काठमाडौं । सुन तस्करीको प्रकरणको छानबिन गर्न गठित उच्च्स्तरीय छानबिन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै विभिन्न उच्च पदस्थ अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
स्रोतका अनुसार प्रतिवेदनले पूर्व सभामुख कृष्णबहादुर महरा, सीआईबी प्रमुख किरण बज्राचार्य, सह–सहिचव झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापा, विमानस्थल भन्सार प्रमुखसहितलाई कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।
त्यस्तै छानबिन आयोगले सीआईबीकी प्रमुख एआईजी किरण बज्रचार्यमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ । उनले सीआईबीको नेतृत्वमा रहँदा सुन तस्करी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिएको छानबिन समितिको ठहर रहेको छ ।
सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त जीवन चलाउनेलाई भगाएको आरोपमा उनीहरूलाई विभागीय कारबाही सिफासिस भएको हो । ब्युरोमा उपस्थित गराएर छोडेका कारण उनीहरूमाथि यस्तो सिफारिस भएको हो ।
त्यस्तै छानबिन समितिले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको छ । गत वर्षको पुसमा विद्युतिय चुरोट (भेप) मार्फत ९ किलो भन्दा धेरै सुन तस्करी गरेर नेपाल भित्र्याएको प्रकरणमा महराको नाम मुछिएको थियो । महराका छोरा राहुल यस प्रकरणमा गत भदौदेखि थुनामा रहेका छन् ।
त्यस्तै छानबिन आयोगले पूर्व आईजीपी तथा नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारीक साझेदार सुबु केसी, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीद्धय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।
छानबिन आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाहीको सिफारिस भएको छ ।
सीआईबी प्रमुख बज्राचार्यलाई विभागीय कारवाही
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि जिम्मेवारीबाट हटाउने तयारी गरेको स्रोतले बतायो ।
बज्राचार्यलाई अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेको पुष्टि भएकाले विभागीय कारवाहीको सिफारिस समेत भइसकेको स्रोतले बतायो ।
सुन तस्करी अनुसन्धानमा सीआईबीको भूमिकामा प्रश्न उठाउँदै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले छानबिन आयोग गठनको लागि सदन अवरोध गरेर दबाब दिएको थियो । छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरवाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो ।
ब्यूरोले सुनकाण्डका आरोपी जीवन चलाउनेलाई कार्यालयमा हाजिर गराएर पनि कागज मात्र गराएर छाडेको आयोगले फेला पारेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ ।
सुनको तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उहाँको सचिवालय स्रोतले जनाएको छ ।
एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणको प्रतिवेदन बुझेकै दिन आज मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो ।
सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
स्रोतका अनुसार उक्त प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ । यस्तै यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानमा त्रुटि गरेको समेत औँल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच