अहिले गठबन्धनको सरकार छ । यो सरकारमा रहेका गठबन्धनका दलहरूबीच पहिलेदेखि नै गठबन्धन हुँदै आएको हो । दलहरूबीच आँट, धैर्य र साहसको कमीका कारण यो गठबन्धन हुनपुगेको हो । यस गठबन्धनलाई एउटा अनौठो सहमिलनका रूपमा हेर्नुपर्ने हुन्छ । एकातिर गठबन्धन भइरहेको छ भने अर्कातिर गठबन्धनभित्रैका नेताहरूले यसको विरोध गरिरहेका छन् । यस गठबन्धनको पृष्ठभूमि हेर्ने हो भने २०७४ सालको आमनिर्वाचनबाट नेकपा सरकारमा आएपछि र उक्त सरकारसंबद्ध नेताहरूबीच भएको सरकार सञ्चालनको सहमति कार्यान्वयन हुन नसकेर त्यस पार्टीको आन्तरिक कलह छरपष्ट भएपछिदेखि सुरु भएको थियो । यसपछि वर्तमान गठबन्धनको बीजारोपण हुन पुग्यो ।
आफ्नो दलमा कलह भएपछि नेकपाका वरिष्ठ नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालहरू केपी शर्मा ओलीको साथ छोडेर बाहिरिएपछि प्रतिपक्षमा रहेको र पाँच वर्षसम्म सरकारमा जाने सपना नसाँचेको नेपाली कांग्रेसको साथ लिएर उहाँहरू अगाडि बढेपछि नयाँ खालको गठबन्धन बनेको थियो । सरकारमा रहनुभएका नेता केपी शर्मा ओलीले त्यसपछि पटक-पटक प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुभयो । अन्त्यमा उहाँको सिफारिश अदालतले मान्य गरेन र शेरबहादुर देउवाको प्रधानमन्त्रित्वमा सरकार बनाउन परमादेश जारी गर्यो । अदालतले त माओवादी पार्टीलाई पनि पूर्वअवस्थामा फर्काइदियो तर नेपाली कांग्रेसको सहयोगमा ती पार्टीहरू सरकारमा गए ।
२०७९ सालको आमनिर्वाचनमा नेकपा एमाले नै सबै पार्टीका लागि चुनौती थियो । त्यसैले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीहरू एक्लाएक्लै चुनावमा जान डराए । यीमध्ये नेपाली कांग्रेसलाई भने आफ्ना कार्यकर्ता र नेताहरूबाट निर्वाचनमा एक्लै जानका लागि दबाब आइरहेको थियो तर विशेषगरी माओवादीका पुष्पकमल दाहाल र नेकपा एकीकृतका माधवकुमार नेपालको सहकार्य तोड्न नचाहने भावना र उहाँहरूप्रतिको पहिलेको सहयोगको कदर गर्दै नेपाली कांग्रेस पार्टीले पनि निर्वाचनमा समेत उहाँहरूसँग गठबन्धन गरेरै जाने निर्णय गर्यो । निर्वाचनको परिणाममा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा आए र तिनको फासला त्यति धेरै भएन ।
माओवादी केन्द्र भने धेरै पछाडि प¥यो सरकारमा जान लालायित भएका कारण कसैको न कसेको साथ उसलाई चाहिने नै थियो । त्यसैले केही समय पहिले मात्र छरपष्ट भएर सडकमा पोखिन पुगेकाहरूबीच पुनः सहकार्य भयो र एमालेसँग मिलेर माओवादी पार्टीले सरकार बनायो तर त्यो लामो समय रहनै सकेन । केही महिना बित्दानबित्दै पुनः नेपाली कांग्रेससँगै सहकार्य गरेर पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दै आउनुभएको छ । नेपाली कांग्रेसभित्रको एउटा पक्ष पहिले निर्वाचनका बेलादेखि नै गठबन्धनको विरोधमा थियो । सभापतिको दबाब निर्देशन पालना नगरे अनुशासनको कारबाही होला भन्ने कारणले मात्र कांग्रेसका सबै नेताहरू एउटै ठाउँमा उभिएका थिए ।
उक्त पक्ष अहिले पनि आफ्नो पार्टीको माओवादीको भन्दा झण्डै तीनगुणा बढी सिट भएर पनि माओवादीको प्रधानमन्त्रित्वमा सरकारमा रहिरहनुलाई आफ्नो पार्टीको अपमानका रूपमा हेरिरहेको छ । प्रभावशाली नेता डा.शेखर कोइराला र महामन्त्रीद्वय पनि थोरै सिट जितेको माओवादी केन्द्रको वैशाखी भएर आफ्नो ऐतिहासिक र ठूलो पार्टी सरकारमा रहनुलाई अपमानका रूपमा हेर्दै आइरहनुभएको छ । नेताहरूले विधिभन्दा माथि उठेर पार्टी चलाएको तर अब त्यसो हुँदैन भन्ने युवा नेताहरूको भनाइ पार्टी सभापतिलाई चुनौती भएको छ । सभापति भने अरू नेताहरूलाई भाषणमात्र गर्ने भनेर व्यंग्य गर्दै हुनुहुन्छ । अरूको वैशाखीमा मात्र नेपाली कांग्रेस हिँड्नु हुँदैन भन्ने अधिकांशको सुझाव छ । यसलाई कुनै स्थान नपाएका नेताको आक्रोसका रूपमा पनि हेर्न सकिएला तर यो ठूलो पार्टीको कमजोरीकै रूपमा रहँदै आएको छ ।
माओवादीले एमालेसँग मिलेर सरकार बनायो भनेर त्यसलाई बिथोल्न बरू तपाईंलाई पाँचै वर्ष प्रधानमन्त्री दिउँला एमालेको साथ छोड्नुहोस् भनेर फर्काएका कारण र आपूmले राष्ट्रपति र केही संख्यामा मन्त्री पाएकोमै नेपाली कांग्रेस चित्त बुझाएर बसेको छ । संघीयता लागू गर्नेगरी काम गर्न सुझाव पनि नेताहरूबाट आइरहेको छ । केही पार्टीहरू मिसन ८४ भनेर अगाडि बढिरहेका छन् । पुराना पार्टी र नेताहरूप्रति घट्दै गएको विश्वास अर्को कुनै पार्टीमा लगेर समाहित गर्न तिनीहरू चाहन्छन् । यसको एउटा दृष्टान्तका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिन सकिन्छ । भरखर स्थापना भएको नयाँ पार्टी हो यो । यसको बलिदानी, समर्पण, इतिहास केही छैन तर चौथो पार्टीका रूपमा आफ्नो स्थान कायम गर्न सफल भयो ।
यसको कारण यस पार्टीको योगदानलाई हेरेर होइन पुराना पार्टीप्रतिको वितृष्णा विसर्जन गर्ने ठाउँ खोज्ने क्रममा मतदाता त्यहाँ थुरिन पुगेका हुन् । तर, आगामी निर्वाचनमा यही पार्टी वा यस्तै अन्य कुनै नयाँ पार्टी जन्मिए भने तिनले समेत मौकामा चौका हान्न नसक्लान् भन्ने छैन । तीसँग सामना गर्न नारा, जुलुस, भाषणजस्ता कुरा सहयोगी हुन सक्दैनन् । यसका लागि त रचनात्मक कामको आवश्यकता पर्छ र काम गरेर जनतालाई प्रभाव पार्न सक्नुपर्दछ । होइन यसरी नै अनियमिता, भ्रष्टाचार पार्टीभित्रको अव्यवस्थालाई कायम नै राखिरहने र कार्यकर्ता र जनतालाई विश्वास दिनेगरी काम गर्न नसक्ने हो भने अर्को निर्वाचनमा पनि गठबन्धनकै सहारा लिनुको विकल्प अरू केही हुनेछैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच