काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज (शुक्रबार) नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो ।
पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्म मात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।
पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर, सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानी मात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानी मात्र मानवका लागि पिउन योग्य छ ।
नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि अझै धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रम अन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन, किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी निकाय र विभिन्न सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब तीन प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ ।
अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मानिस मर्ने गरेका विश्व स्वास्थ्य संगठनको एक तथ्यांकले जनाएको छ ।
तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब एक अर्ब ८० करोड मानिस मरुभूमिकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । राजनीतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने बताएका छन् ।
मूलतः विश्व पानी दिवसका अवसरमा जल सप्ताह कार्यक्रमअन्तर्गत नेपालमा पनि पानीको स्रोतको संरक्षण, गुणस्तरीय पानीको सहज एवं सर्वसुलभ वितरण र व्यवस्थापनमा जनचेतना जगाउने कार्यक्रम आयोजना गरिँदै आइएको छ । सो अवधिमा पानीसम्बन्धी गोष्ठी, अध्ययन र जनचेतनामूलक कार्यक्रम देशभर गरिने आयोजकले जनाएका छन् ।
स्वस्थ रहन एक व्यक्तिले दिनमा दुईदेखि तीन लिटरसम्म सफा पानी पिउनुपर्छ । जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महŒवपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रूपमा रहेको पिउने पानी क्षेत्रको विकासका लागि विगत योजनादेखि नै प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । नेपालमा संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । दिवसको यस वर्षको नारा ‘शान्ति र समृद्धिको लागि पानी’ रहेको छ ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित विश्व पानी दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच