
काठमाडौं । बारास्थित बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्न सरोकारवालाले माग गरेका छन् । देशकै भाग्य र भविष्य जोडिएको परियोजना अविलम्ब अघि बढाउन माग गर्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । विमानस्थल निर्माणको माग गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको फास्ट ट्र्याक, एयरपोर्ट निर्माण व्यवस्थापन तथा सरोकार समितिले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
विमानस्थल निर्माणका सन्दर्भमा सरकारले गरेका निर्णय कार्यान्वयन अत्यन्तै सुस्त भएको भन्दै उनीहरूले मन्त्री तामाङको ध्यानाकर्षण गराएका छन् । ‘आर्थिक, सामाजिक र पर्यापर्यटनमा विशेष महत्व राख्ने निर्माणाधीन काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) ले विमानस्थलको औचित्य, आवश्यकता र अपरिहार्यतालाई झनै पुष्टि गर्दछ,’ उनीहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘यी दुवै आयोजना एकअर्काको परिपूरकका रूपमा स्थापित भएका छन् ।’
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेका यी आयोजनाहरूको कार्यमा सरकार परिवर्तनपछिको नीतिले असर नगरोस् भन्दै २०७३ साल मंसिर १७ गतेदेखि २१ गतेसम्म निजगढदेखि काठमाडौंसम्म मधेश प्रदेश र मकवानपुरका ६२ जना युवाहरूले पैदल मार्च पास गर्दै ‘फास्ट ट्र््याक एयरपोर्ट निर्माणका निम्ति एक रुपैयाँ लगानी गरौँ’ भन्ने नारासहित एक लाख २० हजार हस्ताक्षर तत्कालीन प्रम प्रचण्डसहित विभिन्न १२ पार्टीका प्रमुखहरूलाई गम्भीर ध्यानाकर्षणसहित ज्ञापनपत्रसमेत बुझाइएको समेत उनीहरूले स्मरण गरेका छन् । ‘त्यसपछाडि निरन्तर खबरदारी र दबाबका विविध कार्यक्रमहरू गर्दै फास्ट ट्र््याकको शिलान्यास प्रधानमन्त्री प्रचण्डबाट २०७४ जेठ १४ गते भयो ।
तर, निजगढ विमानस्थलका सन्दर्भमा केही नीतिगत कार्य भए तापनि वातावरण र वन्यजन्तुसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाले केही विलम्ब भएकाले हाल त्यो समस्या पनि समाधान भइसकेको सबैमा जानकारी नै छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘तसर्थ यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा सरकारले तत्काल यी विषयहरूमा सम्बोधन गर्दै निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव पेश गर्दछौँ ।’
उनीहरूले विमानस्थल निर्माण क्षेत्रभित्र रहेको टांगियाबस्तीको १४७६ घरधुरीभन्दा बढी जनताको स्थायी बसोबासको व्यवस्थापनका लागि तत्काल सरकारले निर्णय गर्नुपर्ने र क्षमताअनुसार रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सुझाव पेश गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनअनुसार त्यस क्षेत्रको वातावरण नखल्बलिने गरी निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने, निजगढ विमानस्थलको आयोजना प्रमुख हाल पनि निमित्तका रूपमा अधिकृत मातहत रहेकाले यो आयोजनाका लागि उच्चस्तरको प्रशासकलाई नेतृत्व दिनुपर्ने, स्थानीयस्तरमा बस्ती व्यवस्थापन र समस्याहरूको समाधानका लागि प्रदेश, स्थानीय पालिका र त्यहाँ क्रियाशील समन्वय समिति सम्मिलित सहजीकरण समिति मन्त्रालय मातहत गठन गर्नुपर्ने,’ माग उनीहरूले राखेका छन् ।
वर्षौँदेखि चर्चामा रहेको परियोजनालाई अघि बढाउने विषय चालु आर्थिक वर्षको बजेटमा पनि समेटिएको छ । यही सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच