डा.विष्णु केसी प्राध्यापक हुनुहुन्छ । यसका साथै उहाँ साहित्यमा पनि सक्रियताका साथ संलग्न हुनुहुन्छ । साहित्यमा विष्णु केसी नामले चिनिने उहाँको वास्तविक नाम विष्णुकुमार खत्री हो । माधव घिमिरेको खण्डकाव्यकारितामा विद्यावारिधि गर्नुभएका उहाँले दुई दशकदेखि निरन्तर लेख्दै आउनुभएको छ । उहाँबाट दर्जनौँको सङ्ख्यामा विद्यालय र महाविद्यालय तहका पाठ्यपुस्तकहरू लेखिएका छन् । बालसाहित्यमा सिद्धहस्त सर्जकका रूपमा ख्याति स्थापित गर्न उहाँ सफल हुनुहुन्छ । उहाँका बालसाहित्यका दर्जनौँ पुस्तकहरू प्रकाशित छन् जसमा ‘आमा’ शीर्षकको यो बालकाव्य पनि एक हो ।
शब्दार्थ प्रकाशन चाबहिल प्रकाशक रहेको यस पुस्तकको वितरक सदीक्षा बुक्स एण्ड स्टेसनरी चाबहिल रहेको छ । २०७९ सालमा १००० को संख्यामा प्रकाशित भएको यो पुस्तक डिएमआई साइजमा छ तर बालकाव्य भएकाले यो धेरै पृष्ठको छैन । भूमिका खण्डसमेत गरी जम्मा ४८ पृष्ठको छ । यसको मूल्य ३०० रुपैयाँ छ । स्तरीय छपाइ भएको यस पुस्तककमा अशुद्धिहरू खासै भेटिँदैनन् । पुस्तकमा स्तरीय चिप्लो थरि-थरि रङ्गीन कागज प्रयोग भएको छ, जसले गर्दा बालबालिकाका लागि थप आकर्षक बन्न पुगेको पाइन्छ ।
गरिबहरूलाई सहारा दिऔँ भन्ने यस काव्यको अभिप्राय पाइन्छ । काव्यकारको प्रस्तुति सरल छ, बालकहरूले बुझ्ने स्तरको छ । छोटो काव्य भएकाले १०-१५ मिनेटमै यो पढिसकिन्छ । भाषा सरल र अनुप्रासयुक्त छ । कथानकसहितको काव्य यसरी अगाडि बढेर समापन भएको छ ।
सुदर्शन शाक्यको चित्र र सनराइज ग्राफिक्स डिजाइन एण्ड प्रिन्टका भुवन अर्यालको लेआउट रहेको यस पुस्तकको समग्र साजसज्जा पनि आकर्षक रहेको छ । सङ्गीता भण्डारीको कम्युटर र टचटोन प्रिन्टिङ प्रेसको मुद्रण रहेको यस पुस्तकको सर्वाधिकार कृतिकारमै निहित छ । पुस्तकको आवरण आकर्षक छ । कालो पृष्ठभूमिमा घर, रूखलगायत तीनजना बालबालिकाहरू अँगालो हालेर उभिएका छन् । माथि ठूला राता अक्षरमा पुस्तकको शीर्षक ‘आमा’ लेखिएको छ भने तल साना सेता अक्षरमा काव्यकारको नाम लेखिएको छ ‘डा.विष्णु केसी’ भनेर ।
पृष्ठ आवरणमा उहाँको फोटोसहितको सामान्य चिनारी छ । उहाँले लेख्नुभएका बालसाहित्यका एक दर्जनभन्दा बढी पुस्तकहरूको नाम दिइएको छ । यसैगरी उहाँले प्राप्त गर्नुभएका मानसम्मान तथा पुरस्कारहरूको सूचीसमेत दिइएको छ । हाल पशुपति बहुमुखी क्याम्पस चाबहिलमा प्राध्यापनरत केसीले आधा दर्जन जति मानसम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । यही पृष्ठमा प्रकाशन संस्था शब्दार्थ प्रकाशन र वितरक संस्था सदीक्षा बुक्स एण्ड स्टेसनरीको नामसमेत उल्लेख गरिएको छ ।
यस पुस्तकको भूमिका डा.शैलेन्दुप्रकाश नेपालले लेख्नुभएको छ शुभकामना शीर्षकमा । त्यसपछि काव्यकार केसीको ‘मेरो भन्नु’ र विषयसूची दिइएको छ ‘यसभित्र....’ भनेर । यसबाट जानकारी भए अनुसार यस पुस्तकमा ११ वटा खण्डमा काव्य विस्तार भएको छ । यी ११ वटामध्ये एउटा खण्डको शीर्षक ‘पुलमुनि एएटा बालक’ तीन शब्दको शीर्षकमा छ भने नौवटा खण्डका शीक्र्षक दुई शब्दमा छन् । सुरुको ‘नहूँ अलमलमा’ मङ्गलाचरणका रूपमा छ र यो एक पृष्ठमै रहेको छ । यसमा चारवटा श्लोक छन् । यसबाट काव्यकार काव्यमा छोटोछोटा शीर्षक राख्न रुचाउनुहुन्छ भन्ने देखिन्छ ।
