बलेवा विमानस्थलमा हवाईसेवा सञ्चालनको माग

हिमालय टाइम्स
Read Time = 3 mins

बागलुङ । विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङलगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका-१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । त्यो बेला यहाँ नियमितरुपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका हुन् । बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो ।

विसं २०४८ मा बागलुङ सडक सञ्जालसँग जोडिएको हो । त्यसलगत्तै बलेवा विमानस्थलमा जहाज उड्न छाडे । विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ पालिकाको पहलमा २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आयो । तर त्यसले निरन्तरता भने पाउन सकेन । नौ महिनापछि धावनमार्ग कच्ची भएको कारण देखाएर विमानस्थलमा जहाज उडान बन्द भयो ।

विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको रु सात करोडको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । कालोपत्र गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन् । बागलुङ नगरपालिका-१४ का सुरेन्द्र थापाले विमानस्थल सञ्चालनका लागि सरोकारवालाले ध्यान नदिएको गुनासो गर्नुभयो ।

“हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए । पसिना बगाएर विमानस्थल निर्माण गरे । तर हवाईसेवा ठप्प छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर छेउमै रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बागलुङ नगरपालिका-१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । विमानस्थल सञ्चालनमा ल्याउन सके यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।

बागलुङ बजारदेखि बलेवा विमानस्थल पुग्न १२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थल सञ्चालन गर्न कालीगण्डकी करिडोर कालोपत्र हुनुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत, म्याग्दीलगायतका स्थानीयलाई सहज हुने र धौलागिरी क्षेत्रको पर्यटन विकासमा  टेवा पुग्ने छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?