्र बलर दुर्गेश गुप्तालाई टोलीमा राखिएको छ ।
नेपालको समूहमा टेस्ट राष्ट्रहरू न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डविरुद्ध, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र अन्तिम खेल अफगानिस्तानविरुद्ध जनवरी २६ मा खेल्नेछ ।
त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेष्टइण्डिजविरुद्ध वार्म-अप खेलहरू खेल्ने छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
नेपाली टोलीका कप्तान खनालले सुरुमा सुपर सिक्समा प्रवेश गर्ने लक्ष्यसहित विश्वकपमा सहभागिता जनाउने बताउनुभएको छ । उहाँहरूले समूह चरणमै बलिया टेष्ट राष्ट्रहरू रहेकाले खेलहरू उत्कृष्ट हुने बताउनुभयो ।
‘सबै टोलीहरू एकसे एक छन् । हाम्रो समूह चरणमा सबै टेष्ट राष्ट्रहरू रहेकाले बलियो चुनौती छ,’ खनालले भन्नुभयो, ‘हामीले पनि प्रतियोगिताका लागि भनेर एक महिना बढी राम्रो तयारी गरेका छौँ । कमजोर कुराहरूमा काम गरेका छौँ । कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछौँ ।’
नेपाली क्रिकेट संघका सचिव तथा पूर्व-राष्ट्रिय टोलीका कप्तान पारस खड्काले टोलीलाई शुभकामना दिँदै टोलीले प्रभावशाली प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगत पनि यू-१९ टोलीले धेरै स्मरणीय प्रदर्शनहरू गरेको स्मरण गर्दै यसपटक यस टोलीले थप राम्रो गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
राष्ट्रिय टोलीबाट समेत खेलिसक्नु भएका अलराउण्डर गुल्सन झाले प्रतियोगितामा आफूहरू सहभागिताका लागि मात्रै नभएर जित्ने लक्ष्य राख्दै खेल्ने बताउनुभयो । १७ वर्षीय गुलशनको अघिल्लो महिना सम्पन्न यू–१९ एसिया कपमा पाकिस्तान, भारत र अफगानिस्तानविरुद्ध पनि खेल्नुभएको थियो ।
‘हामी प्रतियोगिता जित्ने उद्देश्यका लागि जादैँ छौँ । सहभागी हुन मात्रै होइन । जितको लक्ष्य दिमागमा राख्दै हाम्रो शतप्रतिशत दिनेछौँ,’ गुलशनले भन्नुभयो, ‘हामीले एकदमै कडा मिहिनेत गरेका छौँ । विश्वकप भनेको विश्वकप हो । क्रिकेटको लागि एक सबैभन्दा उत्कृष्ट ठाउँ हो । त्यहाँ प्रदर्शन गर्ने ठूलो अवसर पनि हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच