नमागिएको सल्लाह :
क्रिकेटमा धेरै पटक म्यान अफ द म्याच बनेका पूर्वक्रिकेटर पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान फेब्रुवरी ८, २०२४ मा भएको आमनिर्वाचनबाट म्यान अफ दि इलेक्सन बने । अनौठो त के भयो भने अम्पायरले खेल्नै नदिएको, खेल्ने सम्भावना नरहने गरी सबै तारतम्य मिलाएको चुनावी खेलमा उनी म्यान अफ दि इलेक्सन भए । क्रिकेट मैदानमा कुनै अम्पायरले नांगो धाँधली गर्न कठिन हुन्छ, गरिहाले अनुशासनको कारबाहीको अलावा दर्शकदीर्घाबाट हुने मुड्के र भाटे कार्बाहीको सामना गर्नुपर्दछ । गत साता सम्पन्न आमनिर्वाचनमा पाकिस्तानी जनताले आफूलाई अम्पायर ठान्ने सेनालाई जनादेशमार्फत कार्बाही गरेका छन् र भनेका छन्- तिमीले राजनीति गर्ने होइन, तिमीले भनेबमोजिम हुँदैन, हामी आफ्ना प्रतिनिधि स्वतन्त्र रूपले छान्छौं । तिमी ब्यारेकमा बस ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनावमा भाग लिन नदिने उद्देश्य देखिने गरी फैसला गरिएका मुद्दाबाट दोषी ठहर गरेर कारागारमा राखियो । उनकी पत्नीसमेतलाई १४/१४ वर्षको काराबास सजाय तोकियो । उनको राजनीतिक दल, पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) लाई प्रतिबन्धित गरियो । उनको क्रिकेटको ब्याट चुनाव चिहृन खोसियो, उनका विश्वासपात्र र पर्टीको बरियतामा रहेका अधिकांशलाई थुनामा राखियो । इमरानको अस्तित्व समाप्त पार्न कुनै कसर बाँकी राखिएन । फेसबुके पार्टी भनेर पनि गिल्ला गरियो । त्यहाँको संस्थापनले उनलाई सैतानको रूपमा चित्रण गर्न बाँकी राखेन । चुनावको नतिजा पनि पहिलेको भन्दा धेरै ढिला गरेर आयो । अमेरिका, बेलायत, युरोपियन युनियनसमेतले चुनाव अपारदर्शी भएको भनी आलोचना गरे ।
पाकिस्तान सन् १९४७ मा स्वतन्त्रता भएदेखि नै राजनीतिक अस्थिरताको शिकार बनेको छ । सुरुदेखि राजनीतिमा पल्केको सेनाले तीनपटक सैन्य ‘कू’ नै गरिसकेको छ भने तीन दशक प्रत्यक्ष शासन गरेको छ । अहिलेसम्म कुनै सरकार पाँच वर्ष टिकेको इतिहास छैन ।
त्यसको बाबजुद इमरानको पार्टी पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले लगभग १०० स्थानमा चुनाव जितेर सबैभन्दा ठूलो राजनीतिक शक्तिको रूपमा आफूलाइ साबित गरे । प्रत्यक्ष निर्वाचनमार्फत कूल २६६ स्थानमा भएको चुनावमा खुला प्रचारमा उत्रेका, सेनाको समर्थनसमेत पाएका, आमसभाहरूमा फ्लाइङ किस साटासाट गरेका पाकिस्तान मुस्लिम लिग-नवाज (पिएलएम-एन) उम्मेदवार नवाज सरिफको पार्टीले ७५ स्थान, पूर्वविदेशमन्त्री बेनजिरपुत्र बिलाबल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले ५४ स्थान, एमक्युएम १७ र अन्य साना दलले ११ सिट प्राप्त गरेका छन् ।
प्राविधिक दृष्टिले दलका रूपमा चुनाव लडेकामध्ये नवाज सरिफको पार्टी सबैभन्दा ठूलो दलका रूपमा देखिएको भए तापनि पाकिस्तानी जनताले सबैभन्दा बढी रुचाएको नेताका रूपमा इमरान खान स्थापित भएका छन् । २६६ प्रत्यक्ष निर्वाचित र आरक्षण गरिएका ६० महिला र १० गैरमुस्लिमसमेत जम्मा ७० सिटसमेत ३३६ सदस्यीय नेसनल एसेम्ली सरकार बनाउन घटीमा १६९ सिट आवश्यक पर्दछ । नवाज सरिफलाई सरकार बनाउनका लागि इमरान खान अथवा पिपिपीको साथ अनिवार्य छ ।
इमरानले उनीहरूको विकल्प नभएकाले जसरी पनि पिपिपीलाई मनाउन अनिवार्य छ । उसले आफ्ना जायज माग सम्बोधन गरिनुपर्ने बताएर आफ्नो भाउ बढाउन खोजेको भए तापनि सरकारमा सहभागी नहुने गरी नवाज सरिफको पार्टीका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेको छ । पिटिआईबाहेक संसदमा रहेका ६ दलको गठबन्धनले नवाज सरिफका भाइ पूर्वप्रधानमन्त्री सहवाज सरिफको नेतृत्वमा सरकार बनाउने विषय सार्वजनिक भएको छ ।
अनुमान गरिए अनुसार नवाज आफैं किन प्रधानमन्त्रीका उम्मेदवार बनेनन् र किन पिपिपीले सरकारलाई बाहिरबाट समर्थन जनायो भन्ने विषय छुट्टै विश्लेषणयोग्य छ । तर, यो कमजोर र सेनाको कठपुतली सरकार हुने सम्भावना प्रबल छ । राजनीतिक अस्थिरता, राष्ट्रवाद, आतंकवादलाई तह लगाउने निहुँमा केही समयपछि सेनापति नै अगाडि सरे भने पनि आश्चर्य नमान्दा हुन्छ । इमरान समर्थित स्वतन्त्र उम्मेदवारहरूको कारण संसद् र सडकमा सहज अवस्था नरहने अनुमान गर्न कठिन छैन ।
अस्थिर राजनीति र प्रजातान्त्रिक मूल्य मान्यतामा निरन्तर प्रहार
पाकिस्तान सन् १९४७ मा स्वतन्त्रता भएदेखि नै राजनीतिक अस्थिरताको शिकार बनेको छ । सुरुदेखि राजनीतिमा पल्केको सेनाले तीनपटक सैन्य ‘कू’ नै गरिसकेको छ भने तीन दशक प्रत्यक्ष शासन गरेको छ । अहिलेसम्म कुनै सरकार पाँच वर्ष टिकेको इतिहास छैन ।
संक्षिप्तमा स्वतन्त्रतापछिको पाकिस्तानको राजनीतिक घटनाक्रमलाई नियालौं :
१९४७ मा मोहम्मद अलि जिन्नाहा गभर्नर, १९५८ मा सैन्य ‘कू’, जनरल अयुव खानद्वारा सत्ता कब्जा, १९६९ मा जनरल याहया खान सत्तामा, १९७० मा पहिलो आमनिर्वाचन, नुरुल अमिन प्रधानमन्त्री, १९७३ जुल्फिकर अलि भुट्टो प्रधानमन्त्री, १९७७ मा जनरल जियाउल हकद्वारा सैन्य कूमार्फत सत्ता कब्जा, १९७९ मा जुल्फिकर अलि भुट्टोलाई फाँसी, १९८५ मा पार्टीलाई निषेध गरी चुनाव, मोहम्मद खान जुनेजो प्रधानमन्त्री, १९८८ आमनिर्वाचन बेनजिर भुट्टो प्रधानमन्त्री, १९९० मध्यावधि निर्वाचन नवाज सरिफ प्रधानमन्त्री, १९९३ आमनिर्वाचन बेनजिर भुट्टो प्रधानमन्त्री, १९९७ आमनिर्वाचन नवाज सरिफ प्रधानमन्त्री, १९९९ जनरल परवेज मुसर्रफद्वारा सैन्य ‘कू’, सत्ता कब्जा, २००२ आमनिर्वाचन, जफरुल्ला खान प्रधानमन्त्री, सैनिकशासन कायमै, २००७ मा चुनावी सभामा गोली हानी बेनजिर भुट्टोको हत्या, २००८ मा आमनिर्वाचन युसुफ राजा गिलानी प्रधानमन्त्री, २०१३ मा आमनिर्वाचन, नवाज सरिफ प्रधानमन्त्री, २०१८ आमनिर्वाचन, इमरान खान प्रधानमन्त्री, २०२२ मा इमरान खान विश्वासको मत प्राप्त गर्न असफल नवाजका भाइ सहवाज सरिफ प्रधानमन्त्री, २०२४ मा इमरानलाई जेलमा राखेर सेनाको आडमा विवादास्पद चुनाव ।
माथिका घटनाक्रमले पाकिस्तानको राजनीति अस्थिर, आपराधिक घटनाबाट प्रभावित, प्रजातान्त्रिक मूल्य मान्यता देखावटीमात्र भएको र षड्यन्त्रप्रेरित देखिन्छ ।
फेब्रुवरी-८ को आमनिर्वाचनको सन्देश :
सेना र सेना नियन्त्रित राज्य प्रणालीको चाहनाविपरीत इमरान खान अस्तित्वमा रहे । यो विषय पाकिस्तानी संस्थापनको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । जनतालाई प्रत्यक्ष सम्बोधन गर्नसमेत नपाएका र अलग-अलग चुनाव चिहृनमा असंगठित रूपमा चुनाव लडेका इमरानको पार्टीका उम्मेदवारलाई मतदान गरेर पाकिस्तानी जनताले जनताको सार्वभौम अस्तित्वको हैसियत देखाएका छन् । यो जनताको अभिमतको कदर गर्दै संस्थापन पक्ष सुध्रिएर मुलुकमा न्यायिक प्रणाली र मान्यताहरू स्थापित गर्न सक्यो, इमरान खानको पक्षको जनलहरलाई समयमै बुझेर सबै शक्तिको सहभागिता र सहकार्य भएको राजनीतिक प्रणाली स्थापना गर्न सक्षम भयो भने मुलुकमा राजनीतिक स्थिरता कायम भई सो वातावरणमा आर्थिक र समृद्धिका मुद्दा पनि प्राथमिकतामा पर्न सक्लान् अन्यथा पाकिस्तान अस्थिर र असफल राष्ट्र बन्न बेर लाग्नेछैन ।
कमजोरीसमेतलाई सुधारेर अझ पूर्णक्षमताको राजनेता बन्ने हैसियत इमरान खानलाई आमनिर्वाचनमा व्यक्त अभिमतबाट प्राप्त भएको छ । बुलेटले कमजोर पार्न नसकेको ब्यालेटको शक्तिले इमरानलाई पाकिस्तानको राजनीतिमा झन् बलियो बनाएको छ । राज्यशक्तिमा बस्न केही समय लाग्ला तर उनी पाकिस्तानी जनताको मनमा बस्न सफल भएका छन् ।
नवाज सरिफ वा उनको पार्टीका उम्मेदवार पिपिपी र अन्य साना दलको साथ लिएर प्रधानमन्त्री त बन्लान् तर सत्ता टिकाउँनमै उनको समय ब्यतीत हुने भएकाले भूराजनीतिक चुनौतीलाई सहज बनाएर आर्थिक विकासलाई अघि बढाउन धेरै कठिन छ । छिमेकी चीन र भारत विश्व राजनीतिक शक्ति बन्ने दौडमा रहेको, भारतसँगको सम्बन्ध कटुतातर्फ उन्मुख भएको समयमा पाकिस्तान घरेलु राजनीतिमै अल्मलिनुपर्ने अवस्था मुलुकको भविष्यका लागि शुभसंकेत नहुन सक्छ । पाकिस्तानी सेना प्रमुख जनरल असिफ मुनिरले मुलुकमा स्थिर नेतृत्व आवश्यक रहेको, २५ करोड जनसंख्या भएको देशमा राजनीतिक ध्रुवीकरण नसुहाउने, परिपक्वता देखाउनुपर्ने कुरा बताएका छन् ।
अनपेक्षित चुनावको नतिजालाई लिएर जनरल मुनिरको उपदेशात्मक र आदर्शवादी भनाइ आउनुले पाकिस्तानको सेनालाई ‘राज्यभित्रको राज्य’ भनेर विश्लेषण गर्नेहरूलाई बल पुर्याएको छ । बरू, यो कथन आफैंमा लागू गरेर परिपक्वता देखाई कारागारमा रहेका र जनताद्वारा पत्याइएता नेता इमारानलाई राजनीतिमा सहयात्री बनाउने वातावरण बनाउँन सक्दा कथनी र करनीमा सामान्जस्यता बन्ने थियो । जनताले इमरानमाथि लगाएका मुद्दालाई राजनीतिप्रेरित ठाने, इमरान समर्थकले भन्ने गरेको कंगारु कोर्ट (कुनै ठोस प्रमाण नचाहिने, विरोधी समाप्त गर्न गठन गरिएको अदालत)को फैसला मान्य नहुने भनाइलाई पनि अनुमोदन गरिदिए । समाप्त गर्न खोजिएका इमरान झनै बलशाली र प्रभावशाली बनेर देखिए ।
क्रिकेट ब्याट चुनाव चिहृन लिएर पार्टीगत चुनाव लडेको भए, जनपरिचालन गरेको भए र धाँधलीरहित चुनाव भएको भए इमरानको बहुमत आउने अवस्था रहेको भन्ने विश्लेषण भइरहँदा पाकिस्तानी स्थायी संरचनालाई इमरानलाई लामो समयसम्म कारागारमा राखिराख्न सहज भने देखिँदैन । पाकिस्तान जस्तो शासन सत्तामा कुलीनहरूको प्रभाव रहेको समाजमा इमरानका भ्रष्टाचारविरोधी, सुशासनको वकालत गर्ने कामले पुरातनपन्थीहरूलाई असर पु¥यायो, उनीहरू स्वार्थका खातिर एक भए । राष्ट्रवादको नारा दिएर जनतामा भाषण गर्दा तालीको पर्रा त छुट्यो तर अकूटनीतिक व्यवहारका कारण महाशक्तिहरूलाई ठेगानमा राख्ने काम प्रत्युत्पादक बन्न पुग्यो ।
बुलेटले कमजोर पार्न नसकेको इमरानको ब्यालेट :
गतसाताको चुनावले पाकिस्तानका सबैभन्दा लोकप्रिय नेताका रूपमा इमरान खानलाई स्थापित गरिदिएको छ । उनीविरुद्धका सम्पूर्ण दुष्प्रचारवाजीहरूलाई जनताले पत्याएनन् । अविश्वासको प्रस्तावको समयमा उनलाई छोडेर जानेहरूलाई पनि जनताले जवाफ दिएका छन् । अरू पक्षलाई त जवाफ दिएकै छ । विगतमा सम्पूर्ण शक्तिहरूलाई एकैपटक प्रहार गर्ने शैलीका कारण सर्वपक्षीय प्रहार इमरानमाथि प¥यो । जसलाई उनको अपरिपक्वता पनि भन्न सकिन्छ । त्यस्ता कमजोरीसमेतलाई सुधारेर अझ पूर्णक्षमताको राजनेता बन्ने हैसियत इमरान खानलाई आमनिर्वाचनमा व्यक्त अभिमतबाट प्राप्त भएको छ । बुलेटले कमजोर पार्न नसकेको ब्यालेटको शक्तिले इमरानलाई पाकिस्तानको राजनीतिमा झन् बलियो बनाएको छ । राज्यशक्तिमा बस्न केही समय लाग्ला तर उनी पाकिस्तानी जनताको मनमा बस्न सफल भएका छन् । शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच