काठमाडौं । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलवार मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् ।
मंगलवार बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरु बाहिरिएको र सरकारलाई दिएको समर्थ फिर्ता लिएको संस्कृतिमन्त्री यादवले बताउनु भयो ।
उहाँले सरकारले जनमुखी काम नगरेको र आफूहरु मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरुको मातहतका मन्त्रालयहरु एकल ढंगले चलाउने गरेको आरोप लगाउनु भयो । सरकारको एक वर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभति गर्न नसकेको बताउनु भयो ।
उहाँले आफूहरु जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसक्ने बताउनु भयो ।