काठमाडौं । ६ वर्षे कार्यकाल पूरा गरेर अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज (आइतबार) राष्ट्रिय सभाबाट बिदा हुँदै हुनुहुन्छ । उहाँँसँगै २० सांसदको पदावधि पनि आज सकिँदै छ । त्यसको स्थानमा १९ सदस्य निर्वाचित भएर पनि आइसकेका छन् भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ । फागुन २१ गते (सोमबार) नवनिर्वाचित सदस्यहरूको शपथको कार्यक्रम राखिएको छ । माघ ११ मा सम्पन्न चुनावको नतिजा आइसकेपछि राष्ट्रिय सभाको शक्ति सन्तुलन परिवर्तन भएको छ । १८ सदस्यसहित माओवादी पहिलो शक्ति बनेको छ ।
माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहँदै छ । हाल राष्ट्रिय सभामा कांग्रेसका १० सदस्य छन् । माघ ११ गते कांग्रेसबाट १० सदस्य निर्वाचित भएका थिए । चार सदस्य आजदेखि बिदा हुँदै छन् । अब राष्ट्रिय सभामा कांग्रेस १६ सदस्यसहित दोस्रो ठूलो दलको भएको छ । यस्तै, एमाले तेस्रो ठूलो दल भएको छ । हाल एमालेका १७ सदस्य रहेकोमा आजबाट आठ सदस्य बिदा हुँदै छन् । गत राष्ट्रियसभा निर्वाचनमा एकजना उम्मेदवार विजयी भएकाले अब एमालेले १० सदस्यसहित प्रतिनिधित्व गर्नेछ । यता, नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । हाल यो दलबाट राष्ट्रिय सभामा आठजना सदस्य छन् । आजदेखि दुई सदस्य बिदा हुँदै छन् भने दुई सदस्य निर्वाचित भएर प्रवेश गर्दै छन् । यस्तै, जनता समाजवादी पार्टीबाट एक सदस्य बिदा हुँदै छन् भने एक सदस्य निर्वाचित भएर प्रवेश गर्ने भएको संख्या फेरबदल भएको छैन । यता, लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य भने यथावत् रहेका छन् ।
बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुनुहुन्छ । कांग्रेसका चार सांसदहरूमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।
यता, नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।
यी हुन् राष्ट्रिय सभामा प्रवेश गर्ने सांसदहरू
फागुन २१ गतेबाट नेपाली कांग्रेसबाट १० सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रिय सभामा जाँदै छन् । माओवादी केन्द्रबाट पाँच सदस्य श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द राष्ट्रिय सभामा प्रवेश गर्दै छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट दुई सदस्य घनश्याम रिजाल, सावित्री मल्ल, नेकपा एमालेबाट रुकमिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभामा जाँदै छन् । उनीहरूका लागि फागुन २१ गते बिहान नयाँ बानेश्वरमा शपथग्रहणको कार्यक्रम राखिएको छ ।
२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । निर्वाचनपछि राष्ट्रिय सभाका ५९ सदस्यहरूको कार्यावधि गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको दुई वर्ष, चार वर्ष र ६ वर्ष गरी तीन प्रकारको कार्यकाल तय गरिएको थियो । दुई र चार वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आइतबारदेखि बिदाइ हुन लागेको हो । उनीहरूको बिदाइका लागि संघीय संसद् सचिवालयले आइतबार साँझ बिदाइ कार्यक्रम राखेको सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
निर्वाचित भएर आएका सदस्यहरूलाई स्वागत र पदावधि सकिएका सदस्यलाई बिदाइ कार्यक्रम राखिएको छ । बिदाइ हुने राष्ट्रियसभा सदस्यलाई उनीहरूको कार्यकालमा उनीहरूले संसद्मा बोलेका कुराहरूको लिखित पुस्तकसमेत प्रदान गरिने धमलाले जानकारी दिनुभयो ।
अध्यक्ष नछाड्ने मुडमा माओवादी
राष्ट्रिय सभाको सदस्यको रूपमा गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएसँगै राष्ट्रियसभा अध्यक्षको पद पनि रिक्त हुँदै छ । सो पदमा कांग्रेस र माओवादी केन्द्र दुवैले आँखा लगाएपछि तीमध्ये कुन पार्टीले पद हत्याउला भन्ने चासो पनि बढेको छ । फागुनमा रिक्त हुने राष्ट्रिय सभाका एकतिहाइ पदपूर्तिका लागि माघमा निर्वाचन हुँदा नै कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई आगामी अध्यक्षको रूपमा चर्चा गरिएको थियो । गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रबीच सिटौलालाई अध्यक्ष बनाइने भद्र सहमतिसमेत भइसकेको भनेर कांग्रेस नेताहरूले दाबी गर्ने गरेका छन् । तर, पछिल्ला दिनमा माओवादी केन्द्रले नै सो पदमा दाबी गर्न थालेको छ । माओवादी केन्द्रका नेताहरूले त्यस किसिमको भद्र सहमतिसमेत नभएको बताउने गरेका छन् । बुधबार समाप्त भएको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यक्ष आफूहरूले उम्मेदवारी दिने निर्णय गरेको सार्वजनिक भएको थियो । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभएको थियो, ‘हाम्रो तर्फबाट पनि उम्मेदवारी दिने भनेर निर्णय भएको छ ।’
पहिलो दल भएकाले आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्ष दाबी गरेको माओवादी स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । ‘राष्ट्रिय सभामा फागुन २० पछि हामी सबैभन्दा ठूलो दल बन्दै छौँ, यसले अध्यक्ष दाबी गर्ने आधार बलियो बन्यो,’ पाण्डेले भन्नुभयो, ‘त्यसका लागि हाम्रा सिनियर नेता सदस्य चुनिइसक्नु भएको पनि छ ।’ आलोपालो प्रधानमन्त्री बन्ने पूर्वसहमति पालना हुनेबित्तिकै संवैधानिक परिषद्मा माओवादी शून्य हुने भएकोले राष्ट्रिय सभाको अध्यक्ष पद अन्य दललाई छाड्न नहुने सुझाव पनि पार्टी भित्रबाट नेतृत्वसम्म पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच