पाँच दलीय गठबन्धको नेतृत्व गर्दै सरकार प्रमुख हुनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले उहाँको सहयोगी तर सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको सहकार्य निकै अप्ठेरो भएको सार्वजनिक गर्नुभएको छ । उहाँले राष्ट्रियसभाको अध्यक्ष, कोशी प्रदेशबाट राष्ट्रिय सभाका लागि माओवादी उम्मेदवारको पराजय, फागुन १ को सशस्त्र हिंसाको थालनी गरेको दिनको बिदा आदि अननेक प्रश्नमा कांग्रेसको साथ नपाएकोमा अप्ठेरो अनुभव गर्नुभएको देखिन्छ ।
वर्तमान सत्ता गठबन्धन पछिल्लो पटकको निर्वाचनपछिदेखिको समयलाई लिँदा एक वर्ष जतिको भयो । तर, गठबन्धन यो नै नयाँ होइन । त्यसभन्दा अगाडिदेखि नै अभ्यासमा आएको हो । ०७४ मा भएको कम्युनिष्ट पार्टीबीचको एकीकरणले उत्पन्न एकताको र स्थायित्वको संभावनालाई माओवादी र एमाले आफैंले भत्काएका हुन् र त्यसमा सर्वोच्च अदालतको फैसलाले पूर्ववत् अवस्थामा परिणत गरिदिएको थियो । जब नेकपाको तत्कालीन सरकारको पालोफेरोको विवाद बाहिर आयो त्यसपछि आफ्नो पालो सकिएर पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि स्थान खाली नगरिदिएपछि माधवकुमार नेपाल र पुष्पकमल दाहाल सडक आन्दोलनमा हामी यहाँ छौं भन्ने प्लाकार्ड बोकेर जानुभएको स्मरण सबैले गरेका छन् । त्यसपछिका अनेकौं सन्दर्भ छन् र नेकपाभित्र चरम झगडा भएर पार्टी फुट्ने अवस्था भइसकेपछि नेकपाबाट अलग भएकाले नेपाली कांग्रेससँग गठबन्धन गरी अन्ततः अदालतको फैसला बमोजिम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्नुभएको थियो । त्यसपछि गतवर्षको निर्वाचनसम्म उक्त गठबन्धन कायमै रहृयो । निर्वाचनमा पनि गठबन्धन गरेरै ती दलहरूले भाग लिएका हुन् ।
राजनीतिक विचार र सिद्धान्त नमिले पनि नेपाली कांग्रेसलाई नै नेतृत्वमा राखेर माओवादीसहित माधवकुमार नेतृत्वको कम्युनिष्ट पार्टी निर्वाचनमा गएका हुन् । परिणाममा आशातीत सफलता पाउन नसकेपछि केही कार्यकर्ता र नेताहरूले त्यसको दोष नेपाली कांग्रेसलाई दिए । आफ्नो पार्टीले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई भोट दिएको तर नेपाली कांग्रेसले चाहिँ आफ्ना उम्मेदवारहरूलाई भोट नदिएको आरोप आपूmले जित्न नसकेपछि माओवादी केन्द्रले लगाएको थियो । तर, पार्टीको आधिकारिक तहबाट भने यस्तो निर्णय आएन । गतवर्ष संसद्को निर्वाचनको परिणाम आएपछि माओवादीको विजयी सिट संख्या नेपाली कांग्रेस र नेकपा एमालेभन्दा धेरै कम भयो । त्यसैले माओवादी दलले एमालेसँग मिलेर सरकार बनायो । नेपाली कांग्रेसले प्रधानमन्त्री नदिएपछि एमालेसँग हातेमालो गरेर प्रधानमन्त्री पद माओवादीले पाए पनि त्यो दुई महिना पनि टिक्न सकेन ।
त्यो गठबन्धन पानीको फोका जसरी दुई महिनाभित्रै समाप्त हुनासाथ प्रचण्डले पुनः नेपाली कांग्रेससँगै हातेमालो गरिहाल्नुभयो । कांग्रेसलाई राष्ट्रपतिको पद प्राप्त भयो तर सभामुख भने त्यसबेलासम्म एमालेका हातमा पुगिसकेको थियो । यस अवधिमा नेकपाबाट फुटेर आफ्नो छुट्टै पार्टी दर्ता गरेको नेकपा एकीकृत समाजवादी भने बरू माओवादी जस्तो अस्थीर नबनी दृढतापूर्वक अडान लिएर बसेको थियो । कांग्रेसले प्रधानमन्त्री नदिएपछि आवेसमा एमालेसँग पुष्पकमलको हातेमालो हुनु अन्यथा थिएन । उता एमालेलाई प्रतिपक्षमा बस्नुपर्ने पार्टी सरकारमा पनि जान पाइने र नेपाली कांग्रेसलाई हस्स पार्न पाइने भएका कारण प्रधानमन्त्री प्रचण्डलाई नै समर्थन दिने निर्णयमा पुग्यो । यसबाट नेपालको राजनीतिमा एक प्रकारको तरंग पैदा भयो । तर केही समय बित्दानबित्दै प्रचण्डको मन परिवर्तन भयो र पुनः उहाँले निर्णय बदल्नुभयो र कांग्रेससँगै मिल्नुभयो ।
कांग्रेसकै समर्थनमा उहाँ हाल प्रधानमन्त्री हुनुहुन्छ । तर अहिले एकाएक गठबन्धनभित्र खटपट पैदा भएको छ भनिँदैछ । माओवादी केन्द्रको राजनीतिक अवस्था दिनप्रतिदिन खस्कँदै गएको देखिए पनि अध्यक्ष दाहाल भने अत्यन्त चतुर राजनीतिज्ञका रूपमा चेसका प्यादा चलाएजस्तो चाल चलिरहनु भएको प्रतीत हुन्छ । हिजोका दिनमा हिंसाको राजनीति गरेर आउनुभएका उहाँ र उहाँको पार्टीप्रति पहिलो संविधानसभामा त त्रासले र आशले भोट आएको थियो तर अब भने माओवादीसँग न कसैलाई आश छ न त्रास नै छ । यस्तो अवस्थामा पार्टीको अस्तित्व जोगाउनसमेत मुस्किल हुने कुरा उहाँलाई थाहा छ । अब सर्तअनुसार अर्को पार्टीलाई प्रधानमन्त्री पद छोडिदिनुपर्ने अवस्था आउँदै छ । अहिलेदेखि नै यस्ता खोचे थापेर सौदाबाजीका कुरा उठाउँदै गर्ने हो भने आप्mनो पार्टीको आयु अलिक लम्बिन सक्छ भन्ने उहाँलाई लागेको हुनसक्छ ।
यसका लागि उहाँको अस्थीर स्वभाव र गोटी चालको दिशाले उहाँलाई एमालेसँग पुनः सम्झौता गर्न पुर्याउन पनि सक्छ । यस्तै कारणहरूले नै भन्ने गरिएको हो राजनीतिमा सबै कुरा सम्भव हुन्छन् । एमालेको चाहना पनि यतिखेर प्रचण्डको सोच अनुकुल हुनसक्छ । जसरी भए पनि गठबन्धनभित्र खटपट पैदा गराएर दरार खडा गर्न पाए हुन्थ्यो भन्ने उसको मनसाय हुनुलाई स्वाभाविक मान्न सकिन्छ तर मित्र शक्तिका रूपमा एक भएर रहेका दलहरू भने कसैले पैदा गर्न खोजेको हावा हुण्डरीबाट विचलिन नहुनुपर्नेमा आफैंभित्र मनमा तिलजौ पकाएर बस्नु असान्दर्भिक अवस्थाको सिर्जना गर्नु हो । नेपाली कांग्रेसभित्रको एउटा घटक पहिलेदेखि नै यस गठबन्धनको विपक्षमा रहँदै आएको छ ।
यसरी यस गठबन्धनको विरोधमा आफ्ना असन्तुष्टिहरू अभिव्यक्त गर्नु अनुपयुक्त होइन । यत्ति हो, निर्वाचनमै त्यो विचार बाहिर आउन सकेको भए उचित हुन्थ्यो । निर्वाचनको सन्दर्भ सकिइसकेको छ, अबको गठबन्धन सरकारमा रहने कि नरहने भन्ने सम्बन्धमा हो । एकातिर गठबन्धनको एउटा पार्टी माओवादी केन्द्र नपाली कांग्रेससँग असन्तुष्ट रहनु र नेपाली कांग्रेसको एउटा पक्ष पनि माओवादीसँग असन्तुष्ट रहनुले अर्को सम्भावना र विकल्पहरू खोजेको भन्ने अर्थ लाग्नसक्छ । त्यो विकल्प भोलि अहिलेको भन्दा कमजोर भयो भने देशलाई त्यसबाट केही फाइदा पुग्दैन, अझै हानी हुन्छ । जनताको चाहना भने सरकार बदल्नु र सरकारमा संलग्न दलहरू बदलिनुपर्छ भन्ने होइन देशको भलाई होस् भन्ने हो । राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थ छोडेर यसतर्फ सोच्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच