किन हुन्छ दैनिकजसो सवारी दुर्घटना ?

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । गत साता बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस दाङको भालुबाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो ।

चालकले दुर्घटना स्थल नजिकै रहेको प्रहरी चेकिङलाई छल्दै बस भगाउँदा पुलको रेलिङ भाँचेर बस नदीमा खस्यो । बसका चालकले बसको इन्जिनमा प्रयोग हुने सापट बिग्रिएका कारण बस नमोडिएको र दुर्घटना भएको बयान दिएपनि प्रमुख कारण भने चेकिङ छलेर तिव्र गतिमा भाग्न खोज्दा दुर्घटना भएको देखिन्छ ।

त्यस्तै आज बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश नं.३–०१–००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ झनडीमा दर्घटना हुँदा दुई जनाको मृत्यु भयो । ट्राफिक प्रहरीका अनुसार तीव्र्र गतिमा रहेको बस अनियन्त्रित भएर भित्तामा ठोकिएको हो । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यी दुबै घटना प्रतिनिधी मात्रै हुन । अधिकाशंक दुर्घटना बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, तीव्र गति मुख्य कारण देखिन्छ । धेरै दुर्घटनाका कारण चालकले प्रहरी चेकजाँच छल्न खोज्नु पनि भएको देखिन्छ । प्रहरीका अनुसार चेकजाँच नहोस् भन्ने सोँच धेरैजसो चालकमा हुन्छ । तीव्र गतिमा भाग्न खोज्ने गाडीलाई प्रहरीले रोक्न खोज्छन् र अनियन्त्रित बनेर यातायात दर्घटनामा पर्छ र मान्छेको ज्यानै जान्छ । त्यस्तै लामो दुरीका सवारी साधन बढी दर्घटना हुन थालेपछि चालकमा थकान र उनीहरू निदाउनुलाई पनि प्रमुख कारण मानियो । ट्राफिक प्रहरीले लामो दुरीका सवारी साधनमा अनिवार्य दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने भनिए पनि अहिले लामो दुरीका अधिकांश सवारी साधन भने एकल चालकले हाँक्दै आएका छन् । दुई चालक राख्दा खर्च धान्न नसकिने भन्दै लामो दुरीका सवारी साधन धनीहरूले एक मात्रै चालक राख्ने गरेको बताउँछन् । ‘दुई चालक राखेर सवारी साधन कुदाउँदा खर्च धान्न सकिन्न,’ एक सवारी साधन धनीले भने ‘अहिले गाडी लाईनमा कमाई निकै न्यून छ, घाटामा रहेका बेला दुई जना चालक राखेर कसरी गाडी कुदाउन सकिन्छ ?’

एकजना चालकले लामो दुरीका सवारी साधन हाँक्नुलाई प्रहरी गलत भन्छ तर दुई जना चालक अनिवार्य लागु गर्न पनि सकिरहेको छैन । ‘मुश्किलले एकाध बसहरूमा दुई जना चालक होलान्,’ दाङदेखि काठमाडौँ चल्ने एक रात्रि बसका यातायात मजदुरले भने ‘दुई जना चालक राख्ने भन्ने त नियममा मात्रै हो, अधिकांश बसहरू एकजना चालकले मात्रै हाँकिरहेका छन् ।’ ट्राफिक प्रहरीले केही स्थानमा लामो दुरीका सवारी साधनमा दुई जना चालक भए नभएको चेकजाँच गर्छन् । कतिपय लामो दुरीका सवारी साधनमा त चालक एकै हुन्छन् तर चालक अनुमति पत्र भने दुईवटा हुन्छन् । दोस्रो चालक अनुमति पत्र देखाएर कैयन सवारी साधन सजिलै चेकजाँचबाट उन्मुक्ति पाउँछन् । यस्ता लामो दुरीका सवारी साधनहरूमा चालकसँगै सहचालक वा कन्डक्टरको पनि सवारी चालक अनुमति पत्र हुन्छ । प्रहरीले चेकजाँचका क्रममा सोधी खोजी गरे यस्ता यातायात व्यवसायीहरूले उनै कन्डक्टर वा सहचालकको सवारी चालक अनुमति पत्र देखाउने गर्छन् तर सवारी अनुमति पत्रधारी यस्ता सहचालक तथा कन्डक्टरहरू बस हाँक्न अनुभवी भने हुँदैनन् ।

यातायात व्यवसायी तथा मजदुरहरूले भने जस्तो चेकजाँचमा फितलो नभएको ट्राफिक प्रहरी दाबी गर्छ । काठमाडौँ भित्र्ने हरेक लामो दुरीका सवारी साधनमा दुई चालक भए नभएको बारे नागढुंगामा नियमित कडाईका साथ चेकजाँच भइरहेको ट्राफिक प्रहरी दाबी गर्छ । प्रहरीकाअनुसार २ सय ६० किलोमिटरको दुरीदेखि बढी दुरीमा चल्ने सवारी साधनहरूलाई लामो दुरीका सवारी साधन मानिन्छ । यो दुरीमा चल्ने सवारी साधनहरूमा अनिवार्य रूपमा दुई चालकहरू हुनुपर्ने र उनीहरूले पालैपालो सवारीसाधन चलाएको देखिनु पर्ने हुन्छ ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हरेक सवारी साधनहरू एकै चालकले नभएर पालैपालो चलाउने व्यवस्था रहेको दाबी गर्छ । महासंघका सल्लाहकार सुरेश हमालले सवारी साधनमै रहने दक्ष जनशक्तिबाट पालैपालो सवारी साधन चलाउने व्यवस्था रहेको बताउनुभयो । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड एउटा उत्तम विकल्प भएको यसले दर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम–कार्ड लागु गर्ने र त्यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायी बसेर टाइम–कार्डको मापदण्ड बनाउने निर्णय गरेको थियो । यद्पि यो लागु भने भएको छैन । दुघटना न्यूनीकरणका लागि टाइम–कार्ड प्रभावकारी हुन सक्छ भन्ने उदेश्यले लागु गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मल्लले वताउनुभयो ।

सवारी दर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतना मूलक कार्य गर्दागर्दै सवारी दर्घटना बढ्न थालेपछि टाइम–कार्ड लागु गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनमा टाइम–कार्ड लागु गर्नु राम्रो भएको सार्वजनिक यातायात सञ्चालन समिति दाङका संयोजक तथा अम्किेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत बताउनुहुन्छ । जिल्लामा खास गरी साँघुरा बाटो भएको र ओभरटेक गर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै त्यसलाई रोक्न टाइम–कार्ड लागु गर्नु राम्रो भएको संयोजक बस्नेतले बताउनुभयो । साँघुरो र खराब बाटोसँगै ओभरटेक गर्न खोज्दा धेरै दुर्घटना हुने गरेका छन् । त्यसलाई रोक्ने हो भने दुर्घटनामा कमी आउने देखिन्छ । ’ टाइम–कार्ड लागु भए चालकले पालना गरे नगरेको प्रभावकारी रूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबही गर्न सके दुर्घटनामा कमी आउने संयोजक बस्नेत बताउनुहुन्छ । त्यससँगै क्षमताभन्दा बढी यात्रु नराख्ने, प्रत्येक गाडीले अपाङ्गमैत्री, महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई आरक्षण सिट छट्यार लागु गरिए पनि अनुगमनको अभावमा प्रभावकारी कार्यान्वयन हुन नसकेको बस्नेतको दुखेसो छ । हामीले नीति बनाउँछौँ । चालकले पालना गर्ने र ट्राफिक प्रहरीले अनुगमन गर्ने काम हो’, उहाँले भन्नुभयो, ‘अनुगमन गरेर नियमको पालना नगर्नेलाई कारबाही गरिदिए धेरै दुर्घटना कमी हुने देखिन्छ । ’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?