जसका लागि पढाइको विकल्प बन्यो चस्मा

चस्मा प्रयोगपछि सजिलै देख्न थाले अक्षर

नन्दराम जैशी
Read Time = 12 mins

सुर्खेत । जिल्लाको लेकवेशी नगरपालिका-१, रातामाटेका निराज परियार उमेरले १० बर्षको हुनुभयो । उहाँ गाउँकोशान्ती सिर्जना आधारभुत विद्यालयमा कक्षा-३ मा अध्ययनरत हुनुहुन्छ ।

निराजको आँखाको दृष्टि कमजोर हुँदा पढाइमा समेत निकै सकस परेको थियो । तर समस्या पहिचानपछि हाल निराजले चस्माको नियमित प्रयोगगर्न थालेपछि अक्षर चिन्ह्र सजिलो भएको छ । भने शैक्षिक गुणस्तर तथा सिकाइमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

जन्मजात एल्बोनिज्म रोगले आँखाको गेडि हल्लिने र फोकस गर्न नसक्ने समस्याका कारणउहाँलाई सानैदेखि प्रष्ट आँखा देख्न समस्या भएको थियो ।

‘निराजलाई केहि बर्षअघि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंलगेर आँखा जाँच गरी नियमित चस्मा र औषधिको प्रयोग गरायौं । तर एक महिनामै चस्मा फुट्यो र औषधि पनि सकियो’ निराजकी आमा कल्पना परियारले भन्नुभयो, ‘त्यसपछि निराजले नत चस्मा लगाउन पायो । नत औषधि किनेर ल्याइदियौं । जसले गर्दा छोराको आँखा झन्झन् कमजोर बन्दै गएछन् ।’

श्रीमान बैदेशिक रोजगारीमा रहेकालेआफु घरायासी काममा व्यस्त रहने र आर्थिक समस्याका कारणले निराजको समयमै उपचार गर्न नसकेको कल्पनाले स्विकार्नुभयो । कल्पनाका छोरा निराजसँगै छोरी निस्मा परियारको पनि आँखाको दृष्टि कमजोर रहेको पहिचान भएको छ । १२ बर्षिय निस्मा कक्षा-५ मा अध्ययनरत हुनुहुन्छ ।

विद्यालय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यालयमै आँखाको दृष्टि परिक्षण गरिएपछि उहाँहरुको आँखाको दृष्टि कमजोर रहेको पृष्टि भएको हो । आँखाको दृष्टि परिक्षणपछि आइ कियर फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको सहयोगमा हाल उहाँहरु दुबै जनाले चस्मा प्रयोग गर्दै आउनुभएको छ ।

चस्मा प्रयोगपछि निराज र निस्मालाई मात्रै होइन लेकवेशी नगरपालिकाका करिब ९० जना विद्यार्थीलाई आँखाको सुरक्षासँगै पढाईमा पनि सहज भएको छ । विद्यालय आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतलेकवेशीमा रहेका ५० वटा विद्यालयमा अध्ययनरत आठ हजार बढि विद्यार्थीको आँखाको दृष्टि परिक्षण गरिएको थियो । जसमध्ये ९० जना विद्यार्थीको आँखाको पावर कमजोर रहेको र चस्मा प्रयोग गर्नुपर्ने अवस्था पहिचान भएको हो ।

आइ कियर फाउण्डेशनको सहयोगमा हाल उहाँहरु सबै विद्यार्थीलाई विद्यालयमै पुगेर निशुल्क चस्मा समेत वितरण गरिएको छ । पहिलो चरणमा प्रत्येक विद्यालयका एक/एक जना शिक्षकलाई आँखाको दृष्टि परिक्षण सम्बन्धि तालिम दिइएको थियो । तालिम प्राप्त शिक्षकले विद्यार्थीको आँखाको दृष्टि परिक्षण गरेपछि दोस्रो चरणमा हरेक विद्यार्थीको आँखाको पावर अनुसारको चस्मा बनाएर वितरण गरिएको हो ।

विद्यार्थी फरक समस्या उही

आँखाको दृष्टि कमजोर रहेका सबै विद्यार्थीहरुलाई कक्षाकोठामा बस्दा शिक्षकले बोर्डमा लेखेको अक्षर देख्न समस्या भएको थियो । लेकवेशी-९ स्थित खाँडदेवि मा.वि चौरासेमा कक्षा-८ मा ध्ययनरत १३ बर्षिया सुस्मिता आचार्यले निशुल्क चस्मा पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

‘आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्ने बित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँशु बग्ने समस्या थियो’ उहाँले भन्नुभयो,‘धेरै पढ्दा मधुरो देखेर किताबलाई आँखा नजिकै लैजाने गर्थें तर चस्माको प्रयोगले सहज भयो ।’

सुस्मिताको दाईने आँखाको नशा खुम्चिएको कारण पनि आँखा कमजोर बन्दै गएको हो । सानो उमेरमा आँखा पाक्दा घरपरिवारले फरक औषधि प्रयोग गरिदिएकाले आफ्ना आँखा कमजोर बनेको उहाँ बताउनुहुन्छ ।

लेकवेशी-६ कल्याण स्थित सरस्वती मा.वि मा अध्ययनरत दिदी-बहिनी अस्मिता र रोशनी शाहीको पनि आँखाको दृष्टि कमजोर रहेकाले चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । कक्षा-५ मा अध्ययनरत अस्मिता र कक्षा-३ मा अध्ययनरत रोशनीले आँखा जाचँपछि चस्मा लगाएर पढ्दा स्पष्ट देखिएको बताउनुभयो ।

चन्द्रज्योती मा.वि चन्द्रपुरमा कक्षा-२ मा अध्ययनरत ६ बर्षिया शोभा कार्कीलाई समेत पढ्दा आँखा दुख्ने र कक्षामा बस्दा शिक्षकले बोर्डमा लेखेको अक्षर नदेख्ने समस्या थियो । आँखा परिक्षणपछि चस्मा प्रयोग गर्दा सहज भएको उहाँ बताउनुहुन्छ ।

‘आँखाको दृष्टि कमजोर हुँदा पनि आर्थिक अभावका कारणसदरमुकाम पुगेर आँखा परिक्षण गरी चस्मा किन्ने वातावरण थिएन’ विद्यार्थी सुनिता रोकायाले भन्नुभयो, ‘तर विद्यालयमै आँखा जाँचपछि निशुल्क चस्मा पाउँदा हामीलाई ठुलो राहत पुगेको छ ।’

१६ बर्षिया सुनिता रोकाया जीवनज्योती मा.वि दशरथपुरमा कक्षा-८ मा अध्ययनरत हुनुहुन्छ । ६ बर्षको उमेरमा बुवाको निधनपछि आमाले अर्को बिहे गरेर गएको पीडा र आफन्तको घरमा बसेर पढ्दाको दुःखले समेत आफ्नो आँखा कमजोर बन्दै गएको उहाँलाई महशुस भएको छ ।

हाम्रो पनि आँखा खुल्यो : शिक्षक

आँखाको दृष्टि कमजोर भएका विद्यार्थीबाट जवरजस्ती सिकाइ गुणस्तर खोज्नु आफ्नो पनि कमजोरी रहेको भन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रमपछि आफ्नो पनि आँखा खुलेको लेकवेशी नगरपालिकाका शिक्षकहरुले बताएका छन् ।

‘विद्यार्थी पछाडी बस्यो किन लेखेन ? भनेर गाली गर्थ्याैं । उसले राम्रोसँग अक्षर नै नदेखे कसरी पढ्न र लेख्न सक्छ’ सरस्वती मा.वि का शिक्षक चन्द्र खड्काले भन्नुभयो, ‘जवरजस्ती शैक्षिक गुणस्तर खोज्नु हाम्रो पनि कमजोरी रैछ । अहिले आएर हाम्रो पनि आखाँ खुल्यो ।’

आगामी बर्षहरुमा विद्यार्थी भर्ना गर्दा हरेक विद्यार्थीको सुरुमै आँखाको दृष्टि परिक्षण गरेर सोही अनुसारअघि बढ्नपर्ने शिक्षक धर्मदत्त पौडेल बताउनुहुन्छ ।

जीवनज्योती मा.वि दशरथपुरका प्रधानाध्यापक तिर्थप्रसाद पौडेलले विद्यालय आँखा स्वास्थ्य कार्यक्रमले विद्यार्थीको स्वास्थ्यप्रति गम्भिर बनाएको भन्दै पढाई भन्दा पहिले विद्यार्थीको स्वास्थ्य अवस्थामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

आँखा स्वास्थ्य कार्यक्रममा नगरपालिकाको जोड

लेकवेशी नगर प्रमुख उमेशकुमार पौडेलले विद्यालय आँखा स्वास्थ्य कार्यक्रमप्रभावकारी रहेको भन्दै यसलाई निरन्तरताका लागि नगरपालिकाले पनि जोड दिने बताउनुभयो ।

‘आँखा कमजोर हुदाँ जीवन त जसोतसो चल्छ, तर अध्ययन, अध्यापनमा निकै चुनौती हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसैले विद्यार्थी पढ्नुभन्दा पहिले मानसिक तथा शाररिक रुपमा पनि स्वस्थ्य हुनुपर्छ, यसमा सजिलै आँखा देख्नु पहिलो महत्वपूर्ण कुरा हो ।’

स्कुल पढ्दा आँखा कमजोर हुनुको पीडा आफुले पनि भोगेको भन्दै विद्यार्थीलाई चस्मा अनिवार्य प्रयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ । ‘जीवनको सबैभन्दा ठुलो कुरा पढाई हो, त्यही पढाइमा आँखा बाधक बन्दा परिस्थिती असहज हुन्छ’ उहाँले थप्नुभयो, ‘चस्माको मुल्य भन्दा विद्यार्थीको समस्या पहिचान गर्नु ठुलो कुरा हो । यस्ता कार्यक्रममा नगरपालिका आवश्यक सहयोग गर्न तयार छ ।’

यता आँखा स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नु भएका नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा सभापती रामलाल आचार्यले विद्यालय तथा समुदायमा आधारीत सेवामुलक गतिविधि जारी रहेको बताउनुभयो । ‘बालबालिकाले चश्माको शिशा कोर्ने, भाँच्ने, फुटाउने जस्ता काम गर्नसक्छन्’ उहाँले भन्नुभयो, ‘त्यसैले चश्माको सुरक्षा र मर्मत-सम्भारमा पनि अभिभावकले उत्तिकै ध्यान दिन जरुरी छ।’

सुर्खेत आँखा अस्पतालका नेत्र अधिकृत प्रेम दिक्षितले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत नियमित कार्यक्रम जारी रहने बताउनुभयो । ‘नियमित चश्मा लगाउनाले बालबालिकामा स्पष्ट देख्नसक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ’ उहाँले भन्नुभयो, ‘उमेर बढ्दै जाँदा विद्यार्थीको चश्माको पावर पनि परिवर्तन गर्नुपर्ने हुनाले चिकित्सकको सल्लाह अनुसार अभिभावकले नियमित रुपले अस्पतालमा जाँच गराउनु पर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?