अरूका विषयमा लेखिरहँदा मेरो कलमबाट केही न केही छुटिरहेको छ जस्तो त लागिरहन्थ्यो । आफ्नै कलम छ आफ्नै कुरा जति लेखे पनि भयो भन्लान् भन्ने डरले धेरै वर्ष लेखिएन । आफ्नो संस्था आफ्नै विषय हुन्छ कि भनेर लेख्न डर लागिरहृयो तर दायित्व फेरि पनि हाम्रै हो । बोल्नेको पिठो बिक्ने यो दुनियाँमा आफ्ना भए पनि राम्रा कुरा लेख्न डराउनै पर्ने कुरा लागेन । कुनै विषयमा कलम चलाउँदा त्यसै गौरवबोध हुन्छ आज त्यस्तै भएको छ । संसारकै सर्वप्राचीन वाङ्मय ग्रन्थ वेद र वेदाङ्गहरू, स्मृितशास्त्रहरू, मीमांसा, वेदान्त, न्याय, वैशेषिक, सांख्य, योगजस्ता वैदिक दर्शनहरू, बौद्ध, जैन, चार्वाकजस्ता प्रतिपक्षी दर्शनहरू, साहित्य, व्याकरण, ज्योतिष, तन्त्र, धर्मशास्त्रलगायत अन्य प्राच्यशास्त्रहरू, राजशास्त्र, अर्थशास्त्र, गणित, नेपाली, अङ्ग्रेजीजस्ता आधुनिक विषयलगायत दुई दर्जनभन्दा बढी विषयको अध्ययन, अनुसन्धान, अनुशीलन हुने आफ्नै कर्मथलो वाल्मीकि विद्यापीठलाई लेखनीको विषय बनाइरहँदा मैले सोच्नुपर्ने धेरै कुराहरू हुनसक्छन् ।
मुलुकै भरिका जनशक्तिलाई ज्ञानसम्प्रेषण गराउँदै आएको महत्वपूर्ण ज्ञानकेन्द्रको नाम हो वाल्मीकि विद्यापीठ । कहिलेकाहीँ नजिकैको वस्तुमा आँखा पुगिरहेको हुँदैन । आँखाले टाढाटाढा हेर्न रुचाउने टाढाकै वस्तुमा अभिरुचि बढी हुने मानवीय स्वभावले गर्दा मैले मेरै विद्यापीठमा भइरहेका कतिपय असल कार्यहरूमा अद्यावधिक हुन सकेको रहेनछु । दुई–चार दिन पहिलेको कुरा हो वाल्मीकि विद्यापीठको परिसरमा देखिएको चहलपहल र पार्किङलटमा रहेका सयौं संख्याका सवारीसाधनमा आँखा पुगे । राजनीतिक वा साहित्यिक कुनै न कुनै कार्यक्रमले भरिभराउ रहने विद्यापीठमा त्यस दिन कुनै कार्यक्रम पनि चलेको थिएन तर विद्यापीठभरि पाका पुराना पुस्तादेखि नयाँ पुस्ताका युवायुवतीहरूको भिडभाड थियो ।
संस्कृत भन्ने बित्तिकै कर्मकाण्ड गर्दा काम लाग्ने विद्या भनेर चिनिने संस्कृत वाङ्मय ज्ञानपरम्परामा गहकिलो योगदान गर्ने विषय हो भन्ने विषयमा धेरैलाई जानकारी नहुँदा संस्कृत भाषा र यस भाषामा रचना भएका असंख्य ग्रन्थहरूमा रहेको विशाल ज्ञानभण्डारको यथोचित उपयोग हुन सकेको छैन ।
अनि मैले अनायासै आडैमा रहेका एकजना मित्रलाई सोधें होइन किन हो आज विद्यापीठ भरिभराउ छ ! कुनै कार्यक्रम भएजस्तो पनि लाग्दैन ? अनि उहाँले आश्चर्यमिश्रित भावमा भन्नुभयो ल ! तपाईंलाई थाहा छैन ? यो त नयाँ शैक्षिक वर्षमा सायम्कालीन सत्रमा सञ्चालन हुँदै आएको संस्कृत भाषाको प्राक्शास्त्री कक्षामा पढ्नेहरूको भिड हो नि ! त्यही प्राक्शास्त्रीमा यस सत्रमा सहभागी विद्यार्थीहरू यति धेरै होलान् भन्ने मैले अनुमान गरेको थिइन । यताका वर्षहरूमा कक्षाकोठामा पाका पुस्ताका विद्यार्थीहरूको संख्या र संस्कृत पढ्ने विद्यार्थीहरू केही बढेको कुराको अनुभव त थियो तर यसरी हृवात्तै बढेको विषयमा त्यति जानकारी रहेनछ ।
संयोगले अलि ढिलासम्म बसेको परिणाम यति धेरै विद्यार्थीले भरिभराउ भएको प्राङ्गण देख्ने अवसर मिलेको थियो । जुनसुकै विषय लिएर कक्षा बाह्र र त्यसभन्दा माथिको अध्ययन गरेकाले प्राक्शास्त्री पढ्न पाउने व्यवस्था छ । यो प्राच्यविषय र आधुनिक विषयलाई जोड्ने सेतु हो । यो कक्षा उत्तीर्ण गरेपछि संस्कृत वाङ्मयका अन्य विषयहरू पढ्न पाउने बाटो खुल्छ । पछिल्लो समयमा यसरी पढ्न आउनेहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ । यसलाई हामीले संस्कृतप्रतिको आकर्षण भनेर बुझेका छौँ ।
पढ्न पढाउनकै निम्ति खोलिएका विद्यापीठमा विद्यार्थी हुनु नौलो र आश्चर्य मानिरहनु पर्ने विषय नभए पनि संस्कृत विद्यापीठहरूमा यसरी विद्यार्थीहरू आकर्षित भएको कुरा निश्चय पनि नौलो कुरा हो । वाल्मीकि विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठ हो । काठमाडौंको मुटुमै अवस्थित यस विद्यापीठलाई नचिन्नेहरू कमै होलान् । केही व्यक्तिले संस्कृतको पठनपाठन हुने विद्यापीठ भनेर चिन्दा हुन् केहीले बढी राजनीति हुने विद्यापीठ भनेर चिन्दा हुन् । कुरा दुवै सही पनि हुन् । संस्था सानो भएर पनि ठूलाठूला राजनीतिक निर्णय लिएको इतिहास पनि यससँग जोडिएकै छ ।
राणा शासनको समयमा जयतु संस्कृतम्का माध्यमले राणाशासन विरोधी आन्दोलन गर्ने ऐतिहासिक तीनधारा छात्रावास यसै विद्यापीठअन्तर्गत पर्दछ । त्यसदेखि यता मुलुकका धेरै निर्णायक आन्दोलनहरूमा वाल्मीकि विद्यापीठसँग सम्बद्ध विद्यार्थी प्राध्यापक र कर्मचारी संगठनहरूले महत्वपूर्ण योगदान गर्दै आएका पनि छन् । त्यस अर्थमा वाल्मीकि विद्यापीठलाई चिन्ने राजनीतिक आधारको पनि आफ्नै गरिमा रहँदै आएको छ । त्योभन्दा धेरै महत्त्वपूर्ण कुरा यो विद्यापीठ पौरस्त्य वाङ्मयको अध्ययन अनुशीलन हुने आधिकारिक थलो हो ।
सामान्यतया संस्कृत भन्ने बित्तिकै कर्मकाण्ड, पूजापाठ, तिथिश्राद्ध गर्दा काम लाग्ने विद्या भनेर चिनिने संस्कृत वाङ्मय ज्ञानपरम्परामा गहकिलो योगदान गर्ने विषय हो भन्ने विषयमा धेरैलाई जानकारी नहुँदा, हामीले जानकारी गराउन नसक्दा, त्यस प्रकारको राष्ट्रको शिक्षनीति नहुँदा वा त्यस विषयमा गहिरिएर जानकारी लिन नचाहँदा संस्कृत भाषा र यस भाषामा रचना भएका असंख्य ग्रन्थहरूमा रहेको विशाल ज्ञानभण्डारको यथोचित उपयोग हुन सकेको छैन । संस्कृत एउटा भाषा हो यस भाषामा अनन्त जीवनोपयोगी ज्ञानराशी रहेको छ भनेर बुझाउन र बुझ्न नसकेको परिणाम आज हामीले भोगिरहेका छौं । मानवीय संस्कार आचरणमा सकारात्मक परिवर्तन गराउन सक्ने संस्कृत शिक्षाको अभावमा आचरणहीन मानिसको जत्था बढ्दै जाँदाको दुष्परिणाम राष्ट्रले बेहोरिरहेको छ ।
भन्न त धेरैले धेरै कुरा भन्छन् तर सबैका कुराको उत्तर फर्काएर साध्य पनि छैन र आवश्यक पनि छैन । तपाईंहरू संस्कृत विश्वविद्यालयको खानुहुन्छ अरूतिरै धेरै समय बिताउनुहुन्छ । बाहिरफेर बिक्नका लागि विश्वविद्यालयको नाम र पद भजाउनुहुन्छ तर संस्थाप्रति खासै चासो दिएजस्तो लाग्दैन । तपाईंहरूको कुनै दायित्व हुँदैन ? संस्कृत शिक्षाका नाममा यति ठूलो लगानी भइरहेको छ । के लगानी अनुसारको प्रतिफल राष्ट्रले पाउन सकेको छ त ? यस्ता धारिला प्रश्नहरू आइरहँदा हामीलाई लाग्छ कतै हामीबाट पनि गल्ती कमजोरी भइरहेको त छैन ? हालसालै नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय विद्यापीठ बेलझुण्डी दाङमा गएर एकजना पत्रकारले त्यहाँका प्राचार्य, अन्य प्राध्यापक एवम् कर्मचारीहरूलाई अपमानित गर्दैगरेको भिडियो सार्वजनिक भएको थियो ।
विद्यापीठमा विद्यार्थीहरू पढ्न नआउनु प्राध्यापक वा कर्मचारीको दोष होइन यद्यपि त्यसमा हाम्रो दायित्व रहला । उनको एउटै भनाइ थियो यति ठूलो धनराशी खर्च गरेर चलाइएका संस्थामा विद्यार्थी खोइ ? त्यसैलाई विषय बनाएर उनले तपार्इंहरूलाई लाज लाग्दैनसम्म भन्न भ्याए । लाज त यो देशका धेरै व्यक्तिलाई लाग्नुपर्ने हो धेरै संस्थालाई लाग्नुपर्ने हो र धेरै कार्यकारी प्रमुखहरूलाई पनि लाग्नुपर्ने हो । यसरी लाजको व्याख्या गर्दै जाने हो भने त यस्ता संस्था चलाउने प्रमुखहरू, संस्था खोल्न अनुमति दिने संस्थाहरू, नीतिनिर्माताहरू मन्त्रीहरू त्यति मात्र नभएर प्रधानमन्त्रीज्यूसम्म पनि यो प्रश्नको झटारो पुग्छ । जसले आफ्नो दायित्व पूरा गर्न सकिरहेका छैनन् ती सबैतिर यो प्रश्न पुग्छ ।
प्राध्यापकको अपमान गर्ने तिनै पत्रकारले के आफ्नो दायित्व पूरा गरेका छन् त ? उनैले पनि आफ्नो दायित्व पूरा गरेको लागेन । निश्चय पनि कुनै संस्थाको नुन खाइरहँदा सोच्नुपर्ने कुराहरू धेरै हुन्छन् । त्यस अर्थमा हाम्रो पनि दायित्व नरहने होइन तर हामीसँग पनि उत्तरको अभाव छैन । के आज जेजतिले जेजस्ता ठाउँमा काम गरिरहनुभएको छ ती सबैले आफ्नो संस्थाप्रति त्यसरी नै इमानदार भएर काम गर्न सक्नुभएको छ त ? यदि यो नैतिक प्रश्न सोध्ने हो भने मलाई लाग्छ सके त उत्तर शून्यमै आउला नभए पनि सन्तोषजनक उत्तर अवश्य आउने अवस्था छैन । जताततैबाट राष्ट्र जर्जर भइरहेको अवस्थामा यी र यस्ता प्रश्नहरू पनि कति उपयोगी भए होलान् कति यसै लेख्नकै लागि लेखिएजस्ता पनि भए होलान् ।
नेपालको सांस्कृतिक बनोटको इतिहासलाई पढ्दा हाम्रो पहिलो भाषा संस्कृत थियो भन्ने जानकारी प्राप्त हुन्छ । लिच्छवि कालमा नेपाल संस्कृतको केन्द्रनै थियो भनिन्छ । दरबारमा पनि संस्कृत भाषा बोलिन्थ्यो र दरबारबाहिर संस्कृत, मैथिली र नेवारी भाषाको प्रचलन बढी थियो भन्ने कुरा पनि पढ्न पाइन्छ । क्रमशः संस्कृत भाषाको प्रचलन कम हुँदै गएर आजको अवस्थामा आउँदा नेपालमा यो भाषा संरक्षणको पर्खाइमा रहेजस्तो भएको छ । भाषाविज्ञानले जुनभाषामा निरन्तर व्यहार हुँदैन त्यो भाषामा गतिशीलता रहँदैन त्यो भाषा मृतभाषा हो भन्छ । हामीलाई यस्तो प्रतिक्रिया सुन्दा नमिठो लाग्छ तर सत्य त्यस्तै छ ।
नेपालमा अहिले संस्कृत भाषाका वक्ताको संख्या अत्यन्त कम भएको अवस्था छ । त्यसो त अन्तर्राष्ट्रिय भाषाको दबाबका कारणले अन्य मातृ भाषाहरूको पनि अवस्था घट्दो छ तर संस्कृत भाषा मातृ भाषाभन्दा बढी वाङ्मयको भाषा हो । यस भाषामा लेखिएका वेद, वदांग, उपनिषद्, स्मृतिशास्त्र, नीतिशास्त्र, आचारशास्त्र, राजशास्त्र, पूराण, महाकाव्यहरू केवल पुस्तक मात्र नभएर अथाह ज्ञानका भण्डारहरू रहेकाले र तिनको भाषा संस्कृत भएकाले संस्कृत भाषालाई कुनै जातिको मातृ भाषा भएको नभनेर यसलाई राष्ट्रकै महत्वपूर्ण सम्पत्ति मानेर व्यवहार गर्नुपर्ने विषय हो । तर त्यसो हुन नसक्दा यस भाषामा रहेका ज्ञान र विज्ञानका अनगिन्ती विषयबाट जनमानस अनभिज्ञ रहेको अवस्था छ । जसले बुझेको छ त्यसको पहलले मात्र सम्भव भएको छैन नबुझ्नेहरूबाट खास अपेक्षा हुने कुरा पनि भएन ।
अहिले हाम्रो वाल्मीकि विद्यापीठमा संस्कृत पढ्न आउने केही जनशक्ति संस्कृतको महत्वलाई हिजो बेलैमा बुझ्न नपाएका, नचाहेकाहरू बढी छन् । पढेर लेखेर उच्च ओहदामा बसेर लामो समय सेवा प्रवाह गरिसकेका व्यक्तित्वहरू अहिले संस्कृत भाषा र वाङ्मयतर्फ आकर्षित भएको अवस्था छ ।
बाहिर हेर्ने आँखालाई भौतिक आँखा भनिन्छ भने भित्र हेर्ने आँखालाई आत्मिक आँखा भनिन्छ । भौतिक आँखाले बेलाबखतमा धोका पनि दिन्छन् तर आत्मिक आँखा खोल्न सकेको खण्डमा ती आँखाले खासै धोका दिँदैनन् । तर भित्री आँखा खुल्न त्यति सजिलो छैन । प्रायः मानिसका बाहिरी आँखा बढी सक्रिय हुनेहुनाले मानिसले धेरैतिर धोका व्यहोरिरहेको हुन्छ र उसलाई म धोकामा छु भन्ने ज्ञान पनि हुँदैन । ज्ञान अर्को असजिलो तत्त्वको नाम हो जसका बारेमा मानिस बेखबर हुन्छ । उसलाई लाग्छ म ठीक छु मैले गरेका कामहरू ठीक छन् । त्यसैले त मानिस सजिलै प्रतिक्रियामा उत्रिन्छ, प्रतिवाद गर्छ, तीतोपिरो गर्छ । मानिसले मानिससँग गर्ने व्यवहार प्रायः बाहिरी आँखा र सतही जानकारीका आधारमा निर्धारण भएका हुन्छन् ।
त्यो तत्त्व के हो जसले मानिसका भित्री आँखा खोलिदिन्छ भन्यो भने हामी भन्छौं शास्त्रको अध्ययन, अनुशीलन, मनन, ध्यान र ज्ञान त्यस्ता तत्वहरू हुन् जसले मानिसलाई साधारणबाट असाधारण कोटीमा पुर्याउँछ । त्यस्तो असजिलो बाटो हिँड्न मानिस झट्ट तयार हुँदैन । त्यसैले समाजमा प्रायः साधारण ज्ञानको प्रभाव बढी हुन्छ । हामी पौरस्त्य वाङ्मयका अनुयायीहरू त्यही भित्री आँखाका अनुयायीहरू हौं । त्यसैले हामीसँग त त्यो क्षमता र सहनशीलता पनि हुनुपर्छ जसका सहायताले हामी समाजमा व्यवहार गर्न सकौँ । ज्ञानशास्त्रका हरेक खुड्किलाहरूमा पौरस्त्य वाङ्मयका कुराहरू आउँछन् तर हामीले त्यो नजानिने विषय हो भनेर पन्छाउँदा पन्छाउँदै पनि कति ठाउँमा हाम्रो जम्काभेट हुन कर लाग्छ ।
आधुनिक विषय मानिएका कतिपय विषयहरूमा पनि जब संस्कृत वाङ्मयका कुरा आउन थाले त्यसपछि आज संसारका धेरै देशले आआफ्ना भाषामा वेद, उपनिषद् र दर्शनहरू पढाउन थाले । अहिले आएर सुस्तसुस्त संस्कृत भाषा र पौरस्त्य वाङ्मयमा पुनर्जागरणका सङ्केतहरू देखा पर्न थालेका छन् । हिजो संस्कृत कर्मकाण्डी भाषा हो जनता ठग्ने भाषा हो भनेर विरोध गर्नेहरूले अहिले आएर संस्कृतको महत्वका कुरा गर्न थालेका छन् । आधुनिक विषय पढेर उच्च ओहदामा पुगेकाहरू त्यो ओहदामा पुगेपछि संस्कृतको महत्व बुझेका छन् । विचार, व्यवहार र आचरणमा परिवर्तन ल्याउने संस्कृत वाङ्मयको महत्वलाई बुझेर अहिले के गरौं र कसो गरौंको अवस्थामा आइपुगेका छन् ।
अहिले हाम्रो वाल्मीकि विद्यापीठमा संस्कृत पढ्न आउने केही जनशक्ति संस्कृतको महत्वलाई हिजो बेलैमा बुझ्न नपाएका, नचाहेकाहरू बढी छन् । पढेर लेखेर उच्च ओहदामा बसेर लामो समय सेवा प्रवाह गरिसकेका, सामाजिक दृष्टिले सम्मानित व्यक्तित्वहरू अहिले संस्कत भाषा र वाङ्मयतर्फ आकर्षित भएको अवस्था छ । अहिले वाल्मीकि विद्यापीठको भौतिक संरचना निकै सुन्दर भएको छ । गर्न चाहे केही कठिनाइहरू होलान् तर काम अवश्य हुन्छ भन्ने दृष्टान्त अहिलेका प्राचार्य प्राडा.भागवत ढकालज्यू बन्नुभएको छ । जीर्ण अवस्थामा पुगेको शैक्षणिक भवन लगायत विद्यापीठ प्रांगण, तीनधारा छात्रावास वरपर जताततै मनमोहक वातावरण छ । उहाँको निरन्तरको प्रयास र अथक परिश्रमको प्रतिफल विद्यापीठको वर्तमान अवस्था बनेको छ ।
अहिले आएर उहाँको कार्यकालको अर्को सुखद् पक्ष कक्षाकोठाभरि संस्कृत पढ्ने विद्यार्थीहरूको भिडभाड हुनु पनि हो । हामी आशावादी त थियौं कुनै दिन अवश्य संस्कृतमा पुनर्जागरण आउँछ । नभन्दै अहिलेको अवस्थाले त्यस कुराको पुष्टि गरेको छ । यद्यपि एक दुई सत्रमा पढ्न आएका विद्यार्थीहरूकै आधारमा धेरै कुराको अपेक्षा गर्न मिल्दैन । त्यसमाथि एउटा संस्थाको योगदानले मात्रै पनि समग्र वाङ्मयको उत्थान हुन सम्भव कुरा होइन । तर, यसरी जनमानसमा जाने सकारात्मक सन्देशले निश्चय पनि भोलिका दिनहरू पनि हाम्रा पक्षमा हुनेछन् भन्ने विश्वास बढेको छ । करकापले नभएर रहरले संस्कृत पढ्न आउने यस्तै व्यक्तिहरूका सवारीसाधनले भरिएको वाल्मीकि विद्यापीठको प्राङ्गण अनि भरिभराउ कक्षाकोठा देखेपछि लाग्यो आहा ! हाम्रो वाल्मीकि विद्यापीठ !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच