नेपालगञ्जका तीन विकास योजनाको काम सुरु

रासस
Read Time = 3 mins

बाँके । नेपालगञ्ज फुटाहा सडक र पासाङल्हामुमार्गमा ‘अस्फाल्ट पिच’ सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पिच सुरु गरिएको हो ।

यी दुवै सडक स्तरोन्नतिको स्थलगत अनुगमन गर्दै नगर प्रमुख प्रशान्त विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । रु ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासँगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिनुभयो ।

नगरस्तरीय रु ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

बागेश्वरी चिल्ड्रेन उद्यानको सौन्दर्यकरण सुरु

बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन उद्यानको सौन्दर्यकरण कार्य सुरु भएको छ । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले रु ३० लाख बजेटमा उद्यानको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताउनुभयो ।

असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी व्यापारिक सटर डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न बालबालिका उद्यान बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङस्थलका रुपमा पनि छुट्टयाउने योजना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?