बैतडीमा कुपोषित बालबालिकाको संख्यामा बृद्धि

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 6 mins

बैतडी । बैतडीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेको छैन् । आहार विहारमा ध्यान नदिँदा र न्युन आर्थिक अवस्थाका कारण अधिकांश बालबालिका कुषोषित हुने गरेका छन् ।

शरिरलाई चाहिने सन्तुलित पोषणयुक्त खानेपानीको अभावले कुपोषण हुने गर्दछ । स्वास्थ्य कार्यालय र स्थानिय तहहरु मार्फत कुपोषण रोक्न विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएपनि प्रभावकारी नहुँदा कुपोषित बालबालिकाहरुको संख्या शून्यमा झार्न समस्या भैरहेको छ ।

चालू आर्थिक वर्षको हाल सम्म जिल्लामा ६ महिनादेखी ५९ महिना सम्मका सय जना कुपोषित बालबालिका भेटिएका छन् । ति मध्ये ८० जना बालिकाहरुमा कडा खालको कुपोषण रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले जानकारी दिनुभयो । बाँकी २० जनामा मध्यम खालको कुपोषण रहेको छ ।

कडा सिघ्र कुपोषण भएका बालबालिकाहरुलाई डडेल्धुरा अस्पतालमा रहेको पोषण पुर्नस्थापना गृहमा रिफर गर्ने गरिएको छ । अन्यको भने जिल्लाका ३७ वटा स्वास्थ्य संस्थामा स्थापित बहिरंग उपचार केन्द्रमा उपचार गरिन्छ ।

सन्तुलित आहार-विहारमा ध्यान नदिँदा साउनयता ८० जना बालबालिकाहरुलाई कडा खालको कुपोषण भएको छ ।

कुपोषित बालबालिकाहरु अधिकांश दुर्गम पालिकाहरुमा बढी भेटिएका छन् । चालू आर्थिक वर्षको हाल सम्ममा जिल्लाको शिवनाथ गाउँपालिका ४६ जना बालबालिकाहरुमा कुपोषण भएको पुष्टि भएको हो । अन्य पालिकाको तुलनामा शिवनाथमा सबै भन्दा धेरै भेटिएका हुन् । ‘उपाध्यक्षको कोसेलि कार्यक्रम सहित संघिय ससर्त अनुदान मार्फत हुने नियमीत कार्यक्रमहरु सञ्चालन गरीरहेका छौ’ प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले भन्नुभयो ‘र पनि अभिभावकहरुले आहारविहारमा ध्यान नदिँदा शून्य झार्न सकस परेको छ ।’

गत आर्थिक वर्षमा पनि शिवनाथमा सबै भन्दा धेरै कुपोषित बालबालिका भेटिएका थिए ।

बालबालिकाको उमेरअनुसार तौल नभएका, रोगले सताइरहने, हड्डी र छाला बाहिरै देखिने, सुन्निने प्रकृतिका कुपोषित बालबालिकालाई गम्भीर प्रकृतिमा राख्ने गरिएको छ । कुपोषण रोक्न नियमित बालबालिकाको तौल गर्ने, सामान्य, मध्यम र गम्भीर कुपोषण लागेकालाई विभाजन गरेर हेरचाह गर्ने, उचित सरसल्लाह दिने गर्दै आएका छन्।

गत आर्थिक वर्ष जिल्लामा ४२९ जना बालबालिकाहरुमा कुपोषण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ महिना देखी ५९ महिना सम्मका दुई सय बालबालिकाहरुमा कडा खालको कुपोषण पुष्टि भएको थियो । १९९ जना बालबालिकाहरुमा मध्यम खालको कुपोषण भएको पुष्टि थियो । यस्तै ६ महिना मुनिका ३० जना बालबालिकाहरुमा समेत पुष्टि जनाइएको छ ।

नागरिकहरुमा चेतनाको विकास हुँदै गएकाले पहिलेको तुलनामा केही घटेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बालबालिकाको उचित आहार, खानपिन र स्वास्थ्यका विषयमा गम्भीर भएर अघि बढ्दा समेत यसलाई शून्यमा झार्न सकस भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताउनुभयो । ‘स्वास्थ्यको एक्लो प्रयासले एक्लो सम्भव छैन्’ उहाँले भन्नुभयो ‘ पहिलेको तुलनामा केही सुधार हुँदै गएको देखिन्छ र अन्य क्षेत्रहरु संगै विशेष गरी अभिभावकहरुले पनि उत्तिकै मात्रामा सचेत हुन जरुरी छ ।’

पोषणयुक्त खानेकुराहरुको अभाव, पत्रु खानेकुराहरुको बढ्दो सेवन, बाल विवाह,नियमीत स्तनपान नगराउने लगायतका काराणले कुपोषित बालबालिकाको संख्या घट्न नसकेको स्वास्थ्यकर्मीहरु भनाईको छ । स्थानिय तहहरुका स्वास्थ्य संस्थाहरुमा स्थापना गरिएका बहिरंग उपचार केन्द्र तथा जिल्ला अस्पतालका उपचार केन्द्रमा कुपोषित बालबालिकाको उपचार सम्भव नभएकाले थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?