पाँच मोटरेवल पुल निर्माण अन्तिम चरणमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । वर्षौदेखि निर्माणाधिन रहेका पाँच मोटरेवल पुल यस वर्ष सम्पन्न हुने भएका छन् । संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङमार्फत संचालनमा रहेका पाँच वटा पुलका योजना करिब अन्तिम चरणमा छन् । बागलुङ र म्याग्दी जिल्लाको विभिन्न खोलामा बन्दै गरेका पुल जसरी पनि सक्ने धुनमा सडक डिभिजन कार्यालय बागलुङ छ । जैमिनी नगरपालिका नगरपालिका-१ जैमिनीघाटदेखि पर्वतको फलेबास नगरपालिका-६ जोड्ने गरि कालीगण्डकी नदिमाथि मोटरेवल पुल बन्न थालेको सात वर्ष बढी भयो । तर हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

दुई जिल्ला जोड्ने पुल वि.सं. २०७३ असोज ९ गते सम्झौता भएर काम सुरु भएको थियो । तर निर्माण कम्पनीले निरन्तर काम नगर्दा अहिलेसम्म काम सकिएको छ । हाल कामदार लगाएर धमाधम गरि काम रहेको छ । १३ करोड १२ लाख ४९ हजार ३६४ लागतमा बन्दै गरेको यो पुल हालसम्म ८० प्रतिशत काम गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । सम्झौता भए अनुसार २०७५ चैत ९ मा सक्नु पर्ने थियो तर पाँच पटक म्याद थप गर्दासम्म पुल सम्पन्न नगरेको अधिकारीको भनाइ छ । असार मसान्तसम्म म्याद रहेको हुँदा सरासर काम गरे सकिने स्थिती रहेको उहाँले बताउनुभयो । पुल निर्माणका लागि र सुवा श्रीगित÷फेवा जेभीले जिम्मा लिएको थियो ।

बागलुङकै बडिगाड गाउँपालिका-७ को कालीरहदेखि मालारानी जोड्ने गरि बडिगाडखोलामा पुल निर्माण सुरु भएको तीन वर्ष बढी भयो । वि.सं. २०७९ फागुन २७ सम्म सक्ने गरि वि.सं. २०७७ कार्तिक २७ मा सम्झौता भएको थियो । सात करोड ६५ लाख ९९ हजार ६१२ लागतमा निर्माण भइरहेको उक्त पुलको काम ७५ प्रतिशत भएको उहाँको भनाइ छ । रायामाझी/राजेश्वरी/पिटीआर अधिकारी जेभीले जिम्मा लिएको उक्त पुल पहिलो पटक म्याद थप गरेर काम तीव्र रुपमा गरेको सूचना अधिकारी इन्जिनियर अधिकारीले जानकारी दिनभयो । यस पुलको काम पनि असार मसान्तमै सकिने छ ।

जिल्लाको तमानखोला गाउँपालिका-२ स्थित बोङ्गाखोलामा पुल निर्माण सुरु भएको तीन वर्ष बढी भयो । निर्माण कम्पनीले लामो समय पुलको काम नगर्दा केही समय अलपत्र परेको थियो । हाल पेटी ठेकेदारमार्फत काम भइरहेको छ । वि.सं. २०७७ पुस ६ गते सम्झौता गरि २०७९ पुससम्म सम्पन्न गर्ने भनिए पनि आधा मात्रै काम गरेको हुँदा अघिल्लो वर्ष पहिलो पटक म्याद थप गरेको उहाँको भनाइ छ । दुई करोड ७१ लाख २७ हजार ९६४ रुपैयाँ लागतमा बन्दै गरेको उक्त पुल हालसम्म ७० प्रतिशत मात्रै काम सकिएको अधिकारीले बताउनुभयो । पुल निर्माणको जिम्मा कान्तिपथ कन्स्ट्रक्सनलाई असार मसान्तसम्म काम गर्ने समय दिइएको छ ।

म्याग्दीको सिंगा तातोपानी स्थित म्याग्दीखोलामा निर्माण भइरहेको पुल कम्पनीले पटक पटक म्याद थप गर्दा अहिले निर्माणको अन्तिम चरणमा रहेको छ । वि.सं. २०७५ जेठ २५ गते सम्झौता भएर काम सुरु भएको उक्त पुल निर्माणका लागि ठेकेदारले पाँच पटक म्याद थप गरेको सडक डभिजिन कार्यालय बागलुङले जनाएको छ । निर्माण कम्पनीले २०७७ जेठ २५ मा सक्ने गरि सम्झौता भए पनि पाँच पटक म्याद थपेर पुलको काम अन्तिम चरणमा पु¥याएको उहाँको भनाइ छ । पुल १० करोड ७२ लाख १२ हजार ३०३ रुपैयाँ लागतमा निर्माण भइरहेको छ । लुम्बिनी÷प्राकृतिक जेभीले यसको जिम्मा लिएको थियो ।

म्याग्दीको अर्मनमा स्थित म्याग्दीखोलामा वि.सं. २०७५ पुस २५ गते सम्झौता गरि पुलको काम अगाडि बढाइएको थियो । वि.सं. २०७७ पुस २५ सकिनु पर्ने पुल चौथो पटक म्याद थप गरेर हाल अन्तिम चरणको काम भइरहेको इन्जिनियर अमर अधिकारी बताउनुहुन्छ । ११ करोड २४ लाख २५ हजार ५२ रुपैयाँको लागतमा बन्न थालेको पुल लुम्बिनी/प्राकृतिक जेभीले जिम्मा लिएको थियो । सबै पुल एकै पटक सम्पन्न गर्नु पर्ने बाध्यता हरे पनि पर्याप्त बजेट नभएको उहाँले बताउनुभयो ।

इन्जिनियर अधिकारीले भन्नुभयो - “निर्माण कम्पनीलाई असार मसान्तसम्म काम सक्न ताकेता गरि रहका छौँ, पर्याप्त बजेट छैन, आंशिक मात्रै छ, बजेट आयो भने असार मसान्तमा सबै पुल निर्माण भई सक्छन्, केही वर्ष अगाडिनै सकिनु पर्ने पुल यस वर्ष बल्ल अन्तिम चरण्मा पुगेका छन्, पाँच वटै पुल असार मसान्त अगावै संचालनमा आउने अपेक्षा गरेका छौँ, निर्माण कम्पनीहरुले पनि सोही अनुसार धमाधम काम गरि रहेका छन् ।”

जैमिनी घाटमा बन्न थालेको पुललाई निर्माण कम्पनीले बेवास्ता गर्दा समयमै सम्पन्न हुन नसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । पुल नबन्दा बागलुङको दक्षिण भेग र पर्वतका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ । नगरपालिकाले निरन्तर दबाव दिएपछि अहिले धमाधम काम गरि रहेको उहाँ बताउनुहुन्छ । पुल बनेपछि स्थानीयलाई वारपार गर्नुका साथै दुई जिल्लामा व्यापारका हिसाबले सहज हुने शर्माले बताउनुभयो ।

“यतिका समयसम्म पुल बन्न नसक्नु लापरबाही हो, विकासका लागि राज्यले करोडौँ खर्च गरेको छ, तर कहिलेकाहीँ निर्माण व्यवसायीहरुले काम नगर्दा नागरिकले विकासको अनुभूति गर्न नपाउने अवस्था हुन्छ,” उपप्रमुख शर्माले भन्नुभयो - “यो वर्ष भित्रै पुल बन्ने छनक देखिएको छ, बन्यो भने बागलुङ र पर्वत दुवै जिल्लावासीलाई सहज हुने छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?