नयाँ बनेको राजनीतिक गठबन्धन र नयाँ सरकारले औपचारिकताको रूपमा साझा संकल्प प्रस्तुत गरेको छ । उक्त साझा संकल्प अनुरूप काम गर्न नसक्ने अवस्था भएमा कुनै समय सरकारबाट बाहिरिने उद्घोष सरकारमा सामेल भएको एक दलका प्रभावशाली सदस्यले गरिसकेका छन् । सरकारमा जान नपाउँदै बाहिर आउने कुरा गर्नुभन्दा पनि समस्याहरूलाई चिर्दै अघि बढ्ने शक्तिसामथ्र्य र हौसला प्राप्त गर्ने किसिमका काम गर्न हाम्रा नजिकैका पशुपतिनाथले सबै दललाई आशिर्वाद दिऊन् । कम्तीमा एकाध वर्ष टिक्ने किसिमको राजनीतिक सहकार्य एवं क्रियाशीलता सबै दलहरूमा हुनु आवश्यक छ । यति पनि क्षमता देखाउन सकिएन भने पुरानाको साथसाथै नयाँ दलहरूको समेत भोलिको बाटो असहज बन्नसक्ने हुन्छ ।
नेपाली राजनीतिक दलहरूमा रास्वपाबाहेक अन्य सबै दललाई हामीले भोगिसकेका छौं । जानिसकेका छौं, उनीहरू आमनेपालीहरूबाट टेष्टेड हुन् । स्वयं रास्वपा पनि थोरै र सानो स्केलमा टेष्टेड हो भन्न धेरै धक मान्नुपर्दैन । यो दललाई शंकाको फाइदाको दृष्टिले हेर्ने समय बाँकी छ । कांग्रेस, एमालेहरू २०४८ सालदेखि माओवादी र तराई केन्द्रित राजनीतिक दलहरूको सत्तामा मस्ती मार्ने समय २०६३ सालबाट आजसम्म पनि निरन्तर संघीय, प्रान्तीय एवं स्थानीय तहको राजनीतिमा तर मारिरहेका छन् ।
हाल आम्दानीभन्दा खर्च निकैमाथि देखाइएको छ । लामो समय अर्थतन्त्र अस्तव्यस्त स्थितिमा चल्न सक्ने देखिँदैन । आर्थिक क्षेत्रका प्रमुख निकायहरू खासगरी अर्थ मन्त्रालय, केन्द्रीय बैंक र योजना आयोगबीचको सहकार्य हुनु नितान्त जरुरी छ ।
एक समय नेपाली राजनीतिको राप, ताप तथा सबैथोक नेपाली कांग्रेस थियो । आजको उसको यो डिफेन्सिफ मुडको राजनीतिक हविगत अरू कसैले नभएर आफ्नै अकर्मन्यता, दल तथा सत्तामा हुँदा केही निहित कार्यकर्ताहरूको दुर्नामपूर्ण क्रियाकलापले सिंगो दल र यसका सबै राम्रा काम पनि पखालिएका जस्ता देखिएका छन् । नेपाली राजनीतिमा २००७ सालदेखि कोसिस गरिएको संविधानसभाको प्रयास र सोमार्फत संविधान लेख्ने कुराको मूर्तरूप माओवादीहरूको शान्तिपूर्ण राजनीतिमा भएको पदार्पणपछि सफल भएको हो । यसको श्रेय उनीहरूमाथि जाने गर्दछ तर एक्लो ऊसको मात्र प्रयासले यो सम्भव हुने विषय नै थिएन ।
आन्तरिक तथा बाहृय उपयुक्त अवस्था, दरबारसँग नेपाली कांग्रेस साह्रै चिढिनु, खासगरी तत्कालीन परिवेशमा गिरिजाप्रसादको ज्ञानेन्द्र शाहसँगको अमिल्दो मनोविज्ञानजस्ता पक्ष जिम्मेवार देखिन्छन् । यद्यपि कतिपय राजनीतिज्ञ एवं विज्ञहरू पनि हालको राजनीतिक परिवर्तनका लागि माओवादीहरूको योगदानलाई सजिलै स्वीकार गर्न मान्दैनन् । शायद यसै कारण हुनसक्छ शान्ति प्रक्रियाका मुख्य दुई काम लामो समयदेखि थातिमै छन् । बाहृय रूपमा समान्य देखिए तापनि शान्ति प्रक्रियासँग जोडिएका कतिपय विषयको अन्तिम टुंगो नलाग्दाको परिणाम सिंगो मुलुकले भोगिरहेको छ ।
आर्थिक गतिविधिहरूमा सुधार र विस्तार अबको सरकारको पहिलो र नगरी नुहुने काममा परेको हुनुपर्दछ । पहिलो सर्त भनेको वित्तीय क्षेत्रको सबलीकरण तथा विद्यमान अवस्थामा सुधार अपरिहार्य हो । वाणिज्य तथा विकास बैंकहरूमा खराब कर्जाको अवस्था क्रमशः ३.५ प्रतिशत र ४ प्रतिशतमा पुग्नै लागेको तथ्यांकले देखाउँछ । मुलुकको वित्तीय क्षेत्रमा ६.५ खर्बजति लगानीयोग्य रकम थुप्रिएको अवस्था देखिन्छ । ब्याजदर सिंगल दरमा झरिसक्दा पनि लगानीका परियोजना सोचेजति संख्यामा आउन सकेका छैनन् ।
हाल आम्दानीभन्दा खर्च निकैमाथि देखाइएको छ । लामो समय अर्थतन्त्र अस्तव्यस्त स्थितिमा चल्न सक्ने देखिँदैन । आर्थिक क्षेत्रका प्रमुख निकायहरू खासगरी अर्थ मन्त्रालय, केन्द्रीय बैंक र योजना आयोगबीचको सहकार्य हुनु जरुरी छ । गभर्नरको पनि शायद अन्तिम वर्ष भएकाले होला केही राम्रो गरेर बिदा हुने कोसिसमा हुनुहुन्छ । कर्जा प्रवाहमा वित्तीय क्षेत्रलाई खुकुलो बनाएर जाने विचारमा अर्थमन्त्री र गभर्नरबीच कुरा मिलेको भन्ने समाचार बाहिर बजारमा हल्ला सुन्नमा छ ।
वित्तीय क्षेत्रको धरमराउँदो अवस्थाको सुधार जतिसक्दो चाँडो हुनुपर्ने देखिन्छ । वित्तीय क्षेत्रको विस्तार बितेको दुई दशकमा जसरी भएको छ त्यही क्रेडिटले आजसम्म मुलुक र मुलुकको आर्थिक तथा व्यावसायिक जगतलाई धानेको छ । क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरूको संख्यामात्र हजारौं छ । अझ सहकारीहरूको संख्या तीन हजारभन्दा माथि हुँदा वित्तीय पहुँचमा पुगेको नेपालीहरूको साँचो संख्या र प्रतिशत कति छ भनेर थाहा छैन ।
वित्तीय क्षेत्रले नेपाली समाजको व्यावसायिकताको विस्तारमा पुर्याएको योगदान महत्वपूर्ण छ । भ्रष्टचार नियन्त्रण र सुशासन अहिलेको सरकारका लागि पहिलो प्राथमिकतामा पर्ने विषयवस्तु हो । भ्रष्टाचार नेपाली समाजमा यति संस्थागत र व्यापक भइसकेको छ कि कुनै सहज रूपमा हुने काममा सेवाग्राही तथा सेवा दिने दुवै पक्ष नाजायज लेनदेनविना काम गर्न तयार देखिँदैनन् । सबै राजनीतिक दल, तह र तप्काका निर्णायक स्थान, पदहरूमा आसिनहरूको पहिलो काम नै अधिकारको दुरुपयोगको माध्यमले अकुत स्रोत कुम्ल्याउने, सुरक्षित जीवनका लागि विदेशिने वा विदेशको पिआर लिने प्रवृत्ति हावी छ ।
रास्वपाले राजनीतिक रूपमा आफूलाई परिपक्व बनाउनुपर्ने त छँदैछ यसको अतिरिक्त आर्थिक क्षेत्रमा पनि आशाभरोसा एवं नेपालमै भविष्य छ भन्ने कुराको छनक दिन सक्नुपर्दछ । उसको सत्तायात्रा निकै रोचक छ ।
स्वभाविक रूपमा सत्तामा जो धेरै बस्यो उसको वा ती दलहरूको स्रोतमाथिको पहुँच तथा अपचलनको सम्भावना बढी हुनेभयो । यस हिसाबमा पुराना दलहरू र तिनको सम्पूर्ण संयन्त्र भ्रष्टाचारको न्यूनीकरणका लागि कत्तिको तयार हुन्छ भन्ने कुराले सुशासनलाई हिँडाउने भन्नेमा निर्णायक हुन्छन् । रास्वपाको अग्नि परीक्षा चारजना क्याबिनेटका मन्त्रीहरूको कामले गर्ला/नगर्ला त्यो भविष्यले बताउला । उनीहरूको काम र इमानदारीको साँचो परीक्षा भने पक्का गर्न सक्नेछ । किनभने नेपाली जनताहरू विद्यमान विधिको शासन प्रक्रियासँग परिचित भएको तीन दशक नाघिसकेको छ । कसले के कति बोल्छ र कति काम गर्नसक्छ भन्ने अन्दाजको सामथ्र्य बनाइसकेका छन् ।
साथै २५ जनाको मन्त्रीमण्डलमा रास्वपाको हालको अधिकार क्षेत्र भनेको मात्र चारजनाको क्याबिनेट मन्त्रीको मात्र हो । हामीले भुल्न नहुने अर्को पक्ष हालको सत्ता साझेदारीमा एमाले र माओवादीहरूपछि मात्र रास्वपाको हैसियत छ । सम्माननीय प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री दुवै राजनीतिक चातुर्यमा रास्वपाभन्दा धेरैमाथि छन् । हाम्रो पद्धतिमा प्रधानमन्त्रीको ग्रीन सिंनल कुनै कामका लागि आवश्यक हुने गर्दछ । यसमा के भन्न खोजिएको होइन भने प्रधानमन्त्री सुशासन तथा भ्रष्टचारमुक्त संयन्त्रविरोधी हो ।
उहाँ त अझ समाजको सबैभन्दा तल्लो तप्काका सर्वसाधारणको जीवनपद्धतिमा आमूल परिवर्तनको निम्ति एक दशक लामो सशस्त्र राजनीतिक आन्दोलन हाँकेर आउनुभएको नेता हो । नेपाली समाजका सबै किसिमका कमजोरीहरूको अन्त्य गर्दै एक्काईसौं शताब्दीलाई सुहाउने समाजवादको स्थापनाका लागि तयारी गर्न तत्पर राजनीतिक दलको अध्यक्षको रूपमा विगत सत्र वर्षदेखि निरन्तर लागि पर्नुभएको छ । वर्गविहीन समाज तथा समुदायको स्थापनाका लागि हजारौं नेपालीहरूको शाहदत तथा जीवन बलिदान गर्दै लाखौं नेपालीहरूको भूत, वर्तमान र भविष्य निर्माण गर्न तयार व्यक्तिको रूपमा उहाँलाई चिनेका छौं ।
हालको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको युवाहरूमा मडारिएको बादल र त्यसले सुरु गरेको वैदेशिक पलायनको निरन्तरको भयावह यात्रा र यसले आन्तररिक रूपमा निम्त्यायका नराम्रा पक्षहरू नै हुन् । सबै किसिमको राजनीतिक उपलब्धिले किन सुशासन र आर्थिक समृद्धिको आधार तयार हुन सकेन ? व्यावसायिक वातावरणको सुरुवात संस्थागत रूपमा किन कसरी हुन सकेन ? भएकाहरूको संरक्षण तथा संवर्धन गर्न सरकार तथा राज्य संयन्त्र किन असफल हुँदै गयो ? लगानी विविधीकरणमा किन समयसापेक्ष ध्यान पुर्याउन सकिएन जसको परिणाम स्वरूप आममानिसका दैनिकी र जीवनस्तर सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता किन हुन सकेन भन्नेजस्ता प्रश्नको उत्तर कुनै राजनीतिक धारबाट नपाउँदा चरम निराशामा बाँच्न बाध्य छन् ।
अन्त्यमा, रास्वपाले राजनीतिक रूपमा आफूलाई परिपक्व बनाउनुपर्ने त छँदैछ यसको अतिरिक्त आर्थिक क्षेत्रमा पनि आशाभरोसा एवं नेपालमै भविष्य छ भन्ने कुराको छनक दिन सक्नुपर्दछ । उसको सत्तायात्रा निकै रोचक छ । किनभने छोटो समयमा गर्नुपर्ने काम धेरै छन् । ऊमाथि सबैले नजर लगाइरहेका छन् । राजनीतिमा छोटो समयमा गरिएको सत्ता यात्राले लामो समयको दूरी तय गर्ने लक्षण सिर्जना गर्ने हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच