आमाहरु नै जुटे पञ्चेबाजा संरक्षणमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । मगर एकता दिवसको दिन घडीमा ११ बज्नै आँटेको थियो । बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो र्‍याली निस्कियो । त्यो -यालीको बीचमा केही महिला ट्याम्को बजाउँदै थिए । केहीले ढोलकी, केहीले दमाहा त केहीले सनाइँ र झ्याली बजाउँदै हिँडी रहेका थिए ।

र्‍यालीमा झण्डै दुई हजारको हाराहारीमा विभिन्न मगर भेषभूषामा सजिएका बालबालिकादेखि युवायुवती र पाको उमेरका वृद्धवृद्धाहरु पनि थिए । र्‍यालीको बीचमा बजेको बाजाको ताल सुनेर अधिकांश झुम्दै, घुम्दै नाचिरहेका थिए । बागलुङ बजारको मुख्य सडकमा हिँडी रहेको र्‍यालीमा देखिएको महिला पञ्चेबाजा टोलीमा धेरैको नजर तेर्सिएको थियो । पुरुषले बजाउँदै आएको पञ्चेबाजा महिलाले बजाएको देख्दा बागलुङ बजारवासी अचम्मित थिए ।

र्‍यालीमा बाजा बजाउनेको संख्या १० जना थियो । उनीहरु मध्ये अधिकांश अर्धबैसे थिए । हिजोआज पुरुषलेनै बाजा बजाउन छोडेको सन्दर्भमा महिला आमा समूहले बाजा बजाउन थाल्दा धेरैलाई अनौठो लाग्नु स्वभाविकनै हो ।

गाउँ टोलमा बाजा बजाउने प्रचलन घट्दै गएपछि मौलिक संस्कृति जगेर्नाका लागि बागलुङ बजार स्थित देउरालीचोकी आमा समूहले पञ्चेबाजा बजाउन थालेका हुन् । विवाह, ब्रतबन्ध र सार्वजनिक कार्यक्रममा मौलिक बाजाको सट्टा रेकर्डेड गीत बजाउन थालेपछि पुर्खौँदेखि बजाइँदै आएको पञ्चेबाजा लोप हुने स्थितमा पुगेका छन् । पहिले बागलुङका ग्रामीण क्षेत्रमा व्यापक मात्रामा पञ्चेबाजा बज्ने गरे पनि पहिलेको जस्तो प्रचलनमा छैनन् ।

खास गरि परियार समुदायले बजाउने पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । परियारसँगै मगर सामुदायका युवा पनि विदेश पलायन भएपछि बाजा बजाउने जनशक्ति अभाव हुन थालेको हो ।

जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो । मगर महिलाहरु एकताबद्ध भएर बाजा संरक्षण गर्न थालेको उहाँको भनाइ छ । पहिले गाउँमा प्रसस्त बाजा बजाउने टोलीहरु भेटिने गरे पनि आजभोली कोही पाइन छोडेपछि महिलालेनै यसको संरक्षण गर्नु पर्छ भनेर लागेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “सबै युवाहरु विदेश गए, बाजा बजाउने होकी छैनन्, गाउँ घरमा, बजारमा कसेको बिहे हुँदा, छैटी, भातखुवाई र ब्रतबन्ध हुँदा बाजा बज्नै छोडे, त्यही भएर हामी महिला दिदीबहिनीहरु मिलेर पञ्चेबाजा संरक्षण गर्नु पर्छ भनेर लागेका छौँ, अब आमा समूहले बाजा संरक्षण नगरेर मौलिक संस्कृति हराउने भयो, त्यही भएर हामीहरु जुटेका छौँ, धेरैले राम्रो गर्नु भयो भनेर हौसला पनि दिनुहुन्छ, हाम्रो आमा समूहमा ५० जनाभन्दा धेरै महिला दिदीबहिनी छौँ, सबैले सिक्ने र बजाउने गर्न थालेका छौँ, गत भदौबाट बाजा बजाउन सुरु गरेका हौँ ।”

ADVERTISEMENT

बाजा समूहमा कला श्रीस ढोलक बजाउनुहुन्छ । सुरुमा भकुण्डे मगर पञ्चेबाजा समूहबाट आफूहरुले सिकेको सुनाउँदै एक लाख ५० हजारमा म्याग्दीबाट बाजा सेट खरिद गरेर अहिले व्यवसायिक रुपमा बजाउन थालेको श्रीसले बताउनुभयो । कला प्रद्र्धनश गर्न लाज मान्न नहुने भन्दै बाजा कुनै जात, समुदायले मात्रै नभई कला भएको जुनसुकै जातिले बजाउन सकिने उहाँको भनाइ छ । सुरुको केही महिना आफूहरुलाई सिक्नै लागेको र अहिले बाजा बजाउने माग आई रहेको श्रीसले बताउनुभयो ।

“कसैले लाज मान्नु हुँदैन, चोर्न, लुट्न र ढाट्न पो लाज मान्ने, आफ्नो कला देखाउन कोही पनि हिचकिचाउनु हुँदैन, हामीहरुले अहिले पनि बाजा बजाउन सिक्दै छौँ, बजाउने ठाउँमा जान्छौँ, पोखरा, चितवनसम्म पुग्यो विवाहको बाजा बजाउन,” श्रीसले भन्नुभयो, “बागलुङ नगरपालिकाले पनि राम्रो सहयोग ग¥यो, नगरपालिकाले एक लाख पचास हजार दिएपछि बाजा किन्यौँ, किन्नभन्दा सिक्न धेरै खर्च लाग्दो रहेछ, अहिले धेरै दिदीबहिनीहरुले सिकि सकेका छौँ, अब खास्सै समस्या छैन ।”

त्यो बाजा समूहमा बसुन्दरी थापाले सनाइँ बजाउनुहुन्छ । बाजाभन्दा सनाइँ बजाउन केही कठिन हुने भए पनि थापाले निकै लयात्मक तरिकाले बजाउने गर्नु हुन्छ । सानैदेखि बाँसुरी र सनाइँ बजाउन चासो दिने थापाले आफूलाई सिक्नका लागि धेरै समय नलागेको बताउनुभयो । जुनसुकै गीतमा पनि सनाइँ बजाउन सक्ने थापाले दाबी गर्नुहुन्छ । बाजा बजाएर राम्रो आम्दानीसमेत हुने गरेको उहाँले बताउनुभयो । एउटा विवाहबाट ३० देखि ४० हजार रुपैयाँसम्म लिने गरेको उहाँको भनाइ छ । आम्दानी भएको रकम केही महिला समूहमा राख्ने र केही आफूहरुले बाँड्ने गरेको थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “बजा बजाउने पुरुष पाइन छोडे, हाम्रै घरका छोराहरु पनि विदेश जान थाले, छोरा मान्छेहरु विदेश जान थालेपछि बाजा कसले बजाउने ?, त्यही भएर हामीहरु लागेका छौँ, आम्दानी पनि हुने भयो, परम्परा पनि जोखिने भयो, सुरुमा केही गाह्रो हुन्थ्यो तर अहिले खास्सै समस्या छैन, नयाँलाई सिकाउन पनि सकिन्छ, यो पेसामा पैसा पनि छ, संरक्षण गर्न जरुरी हुँदा सुरुमा पैसाभन्दा पनि परम्परालाई जोगाउँ भन्ने हिसाबले लागेका हौँ ।”

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले महिलाहरुमा इच्छा शक्ति भएपछि जुनसुकै काम गर्न सक्ने बताउनुभयो । महिला आमा समूहले बाजा बजाउन तदारुकता देखाएपछि नगरपालिकाले बाजा खरिदका लागि सहयोग गरेको भन्दै उहाँहरुलाई थप सहयोग गर्ने श्रेष्ठले बताउनुभयो । पहिले एउटा जातिले बजाउने बाजा पछिल्लो समय अन्य समुदायले पनि बजाउन थालेको र महिलाहरुले पनि बजाउनु अनुकरणिय भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

“कुनै बेला दलित समुदायको परियार जातिका पुरुषहरुले मात्रै बजाउने बाजा अन्य समुदाय हुँदै अहिले महिला दिदीबहिनीहरुले पनि बजाउन थाल्नु भएको छ, महिलाहरुले इच्छा शक्ति भयो भने सबै काम गर्न सक्छन्,” प्रमुख श्रेष्ठले भन्नुभयो,  “जागरुक महिलाहरुले प्रशिक्षण लिएर बजाउन सक्ने हुनु भएको छ, बागलुङमा थप एउटा संस्कृतिको विकास भएको छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ उहाँहरुलाई थप सक्रिय बनाउनका लागि बागलुङ नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने छ, आवश्यक जनशक्ति तयार भएर ठाउँठाउँमा बजाउन जाने र आम्दानी पनि गर्न थाल्नु भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?