प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरुले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने उहाँले जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रश्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समिकरण बनाउनुको कारणबारे दिएको स्पष्टिकरण चित्तबुझ्दो भएको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रश्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्‍यो भन्ने कारण । र अब उहाँ के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरु सविस्तार बताउनु भयो । र कुराहरु, कारणहरु चित्तबुझ्दो छ । म समर्थनबाटै शुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रश्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’

ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताउनु भयो ।

सत्ता गठबन्धन परिवर्तन गर्ने मुख्य पात्र प्रचण्ड र साथ दिने म पनि हो

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नयाँ सत्ता समिकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताउनुभएको हो । नयाँ सत्ता समिकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री प्रचण्ड भएको र साथ दिने आफू पनि रहेको अध्यक्ष ओलीको दाबी थियो । उहाँले नयाँ सत्ता समिकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस । राम्रो जति सबै आफैले गरेको । अरुलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरु । हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले ग¥यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाईलाई जस पनि हुन्छ नि अलिकति ।’

अध्यक्ष ओलीले राम्रो कामको जस काँग्रेस एक्लैले लिने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?