![शहीदनगरका तत्कालीन मेयरसहित ९ जनाविरुद्ध मुद्दा दायर](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/akhtiyar.jpeg)
काठमाडौं । सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको मनमुटाव झन्झन् बढ्दै गएको छ । पर्दाभित्र जे–जस्ता कारण भए पनि कांग्रेस र माओवादीबीच मुख्यगरी आसन्न राष्ट्रियसभा अध्यक्ष पदका विषयमा विवाद देखिएको हो । राष्ट्रिय सभाको चुनावअघि सत्ता गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने राजनीतिक सहमति भएको बताइएको थियो । तर, राष्ट्रियसभा चुनावमा कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि दुई दलबीच तनाव सुरु भएको हो । माओवादीकै नेताहरूका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कांग्रेसलाई वचन दिइसक्नु भएको थियो । गठबन्धन बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सिटौलालाई अध्यक्ष बनाउने भद्र सहमति भएको पटक-पटक सार्वजनिक गर्नुभएको छ । सहमतिविपरीत नेकपा माओवादी केन्द्रको गत साता सम्पन्न स्थायी कमिटी बैठकले आसन्न राष्ट्रियसभा सदस्य चुनावमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने औपचारिक निर्णय गरेपछि दुई दलबीच विवाद बढेको हो । कांग्रेस र माओवादी बीचको विवादले सत्ता गठबन्धन नै धरापमा पर्ने आशंका गर्न थालिएको छ ।
कांग्रेस र माओवादीबीच दूरी बढिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने च्याँखे दाउ हेरिरहेको छ । २०७९ साल मंसिरमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर चुनावमा गएका थिए । तर, सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले पूर्व-सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि गठबन्धन टुटेको थियो । कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न पुग्नुभएको थियो । नयाँ गठबन्धनबाट गत पुस १० गते नेकपा एमालेसहितका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर, राष्ट्रपति निर्वाचनको मुखमा पुनः समीकरण परिवर्तन भयो । एमालेसँगको सत्ता सहकार्य तोडेर प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग सहकार्य गर्न पुग्नुभयो । तर, राष्ट्रपतिको निर्वाचनले जुटाएको गठबन्धन फागुन २९ गते हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पुग्दा टुट्न सक्ने चर्चा हुन थालेको छ । राष्ट्रपति निर्वाचनताका जोडिएको गठबन्धन टुटाउन नेकपा एमाले विगतदेखि निरन्तर लागिपरेको छ । यो अवधिमा एमालेले गठबन्धन तोड्न विभिन्न अस्त्र प्रयोग गरे पनि सफल हुन सकेको छैन ।
गठबन्धन तोड्ने निर्णायक अस्त्रको रूपमा एमालेले राष्ट्रियसभा अध्यक्ष पदलाई लिएको छ । कांग्रेस-माओवादीको गठबन्धन टुटाउन नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू केही समयदेखि माओवादी केन्द्रका नेताहरूसँग निरन्तर सम्वादमा रहेका छन् । प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला दिनहरूमा बाक्लो भेटघाट भइरहेको छ । एमालेका कतिपय नेताहरू भने राष्ट्रिय सभाको अध्यक्ष पदमा पार्टीको कुनै चासो नरहेको दाबी गर्दै आएका छन् । तर, कांग्रेस र माओवादीबीच दूरी बढिरहेको बेलामा एमालेले पनि ढोक्सा थापिरहेको राजनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले कार्ड अहिले माओवादीले कांग्रेसलाई तर्साउन मात्रै प्रयोग गरेको जस्तो देखिएको टिप्पणी गर्नुभएको छ ।
आइपर्यो भने २०८४ अगावै अस्थायी प्रबन्धमा जान सक्छौँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको मुख्य ध्यान मिसन २०८४ मा भए पनि परिआए अस्थायी प्रबन्धमा जानसक्ने बताउनुभएको छ । त्यस्तो अस्थायी प्रबन्धबारे ओलीले प्रष्ट नबोले पनि सरकारको नेतृत्व या सरकारमा सहभागी हुनसक्ने उहाँको भनाइको आशय छ । देशको आर्थिक अवस्थाबारे आइतबार काठमाडौंमा विज्ञहरूसँग गरेको छलफलमा अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले मिसन ०८४ आफैँ निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकसित हुन लाग्छौँ । हामी राष्ट्रिय शक्ति बनेर मात्र देशलाई सही बाटोमा निकास दिन सकिन्छ । यसको अर्थ आइप¥यो भने अस्थायी प्रबन्धमा जाँदै जाँदैनौँ भन्ने कुरा होइन, आइप¥यो भने पनि जान सक्छौँ । तर, भरसक आफ्नो शक्ति निर्णायक तहमा विकास गर्नुपर्छ भन्ने विश्वास गर्छौं । त्यसका निम्ति एकताबद्ध प्रयास र समझदारी आवश्यक छ ।’
‘यो सरकार कसैले बनाइदिएर टिकाएको हो’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकार कसैले बनाइदिएर टिकाएको आरोपसमेत लगाउनुभएको छ । सरकारले शक्ति पृथकीकरणको सिद्धान्तसमेत बुझ्न नसकेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरण सिद्धान्त नै नबुझेको सरकार छ । यो सरकार बन्नु नै नहुने सरकार थियो । सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएको हो ।’ पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार आफैँ अधिनायकवादी र तानाशाह रहेको समेत आरोप लगाउनुभयो ।
कांग्रेसले निजी क्षेत्रलाई सिध्याएको आरोप
अध्यक्ष ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाउनुभएको छ । कांग्रेसले नेपालमा भएका उद्योगहरूलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो । हामीकहाँ दुई÷ चारवटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो, निजी क्षेत्रलाई पनि सिध्याइदियो ।’
सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्तारूढ गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गर्नुभएको छ । गठबन्धनभित्र आफूहरूले तमासा भइरहेको देखेको टिप्पणी गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘गठबन्धन भित्रका तमासाहरू हामी देखिरहेका छौँ । त्यो कुन रूपमा विकसित हुन्छ हेरिरहेका छौँ । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ । यो गठबन्धन आफैँभित्रका समस्याहरूले, अन्तरविरोधले धर्मराइरहेको छ । कुनै पनि बेला टुट्न सक्छ ।’ उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नु आवश्यक रहेको दाबी गर्नुभयो । तर, गठबन्धन फुटाउन एमालेले चासो नदिएको जिकिर गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘सत्ता गठबन्धनको के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न ।’
राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी यथावत् : सापकोटा
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी यथावत् रहेको बताएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको अडानमा कुनै फेरबदल नभएको बताउनुभएको हो । माओवादीको फागुन १६ गते बसेको बैठकले अध्यक्षमा छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको स्मरण गर्दै सापकोटाले भन्नुभयो, ‘यसमा थप भन्नुपर्ने अवस्था छैन । पार्टीले जे निर्णय गर्यो । त्यही लाइन हो । केही फेरबदल भएको छैन ।’ मन्त्रिपरिषद् फेरबदलको विषयमा छलफल भइरहेको र केही दिनमा परिणाम आउन सक्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच