![आर्थिक सर्वेक्षण २०८१](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Ministry-of-Finance.jpg)
काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा संसदीय छानविनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ । संसद्मा सत्तापक्ष पेलेर जान खोजेपछि कांग्रेस सडकमा उत्रिएको हो । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानविनको माग गरिरहेको छ । कांग्रेसले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । कांग्रेसनिकट भ्रातृ संगठनको प्रदर्शनमा नेताहरू पनि मिसिएका थिए । विद्यार्थी, महिला लगायतको भ्रातृ संगठनको प्रदर्शनमा कांग्रेस नेताहरू पनि मिसिएका हुन् ।
संसद् बैठक सकिएलगत्तै संगठनको प्रदर्शनमा राष्ट्रियसभा सदस्य कृष्ण सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक, सांसद रामहरि खतिवडा, एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ, उदयशमशेर राणालगायत प्रदर्शनमा सहभागी हुनुभएको थियो ।
प्रदर्शनकारीले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायत विषयमा छानविन गर्नुपर्ने माग सहितको प्लेकार्ड बोकेका थिए । सदनमा विरोध गरिरहेको कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री लामिछानेविरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।
सहकारी ठगीमा गृहमन्त्री लामिछाने नै संलग्न रहेको दाबी कांग्रेसको छ । गत फागुनमा गठबन्धन फेरिएदेखि सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानविन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ । सत्तापक्षले भने कांग्रेसको अवरोधकै बीच पेलेरै संसद् अगाडि बढाइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तापक्षका नेताहरू संसदीय छानविन समिति गठनका लागि तयार देखिए पनि कार्यादेशमा लामिछानेको नाम लेख्ने कि नलेख्नेमा सत्ता र प्रतिपक्षी कांग्रेसबीच कुरा मिल्न सकेको छैन । कांग्रेसले गृहमन्त्री लामिछानेको नाम पनि संसदीय छानविन समितिको कार्यादेशमा लेख्नुपर्ने अडान राखेको छ ।
सरकारले शाही सरकारको पालाभन्दा बढी निरंकुश चरित्र देखायो : थापा
कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारले शाही सरकारको पालामा भन्दा बढी निरंकुश चरित्र देखाएको आरोप लगाउनुभएको छ । आइतबार पार्टीनिकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सरकारको काम निरंकुशताउन्मुख रहेको बताउनुभयो । सरकारको अनुदारवादी रवैयाविरुद्ध अब सबैले बोल्ने बेला आएको उहाँले बताउनुभयो । ‘यो गठजोड सत्ताको निरंकुशताउन्मुख रवैया छ । अनुदारवादी रवैया छ । अब सबैले बोल्ने बेला आयो । उहाँहरूलाई ठीक ठाउँमा उभ्याउने बेला आयो,’ उहाँले भन्नुभयो, ‘अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ । हामीले पूर्वराजा ज्ञानेन्द्रको छोटो शासनमा भोग्यौँ । सञ्चार माध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास त्यो बेलामा पनि यत्ति भएको थिएन ।’
थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । उहाँले यसलाई सञ्चार माध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रूपमा चित्रण गर्नुभयो । ‘कुनै पनि व्यक्तिको व्यावसायिक र निजी जीवनको जवाफदेही निज आफैँ हुनुपर्छ । कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन । यो कुनै मिडियासँग जोडिएको विषय होइन । मान्छे म¥यो भन्ने होइन कि काल पल्कियो भन्ने हो,’ उहाँले भन्नुभयो, ‘यो भोलि तपाईंकहाँ पनि आइपुग्छ । केही समयपछि सत्ताले भनेको विषयवस्तुलाई चाहेको जसरी प्रश्न गर्नुभयो भने कानुन बनाएर नियन्त्रण हुनसक्छ । प्रेसले प्रश्न उठाउन छोड्यो भने त सकियो । कन्टेन्टमाथि सत्ताले कन्ट्रोल गर्ने प्रयास गरेको छ अहिले ।’
ओली कामचलाउ संसदीय समिति बनाउन चाहन्छन् : शर्मा
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानविन समिति बनाउन चाहेको दाबी गर्नुभएको छ । काठमाडौंको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन ओलीले चाहेको बताउनुभयो । सहकारी ठगीमा संसदीय छानविन समिति गठन नचाहनुको चार कारण रहेको उहाँको भनाइ थियो । ‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘एमालेका कैयौँ साथीहरू सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनु भएको छ ।’ शर्माले दुईवटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुईवटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानविनको माग गर्नुभयो ।
सरकारले पेलेरै जान चाहेको हो भने हामी प्रतिकार गर्न तयार छौँ : सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बदलाको भावनामा गएको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय राखेर पक्राउ गरिएको बताउनुभयो । गृहमन्त्रीलाई झोक चलेर सिरोहियाविरुद्ध आफ्नै कार्यकर्ता पठाएर मुद्दा हाल्न लगाएको उहाँको भनाइ थियो । ‘सहकारी ठगीको विषयमा समाचार लेखेको लेख्यै ग¥यो । कान्तिपुरका कैलाश सिरोहियालाई पक्राउ परेर थुनामा हुनुहुन्छ । पक्राउ गर्ने तरिका, पक्रेको तरिका, लगेको तरिका, थुनामा राखेको तरिकाको मूल्यांकन मैले गरेको छु,’ उहाँले भन्नुभयो, ‘दुराशयबाहेक केही छैन । गृहमन्त्रीलाई झोक चल्यो । आफ्नै कार्यकर्ता पठाएर मुद्दा हाल्न लगाउनुभयो ।’ प्रहरीले सिरोहियालाई पक्राउ गर्न पाऊँ भनेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको उहाँले बताउनुभयो । ‘यस्तो केसमा अदालतको आदेशले पक्राउ गरियो भन्न मिल्दैन । कानुनको दुराशयपूर्ण तरिकाले प्रयोग गरिनु हुँदैन । यस्तो गर्दा कहाँ जान्छ लोकतन्त्र ? प्रेसको मुख बन्द गर्नु भनेको जनताको आवाज बन्द गर्नु हो । सरकार बदलाको भावनामा गयो । बदला लोकतन्त्रको विपरीत कुरा हो । दुराशयले लोकतन्त्रलाई नष्ट गर्छ,’ सिटौलाले भन्नुभयो ।
प्रतिपक्षले सहकारी ठगीबारे संसद्मा जनताको आवाज बुलन्द गरिरहेको उहाँले बताउनुभयो । गृहमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर असंसदीय कुरा बोलेको सिटौलाको भनाइ थियो । ‘संसदीय व्यवस्थामा सत्ताले जनताको हितमा काम गर्ने हो । प्रतिपक्षले जनताको हितमा काम गर है भनेर भन्ने हो,’ उहाँले भन्नुभयो, ‘प्रतिपक्षले सहकारी बचतकर्तामाथि अन्याय भयो । त्यसको छानविन गर भनेको हो । जनताको आवाज प्रतिपक्षले निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले जनताको कुरा उठाएन । प्रतिपक्ष सिद्धियो । जनताको पक्षमा काम गरेन सरकार सिद्धियो । सरकारले प्रतिपक्षको आवाजलाई सम्बोधन गर्नुपर्छ ।’
सरकारले पेलेरै जान चाहेको हो भने आफूहरू प्रतिकार गर्न तयार रहेको सिटौलाले चेतावनी दिनुभयो । ‘नेपाली कांग्रेस सहेर बस्न सक्दैन । जनतामाथि यत्रो अन्याय हुँदा कांग्रेसले कुरा उठाएको हो । सहकारी ठगीमा प्रहरीले कसरी छानविन गर्न सक्छ आफ्नै गृहमन्त्रीमाथि ? प्रश्न यत्ति त हो । त्यसैले संसदीय छानविन समिति बनाऔँ । संसदीय समितिले सुझाव राख्ने हो, अभियोजन गर्ने होइन,’ उहाँले भन्नुभयो, ‘संसद्मा उठेको कुरालाई प्राथमिकतामा राखेर अन्य सहकारीमाथि पनि छानविन गरौँ । कुनै पार्टी र नेताप्रति पूर्वाग्रह राख्दैनौँ । हामी सबैलाई साथमा लिएर देश बनाउँछौँ भन्ने हाम्रो विश्वास हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच