रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ र हाम्रो नियति

चिन्तन क्षेत्री
Read Time = 6 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राष्ट्रव्यापी दबाब अभियान’ मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट आजदेखि सुरु भएको छ । अभियान एक महिनासम्म चल्नेछ । पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने दबाब यात्रामा देशभरि २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ—पुल्चोक—गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । (को कहाँ जानेछन् यसको विस्तृत विवरण तल उल्लेख गरिएको छ ।)

यसअघि नेकपा एमालेले पनि मेची महाकाली अभियानको नाममा बैतडीदेखि चिवाभञ्याङसम्म यात्रा गरेको थियो । यात्राका क्रममा एमालेले देशभरिबाट छनोट गरी ७५१ योजना तथा जनताका मागका सूची सरकारलाई बुझाएको थियो ।

यता, रास्वापाले भने दबाब अभियानमा विकासे योजनाहरूको प्रगति विवरण र समयमा नै सक्नका लागि दबाब दिने उद्देश्य राखेको बताएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभई देश र जनताको हुने भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झन्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णय पनि गरेको छ ।

रास्वपाले यसअघि पुसको दोस्रो साता नारायणगढ–बुटवल सडक खण्डमा दबाब यात्रा गरेको थियो । एमालेको मेची काली अभियान रास्वपाको यो दबाब अभियानले विभिन्न प्रश्न खडा गरेको छ । ती मध्ये केही यहाँ चर्चा गरौँ ।

नेताहरु जनताको माझमा पुग्नै पर्छ तब मात्रै जनमतको परीक्षण र विकास हुन्छ । हुन त चुनावको समयमा गाउँ टोल टोलमा राजनीतिक दलका नेताहरूबाहेक अरुलाई देख्न पनि मुस्किल पर्छ । तर चुनाव बाहेकको समयमा यसरी जनताको बीचमा जानु राम्रो पक्ष हो । चुनावका बेला जनतालाई विकासको बाढी ल्याउनेसम्मका गफ दिने नेता तथा सांसदहरू ५ वर्षका लागि गायब नै हुन्छन् । चुनाव जितेपछि सांसद गायब हुने संस्कारमा हुर्केका नेताहरू यसरी जनताको बीचमा जानु बिरलै देख्न सकिन्छ । अहिले नेतृत्वप्रति देखिएको वितृष्णा काम गर्न पनि यस्ता अभियानले केही भूमिका खेल्छ । तर प्रश्न उठ्छ ? चुनावको बेला विकासको बाढी ल्याउने आश्वासन दिने नेताहरू योजना बाँडफाँटमा दलका कार्यकर्ता चुन्ने । वर्षौँसम्म पनि योजना सम्पन्न नगर्ने त्यही ठेकेदारलाई राजनीतिक दबाबमा नै पुनः अर्बौँका योजना दिने परिपाटीको अन्त्य नभएसम्म यस्ता अभियानले सार्थकता पाउला ?

काम भएन भनेर दबाब अभियान निकाल्ने अनि सत्तामा भागबण्डाकालागि लुछाचुँडी गर्ने परिपाटी कस्तो ? एमालेको अभियान र केन्द्रको राजनीति होस् वा रास्वपा अभियान र उसको राजनीतिक होस् । वा अरू नै राजनीतिक दलको राजनीतिक भागबन्डाका लागि आफ्ना आफ्नो धर्म र जनमतलाई चट्टै बिर्सिने दलका नेताहरूको गुणले प्रश्न गर्न भने बाध्य बनाउँछ । तर रास्वपाको परीक्षण हुन अझै केही समय बाँकी रहेको अवस्थामा यसलाई सकारात्मक रूपमा पनि लिन सकिन्छ । दलहरू सत्ताको राजनीतिमा रम्दै जनताका मागलाई फुटबल बनाइरहेका बेला यसरी दलहरू जनताको माझमा पुग्नु भनेको जनतालाई अलिकति भए पनि साहस दिनु हो । अन्य दलले पनि यसबाट पाठ सिक्दै जनतामाझ गएर अहिलेसम्मका गल्तीहरूका क्षमा माग्नुपर्छ । र अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउनुपर्छ ।

अन्त्यमा रास्वपाले अभियानलाई आफ्नो स्टन्ट र बार्गेनिङ टुलका रूपमा प्रयोग नगरोस् । वास्तविकतामा रहेर सरोकारवाला निकायको आँखाको पट्टी खोल्न सक्षम होस् ।

रास्वपाका कुन नेता कहाँ जाँदैछन् सूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?