वीरेन्द्रनगरका सडक अपाङ्गमैत्री नबने मुद्दा हाल्ने तयारी

नन्दराम जैशी
Read Time = 10 mins

सुर्खेत । वीरेन्द्रनगरका सडक अपांगमैत्री बनाउनुपर्ने भन्दै कर्णालीका अपांगता भएका व्यक्तिले पटक पटक गुनासो गर्दै आएका छन् । तर सम्बन्धित निकायले हालसम्म पनि गुनासो सम्बोधन नगरेपछि अपांगता भएका व्यक्तिहरुले अब कानुनी प्रक्रिया अपनाउने बताएका छन् ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी मात्रै होइन देशकै एक प्रख्यात सहर पनि हो । तर यहाँका सडकमा अपांगता भएका व्यक्तिहरुलाई हिड्न सकस छ । वीरेन्द्रनगरका सडकहरु अपांगमैत्री नहुँदा यहाँ ओहोरदोहोर गर्ने अपांगता भएका व्यक्तिलाई निकै कठिनाइ भएको हो ।

वीरेन्द्रनगर बजारक्षेत्र हुँदै कर्णालीका मन्त्रीदेखि सांसदसम्म दैनिक ओहोरदोहोर पनि गर्दछन् । चाहे त्यो सवारी साधानमा होस् या पैदल यात्रा । तर यी सडकमा अपांगता नभएका व्यक्तिलाई त हिड्न या सवारी चलाउनु गाह्रो छ, भने अपांगता भएका व्यक्तिहरु कस्तो होला ? मन्त्रीहरुकै ध्यान जाँदैन ।

यसबारे पटक पटक गुनासो गर्दासमेत वीरेन्द्रनगर बजार क्षेत्रका सडक अपांगमैत्री बनाउन पहल नभएको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले आक्रोश व्यक्त गर्नुभयो ।

‘बजारका कुनै पनि सडकमा अपांगता भएका व्यक्तिहरुलाई हिड्न सहज छैन । त्यसैमा झन् दृष्टिविहिन अपांगता भएकालाई जोखिम छ’ उहाँले भन्नुभयो, ‘बजारका सडकमा अपांगता भएका व्यक्तिलाई जेब्राक्रस गर्न, ह्वीलचिय चलाउन संभव नै छैन । त्यसैमा झन् एउटा मुख्य सडकभन्दा सहायक सडकमाथि हुदाँ दाँयाबाँया छिर्न नै मुस्किल छ ।’

यस बिषयमा वीरेन्द्रनगर नगरपालिका र पूर्वाधार विकास निर्देशनालयमा पटक पटक गुनासो गरेपनि माग सुनुवाई नभएको भन्दै उहाँले अब कानुनी प्रक्रिया अपनाउनुको विकल्प नरहेको बताउनुभयो । ‘अनुरोध गर्ने, ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गर्ने काम भए तर सुनुवाई भएन’ उहाँले थप्नुभयो, ‘अब अन्तिम पटक एकचोटी छलफल गर्छौं, त्यसपछि पनि सडकको अवस्था नसुधारीएमा कानुनी प्रक्रिया अनुसार मुद्दा हाल्छौं । अदालतले त न्याय देला नी ?’

बजारका व्यापारीहरुले होडिङबोर्डसमेत सडकमै राख्ने, सडक लेन क्लिअर नहुने, फुटपातमा जादाँ हिड्न सकस जस्ता समस्याको मारमा परेको अध्यक्ष शर्मा बताउनुहुन्छ । यस बिषयमा वीरेन्द्रनगर नगरपालिका र पूर्वाधार निर्देशनालय गम्भिर बन्न उहाँको चेतावनी छ ।

मुख्य बजारकै सडकमा सास्ती

अपांगता भएका व्यक्ति वीरेन्द्रनगरका धर्मराज रावल विभिन्न कामका लागि दैनिकजसो बजार निस्किनुहुन्छ । तर वीरेन्दनगरको मुख्य बजार क्षेत्रकै दायाँ-बायाँ सडकमा उहाँको तीन पांग्रे स्कुटर सजिलै चड्दैन ।

उहाँले भन्नुभयो, ‘मेरो स्कुटर त धकेल्नुपर्छ भने अन्य ह्वीलचिअर प्रयोग गर्ने साथीहरुको हालत के होला ? यी सडकमा ह्वीलचिअर सिधै पल्टिन्छन् ।’

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको मंगलगडी-गणेशचोक मुख्य सडकमा दायाँ-बायाँ सडक छिर्दा धर्मराज जस्तै जो कोही सवारी चालकलाई सकस छ । सडक तल फुटपात माथि हुँदा अपांगता भएका व्यक्तिलाई पसलमा किनमेल गर्नसमेत धौ धौ छ । यती मात्रै होइन सडक भन्दा अग्लो तहमा रहेका दायाँ-बायाँका सबै सहायक सडकमा समेत अपाङ्गता भएका व्यक्तिलाई हिडेरै जान संभव छैन ।

यो सडक गत असारमा खड्का निर्माण सेवा नेपालगंजले सम्झौता अनुसार हतारहतारमा निर्माण गरेको थियो । तर डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाईन नहुदाँ सडक पनि अपाङ्गमैत्री बनेन । यो सडक पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का सम्झौता गरेको हो । सडक निर्माणका लागि १२ करोड ६४ लाख खर्च भएको छ ।

मंगलगडी-गणेशचोक मात्रै नभइ वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गमैत्री छैनन् । त्यसैमा अप्ठ्यारो खालको सडक संरचना र सडकका खाल्डाखुल्डीले झन् अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस पारेको छ ।

पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा अनविज्ञ बन्ने प्रदेश सरकार र नगरपालिकाको कारण आफूहरुलाई अपहेलित महशुस हुने गरेको वीरेन्द्रनगरकी तुल्सी बुढाक्षत्रीको भनाइ छ । ‘हामीजस्ता अल्पदृष्टि भएका व्यक्तिलाई खासै सम्बोधन गरिँदैन । सडक छेउको व्यक्तिले पनि सहयोग गर्दैनन्’ जुम्ला तातोपानीकी रामलक्ष्मी जैशीले भन्नुभयो, ‘हामीसँग सेतो छडी हुँदैन, परको दृश्य, साइनबोर्ड, ट्राफिक लाइट, जेब्राक्रसिङ देखिँदैन । सहयोग माग्दा उल्टै कराएर तर्किएर हिँड्छन् । त्यसैमा झन् सडक संरचना पनि बाधक बनेका छन् ।’

उहाँजस्ता हजारौँ व्यक्रिले सडकमा यात्रा गर्दा पाइला-पाइलामा असुरक्षित महसुस गर्न परेको छ । सडकमा सुरक्षित यात्रा गर्न अन्य व्यक्तिको सहयोग लिनैपर्ने नियति सडकको अव्यवस्थापनले निम्ताएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको ठहर छ ।

सडक सुधार्ने तयारी

वीरेन्द्रनगरमा रिङरोड निर्माण कार्य समेत जारी छ । तर रिङरोडका सडक समेत अपाङ्गमैत्री बनाउन प्रदेश सरकार र नगरपालिका चुकेको देखिन्छ । यसैको एक उदाहरण हो, वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य सडक ।

यो सडक गत असारमा खड्का निर्माण सेवा नेपालगंजले सम्झौता अनुसार हतारहतारमा निर्माण गरेको हो । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर भुपेन्द्र जैसीले अब यो सडक अपांगमैत्री निर्माण गर्न तथा सुधारका लागि कार्यालय तयार रहेको बताउनुहुन्छ ।

‘यो सडक वीरेन्द्रनगर नगरपालिकाले डीपीआर गरेको हो । डीपीआरमै अपाङ्गमैत्रीको डिजाइन रहेनछ । हामी यसलाई फेरी संशोधन गर्दै आवश्यक बजेट छुट्याएर अपाङ्गमैत्री बनाउने तयारीमा थियौँ’ उहाँले भन्नुभयो, ‘तर सम्झौता अनुसार ठेकेदारलाई पनि तत्काल काम गर्नुपर्ने भएकाले र समय पनि छोटो भएकाले हतारहतारमा सडक बन्यो । अब बजेट व्यवस्थापन गर्दै अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल गरी उहाँहरुको राय सुझावका आधारमा सडक सुधार्नेछौं ।’

साथै उहाँले अब बन्ने सबै सडक अपाङ्गमैत्री डिजाइनमा बनाइने बताउनुभयो । यता वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर हरी के.सी ले बजार क्षेत्रका दुई लेन सडकमा धेरै सडक जाम हुने भएकाले पूर्ण अपांगमैत्री बनाउन नसकेपनि आउजाउमा जोखिम नहुने वातावरण बनाउने तयारी भइरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयोे, ‘तत्काल मंगलगडी एरिचोक फोर लेन सडक अपांगमैत्री बनाउने तयारी छ । हामी अब बन्ने सबै संरचना अपांगमैत्री बनाउनेमा केन्द्रित छौं ।’

पहुँचयुक्त भौतिक पूर्वाधार विकास सम्बन्धि एक कार्यक्रममा बोल्दै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हालसम्म बनेका सडक संरचना नागरिक केन्द्रित भन्दा पनि सवारीसाधन केन्द्रित भएको स्विकार गर्दै अपाङ्गमैत्री बनाउन निर्देशन दिनुभएको थियो । तर उहाँको मौखिक निर्देशन पनि निर्देशनमै सिमित छ ।

वीरेन्द्रनगरकै सडकमा प्रर्याप्त रूपमा ट्राफिक संकेत, लाइट र रोड फर्निसिङ पनि छैन । यस्तै सडकमा धेरै खाल्डाखुल्डी पर्छन् । तर सडक समयमै मर्मत हुदैनन् । भने सुरक्षित सडकपेटी पनि छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?