महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलार्ई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलार्ई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँले अब आवत जावतमा सहज हुने बताउनुभयो ।

“हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, चौधरीले भन्नुभयो, “ वडा कार्यलयले समयमै बुझेछ । साइकल दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”

स्वयंसेविका करुणा खड्काको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ । करुणालाई पनि साइकल पाएपछि अब सजिलो भएको छ । “हामी वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, खडकाले भन्नुभयो, “वडा कार्यलयले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले वडाध्यक्षलाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”

शुद्धोधन गाउँपालिका वडा नं २ का १३ महिलालाई साइकल वितरण गरेको छ । साइकल पाएपछि सुनिता र करुणा मात्र होइन, खड्वा बन स्वास्थ्यचौकीका कर्मचारी लगायत सबै स्वयंसेविका खुशी भएका छन् । उनीहरुले अझ थप स्वास्थ्य सेवा प्रभावकारी बनाउन काम गर्ने वताउनु भएको छ ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई घरदैलो सेवागर्न सजिलो होस भन्ने उदेश्यले वडाले साइकल बितरण गरेको बताउनु भयो।

उहाँले उच्च मनोबलका साथ स्वास्थ्य सेवामात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरुक बनाउने काम पनि गर्न स्वयंसेविकाहरुलाई आग्रह गर्नु भयो।” बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको अध्यक्ष बस्यालले बताउनु भयो।

उपाध्यक्ष शान्तादेबी ज्ञवालीले गाउँघरका डाक्टर भनेर चिनिएका स्वयंसेविकाहरुलाई आबश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनु भयो। आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्न उहाँहरुलाई आग्रह गर्नु भयो।
वडाध्यक्ष कमल खडकाले वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने बताउनु भयो । “हामी यहाँहरुलाई खुशी राख्ने प्रयास गर्नेछौँ, सेवा दिने मानिस सधैँ खुशी रहनुपर्छ”, खड्काले भन्नु भयोे, “तपाईँहरुकै कारण वडामा महिलाको नेतृत्व र क्षमता विकास भएको छ ।”

वडा सचिव हरि पोखरेलको स्वागत र खडवाबनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोखरेलको संञ्चालनमा साइकल बितरण कार्यक्रम भएको थियो। सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?