-निर्मलकुमार आचार्य
‘सोना है ?’
कोठामा पुग्न पाएको छैन, कस्तो बेसोमती, ‘सुत्ने हो ?’ पो सोध्दोरहेछ ! ‘सम्साँझै कहाँ सुत्नु, पहिले यसो बाहिरफेर घुमेर आऔं अनि सुतौंला’ भनेको त उल्टै हाँसी ‘सुत्ने भनेको होइन क्या, सुनको÷ ‘गोल्ड’ को कुरो गरेको हुँ !’ पो भन्दोरहेछ ।
‘काशी नुहाउन आएको मान्छेसित नि काहीं सुन हुन्छ भाइ ? के कुरा गरेको यस्तो, छैन हामीसित !’ भन्दा निकै बेर असहमतिसूचक मुन्टो हल्लाइरहृयो र मुस्काउँदै भन्यो– ‘नेपालमा त्यत्रो सुन छ ।’
ठट्टा गरेको ठानी उसलाई वास्तै नगरिकन खुरुखुरु बजारतिर लागियो । उसको सोधाइले धेरै वर्षअघि बाल्यकालको सुनसँगै सम्बन्धित एउटा प्रसंग सम्झना गरायो । १३/१४ वर्षको हुँदो हुँ । त्यतिखेर एक बुज्रुकले नेपालमा खूब सुन भएको बखानेका थिए । आफ्नो कान बुच्चै भए पनि ल्हासामा सुन भएको मात्रै सुनेको यस बबुरालाई नेपालमा प्रशस्त सुन छ भन्ने कुराले कौतूहल जगायो ।
मानौं, उनलाई मैंजस्तो जिज्ञासुको आवश्यकता थियो, मौका पाउनासाथ थालिइहाले–‘पारस भनेको थाहा छ, एक अनमोल मणि हो, त्यसमा कुनै पनि धातु छुवाउनासाथ सुन हुन्छ । त्यो पारसमणि पशुपतिनाथ मन्दिरमा छ । अनि, तिमीहरूलाई सुनको कमी कहिले हुन्छ त ?’
बालमन न हो, झट्ट सुन्दा निकै आनन्द लाग्यो । भएभरका फलाम बटुली पारसमा छुवाउँदै सुन बनाउन पाए कस्तो हुँदो हो भन्ने लाग्या’थ्यो त्यतिखेर ।
झण्डै ५० वर्षपछि यही काशीको भूमिमा फेरि अर्काेले सुनको कुरो झिक्दा छक्क परियो । ‘अनुहार हेर्दा सुन हैन, पारसमणि नै माग्ला जस्तो पो छ त !’ यो विषय ठट्टाको मसला पनि बन्यो ।
भोलिपल्ट विश्वनाथ बाबाको दर्शन गरी फर्किएका मात्र के थियौं, कोठामै टुप्लुक्किई फेरि उही याचना दोहो¥याउँछ । सम्पूर्ण कोमलगीता सुनाउँदा पनि टसको मस नहुने चाला देखेपछि धैर्यको ढोका चरमराउन थाल्यो– ‘ए बाबा, नेपालमा सुनको बोट छ र गयो पोल्टाँ’ थाप्यो, ल्यायो गर्नु ! कि असिना झैं बर्सन्छ सुन ? स्याउ, सुन्तला जस्तो फल्छ कि, सुनको पहाडै छ त्यहाँ हैन त, के ठानेको ?’ मथिंगल नै रिङाउनेगरी एकै सासमा भन्न मन थियो तर अर्काको देश, गिदीको लिदी नै छताछुल्ल हुनेगरी उसले तर्सायो भने के गर्नु, पीर लाग्ने नै भयो ।
लामो सास फेरेर ‘हामी जस्तासित कहाँबाट सुन हुनु ?’ भनेको त पत्याउँदै पत्याउँदैन । लुगा झट्कार्दा पनि सुनका दुई, चार डल्ला झर्ला कि जस्तो पो गर्छ बा !
‘स्वर्णधनम् सर्वधनम् प्रधानम्’ पण्डाको कारिन्दो के कम हुन्थ्यो, सूक्ति भट्याउँदै सुनको महत्व बखान्न थाल्यो । रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्धले गर्दा सुन झन् महँगिँदै जाने ठोकुवा पनि गर्नपुग्यो । दक्षिण अमेरिका, दक्षिण अफ्रिका, अस्टे«लिया, मेक्सिको आदिमा सुनको खानी भएको तर सबैतिरबाट सोहोरिने भएकाले नेपालमा सुनै सुन भएको निस्कर्ष समेत निकाल्न भ्यायो उसले । सुनको महिमागान गरिरहँदा उताका नेतालाई धारेहात लाउँदै अघाउन्जेल गर्नु गाली गरेर हाम्रा नेताको सह्रनी गर्दै भन्दोरहेछ–‘तिमीहरू ता धेरै भाग्यमानी, नेताहरू नै सुन ओसार्न तल्लीन रहेका छन् ।’
आफ्ना नेताका बारेमा उसका उच्च विचार सुन्न पाउँदा हृदय गदगदायो । साँच्चै हाम्रा नेताले स्वर्णिम नेपाल बनाएरै छाड्ने भए त.. कल्पना मात्रले पनि भावविभोर हुन पुगियो । स्वर्णिम नेपालको परिकल्पना साकार पार्ने काममा प्रत्यक्ष वा परोक्ष रूपमा समर्पित हाम्रा तमाम नेताको सदा जयजयकार होस् भनी विश्वनाथ बाबालाई आर्तपुकार पनि लगाइयो ।
नाकामा चाकाको कुरो नमिली यसो बाहिरफेर चुहिएका केही खबर सुनेका भरमा सुनै सुन देख्ने यसलाई नेपालमा जतासुकै सुन छ भन्ने थाहा भयो भने के गर्ला ! सुनको रोटी बनाइदिने देवीबारे चाल पायो भने भद्रकाली (लुँमडी) मा धर्ना दिन जाला जस्तो छ ।
सुनचौर, सुनछहरी, सुनीगाड, सुन उखडागढ, सुनसरी, सुनकोशी जस्ता नामैले धेरै कुरो बुझ्नुपर्ने हो । कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, राप्ती, भेरी, महाकाली, सेती, त्रिशूली, चमेलिया, माडी, मस्र्याङ्दी आदिका बालुवामा सुनका कण हुन्छन् भन्ने यसलाई के थाहा । धाउ नहुँदा हुन् त कहाँबाट आउँथे सुनका कण । हलचोक, ज्यामिरघाट, आरूघाट, सुनिगाड, धौलीगाड र राहुघाटमा पनि सुन रहेको सुन्यो भने त यो यहीं सेन्टिफ्ल्याट खान बेर छैन ।
त्यत्राविधि सुन नेपालमै छ भने मरिहत्ते गरी बाहिरबाट किन ओसा¥या’ होलान् भन्ने पनि यसलाई लाग्नसक्छ । यस्तो लठुवाले के बुझोस्, आजको २१औं शताब्दीमा ताइँतुइँ र साइँसुइँ नगरी झ्वाइँझुइँ हुन्छ भने किन ¥वाइँरुइँ गरिरहनु !
पसिना काढी, काढी बालुवा चाल्नु र ठेला उठाई, उठाई धाउ खन्नुसाटो विनामनसुन सुन बर्साइनुलाई बुद्धिमानी मान्नैपर्छ । महान् कार्यमा लाग्दा कुनै नेता फन्दामा परे भनेर चिन्ता लिनुपर्दैन, कसलाई कहाँ, कहिले, कसरी उम्काउने हो कि फँसाउने हो ? सबैको विधि, प्रक्रिया तय छ । त्यसैले, स्वर्णिम नेपाल बन्नेमा शंका गर्नुपर्दैन, खुशीको कुरो, नेता, तिनका सन्तान र कार्यकर्ता जस्तै हाम्रा छोराछोरी पनि एक दिन सुन बोकेर देश, देशावर पुग्नेछन्, गौरवशाली काम गर्नेछन् । फलाम नझल्कने घरमा सुन टल्कनेछन् । देशमा समाजवाद कायम हुनेछ, अहिले त समाजवाद उन्मुख अवस्थामात्र न हो । नेताहरूको सक्रियता देख्दा त्यो दिन धेरै टाढा नरहेको कुरो त यही वनारसीले पनि भन्न सक्दछ ।
कविवर लक्ष्मीप्रसाद देवकोटालाई मान्नैपर्छ है, बडो भविष्यद्रष्टा रहेछन् उनी । तब त यस्तो सुनौलो दिन आउँछ भनी उहिल्यै गाउन पुगे :
सुनको दिन एक उदाउँछ रे ।
यस देश खुलीकन आउँछ रे ।।
नानाथरीका भावनाको वेगिलो प्रवाह चलिरहँदा तीखो आवाज मस्तिष्कमा प्रवेश ग¥यो । को होला भनी हेर्दा सामुन्ने उही मुसदण्डे पान चपाउँदै अनुनय–विनय गरिरहेको देखियो ।
मसित त के, सधैं सुन भट्याइरहने मेरा जुँगे काकासँग पनि सुन छैन भन्दा पनि मान्दैन । जुँगे काका पनि यस्तै थिए एकताका । विमानस्थलको चर्पीमा सुन भेटिएको सुनेपछि कुनै न कुनै बहाना बनाई त्यहाँ पुगेकै हुन्थे । वरपरको झाडीमा समेत सुनको पोका पाउनसकिने विश्वास जुँगे काकामा पलायो । नभन्दै त्यहीं पर्तिर पोको फेला पार्दा उनको खुशीको सीमा रहेन, खूब नाचे । त्यही दिन उनको ज्ञानको आँखा खुल्यो, देखिने हरेक पहेंलो वस्तु साँच्चै सुन नहुनेरहेछ । त्यस दिनदेखि जुँगे काकाले सुनको नामै लिन छाडे ।
जुँगे काकाको रोचक कथा सुनाउँदा पनि कुनै असर नपरेको देखेपछि ‘फेरि बात मारौंला है’ भनी उसलाई पन्छाउँदै कचौडी गल्लीतिर लागियो ।
त्यहाँ पनि पछ्याउन छाडेन । कहाँ, कहाँ जान्छ, को, कोसित भेट्छ, पाइलैपिच्छे हिसाबकिताब पो राख्नथाल्यो । यस्तो झिंझोबाट मुक्तिका लागि काशी त्याग्नु नै श्रेयष्कर ठानियो र कदम बढाइयो रेलवे स्टेशनतिर ।
हामीभन्दा पहिल्यै ऊ पुगिसकेको रहेछ । ज्यादै दयनीय भावमा फेरि पनि उही सुनकै याचना गर्छ । ‘अरे भाइ, कत्ति किचकिच ग¥या’, अदना पत्रकारसित कहाँबाट सुन हुनु !’
‘अदना पत्रकार’ सुन्नु के थियो, प्रफुल्ल हुँदै आँखा चम्कायो । मैंजस्तो ‘अदना पत्रकार’ सित चार महिनाअघि आधा किलो सुन किनेर उसले कमाएको थियो रे । उसलाई सबै पत्रकार ‘अदना’ हुँदैनन् र सबै ‘अदना’ पत्रकार हुँदैनन् भन्ने बुझाउन नौनाडी गलाउन प¥यो ।
बल्ल पन्छियो भन्ठानेको त रेल चढ्ने बेलामा खुट्टै समात्न पो आउँछ ध्वाँसे । रिसको झोंकमा आँखा चिम्लिई बल लगाएर लात्ती हानेको त बेग्लै स्वरमा रुन थाल्यो । आँखा उघारी यसो हेर्दा पो झल्याँस्स भइयो । सँगै सुतेकी बूढीलाई लात्ती कसिएछ ।
फसादै भो ! जानाजान लात्ती हानेको होइन भनी करुण स्वरमा घण्टौं सफाइ दिंदा पनि झाँक्रो फिंजाएकी बूढीको बलिन्द्रधारा रोकिने नामै लिएन ।
email: acharya.nik@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच