लुम्बिनी प्रादेशिक अस्पतालमा पिआईसियु सेवा सुरु, मन्त्री खनालद्वारा उद्घाटन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गर्नु भएकाे हाे ।

परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सीको पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताउनु भयो।

उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताउँदै अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी यस अस्पतालमा गर्दै आएको बताउनु भयो ।

उहाँले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अवस्था हुनु सकारात्मक रहेको बताउनु भयो। उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने मन्त्री खनालले बताउनु भयो ।

स्वास्थ्यमन्त्री खनालले मातृ र बाल मृत्यु दर उच्च रहेको तथ्याङ्क रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआईसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका लुम्बिनीका निर्देशक डा विनोद गिरि सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो । अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सिर्जना गर्न निर्देशन दिनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विभाग प्रमुख डा किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसारमा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताउनु भयो। उहाँले लुम्बिनी प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको बताउनु भयो । डा पौडेलले गुणस्तरीय सेवा प्रदान गर्न कुनै कमजोरी नराख्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा अस्पतालका प्रसूति विभाग प्रमुख डा भक्त बस्य (बिबि)राउत ले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि जनताको भिड बढेको अवस्थामा यसको आवश्यकतामा ध्यान नदिएको भए पनि पछिल्लो समय यसको आवश्यकतालाई महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताउनु भयो। उहाँले यो सुविधा थप्दा जनशक्ति थपिने भएकोले यसले सुरक्षित डेलिभरीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नेपालभरकै तेस्रो अस्पतालको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउनका लागि यो प्रभावकारी हुने विश्वास डा राउतले व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार संगै गुणस्तरीय सेवा दिनु पर्ने बताउनु भयो। उहाँले सरकारले आवश्यक स्वास्थ्यकर्मी तथा बजेटको लागि मन्त्रालयले सक्दो सहयोग गरिरहेको बताउनु भयाे । कार्यक्रमको संञ्चालन, अस्पताल बुटवलका प्रशासकीय अधिकृत राजन केसी गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?