गुल्मीका स्थानीय तहको स्वमूल्याङ्कन नतिजा सार्वजनिक

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तह मध्य स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अंक प्राप्त गरेर गुल्मी जिल्लामै उत्कृष्ट पालिका बनेको छ । चन्द्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले ९३.२५ प्रतिशत, मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अंक प्राप्त गरेका छन् । मदाने गाउँपालिकाले ९१.२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मीदरबार गाउँपालिकाले ८६.२५ प्रतिशत, इस्मा गाउँपालिकाले ८५.५ प्रतिशत र छत्रकोट गाउँपालिकाले ८२.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

स्थानीय तहरुमा आर्थिक वर्ष २०७९/०८० मा गरेका क्रियाकलापका बारेमा मूल्याङ्कन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम मूल्याङ्कन गरिएको रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, समन्वय र सहकार्य गरि दश वटा क्षेत्रका १०० सूचकमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरि सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिई आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गरिदै आएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा जिल्ला समन्वय समितिबाट पृष्ठपोषण भए पश्चात सार्वजनिक गरिने व्यवस्था रहेको छ ।

यता, रेसुङ्गा नगरपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको पनि नतिजा सार्वजनिक भएको छ । यस नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८२.५ प्रतिशत अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन, २०७७ बमोजिम योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापन गरि पाँच क्षेत्रका १०० सूचकमा मूल्याङ्कन गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?