काव्यका खण्डहरूको फैलावटलाई हेर्दा एउटा खण्ड पाँच पृष्ठको र एउटा दुई पृष्ठका छन् । बाँकी खण्डको फैलावट तीन पृष्ठसम्मको छ । यसबाट काव्यकबार केसी मझौला आयाममा काव्य विस्तार गर्न चाहनुहुन्छ भन्ने पुष्टि हुन आउँछ । प्रौढलाई भन्दा बालकहरूका लागि लेख्न गाह्रो हुन्छ । बालबालिकाहरूका लागि लेख्दा उनीहरूको सोच, बुझाइको स्तर, बुझ्न सक्ने सामथ्र्य र बालमनोविज्ञानलाई समेत विचार गरेर लेख्नुपर्ने हुन्छ । स्रष्टा केसीमा यसप्रतिको सचेतता पाइन्छ । बालबालिकाका लागि सुललित काव्य सिर्जना भएको छ ।
प्रत्येक खण्डका लागि अगाडि एक पृष्ठको चित्र दिइएको छ । त्यस अर्थमा यो काव्य सचित्र छ । प्रत्येक खण्डको कागज फरक-फरक रङमा राखिएको छ । यसो गर्नाले आकर्षक हुन पुगेको छ । मङ्गलाचरणपछि विभिन्न शीर्षकमा यस काव्यका खण्डहरू अगाडि बढेका छन् । एउटा सडकबालक, अर्को एउटा बालक राजु र राजुकी आमा तीनजना पात्र छन् यस काव्यमा र यिनका माध्यमबाट काव्यको कथानक अगाडि बढेको छ ।
राजु नामको बालकले सधैँ विद्यालय जाँदाआउँदा एउटा बालकलाई देख्छ । त्यो बालक एउटा ठूलो घोक्रामा प्लास्टिकहरू बटुल्ने काम गर्छ र खोलाको पुलमुनि बास बस्छ । राजु उसलाई भेट्न र बोल्न चाहन्छ तर ऊ सधैँ तर्किएर हिँड्छ । केही दिनपछि राजुले उसलाई पुलमुनि सुतिरहेको देख्छ । काममा नगएर यसरी दिउँसै सुतिरहेको हुँदा राजु उसलाई भेट्छ र सोध्छ तर ऊ बिरामी भएको पाउँछ । घरमा गएर आमासँग पैसा मागेर औषधि किनेर दिन्छ । आमाले राजुको त्यस कार्यको चियो गरेकी हुन्छिन् ।
त्यस्ता बालकसँग सङ्गत गर्नु हुँदैन भनेर राजुलाई सम्झाउँछिन् तर राजुले आमालाई नै त्यस्ता बालकलाई त हामीले माया र सहयोग गर्नुपर्छ भनेर सम्झाउँछ । आमा उसका कुरामा सहमत हुन्छिन् । तराईमा बाढी आएर आमाबाबु बगेर बेपत्ता भएपछि बेवारिसे बनेको त्यस बालकलाई एकजनाले काठमाडौं ल्याएर घरमा नोकर राखेको हुन्छ तर गालीगलौज र कुटपिटबाट आजित भएर त्यो बालक सडकबालक बन्न पुगेको हुन्छ । राजु र र उसकी आमाले त्यस बालकलाई घरमा ल्याउँछन् र परिवारकै सदस्य बनाएर राख्छन् । त्यो राजुको भाइ र आमाको कान्छो छोराका रूपमा परिवारको सदस्य बन्छ । काव्यको शीर्षक ‘आमा’ पनि यस काव्यको कथानकबाट सार्थक बन्न पुग्छ ।
यही कुरालाई काव्यकार डा.केसीले विभिन्न सर्गका माध्यमबाट प्रस्तुत गर्नुभएको छ । गरिबहरूलाई सहारा दिऔँ भन्ने यस काव्यको अभिप्राय पाइन्छ । काव्यकारको प्रस्तुति सरल छ, बालकहरूले बुझ्ने स्तरको छ । छोटो काव्य भएकाले १०-१५ मिनेटमै यो पढिसकिन्छ । भाषा सरल र अनुप्रासयुक्त छ । कथानकसहितको काव्य यसरी अगाडि बढेर समापन भएको छ । यस पुस्तकका लागि काव्यकार केसीलाई बधाई तथा सफलताको शुभकामना । व्यस्त र सक्रिय जीवन शैलीका केसीबाट अझै यस्ता पुस्तकहरू नेपाली साहित्यले पाइरहोस् । हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच