सुर्खेत । प्रतिनिधि सभा सदस्य तथा रामेछापका ठेकेदार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले वीरेन्द्रनगरमा अलपत्र १५ वटा सडक निर्माणको काम सुरु गर्नुभएको छ । निर्माण अलपत्र १५ वटै सडक निर्माणको ठेक्का ‘कान्छाराम’ ले लिनुभएकाे थियाे ।
प्रतिनिधि सभा सदस्य तथा निर्माण व्यवसायी ‘कान्छाराम’ ले ठेक्का सम्झौता मिति सकिएको एक वर्षपछि फेरी काम सुरु गर्नुभएको हो । कान्छाराम कन्ट्रक्शन प्रा.लि मार्फत २०७८ मा ठेक्का सम्झौता गरेका उहाँले २०७९ फागुन २० गतेभित्र कालोपत्रे सहित सबै सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने हो । तर कतै थोरै थोरै काम त कतै काम नै नगरी सडक निर्माण कार्य अलपत्र छोडेका थिए ।
सम्झौता मिति सकिनलाग्दा समेत निर्माणको काम अघि नबढेपछि पूर्वाधार विकास निर्देशनालय सुर्खेतले निर्माण कम्पनीको बैंक जमानत फिर्ता ल्याएपछि ठेकेदार ‘कान्छाराम’ले सडक बनाउन थालेका छन् । तर उहाँलाई आगामी जेठ महिनाभित्रै सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने चुनौती छ ।
ठेकेदार ‘कान्छाराम’ले आगामी वर्ष २०८१ को पुस मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप गरिदिन माग गरेका छन् । तर निर्देशनालयले आगामी जेठ १५ भित्रै काम सक्न ताकेता गरेको छ । निर्देशनालयले एक करोड १५ हजार रुपैंया बैंक जमानत समेत कार्यालयको खातामा फिर्ता ल्याएको छ । निर्देशनालयले बैंक जमानत फिर्ता ल्याएपछि कम्पनी कालो सूचीका लागि प्रक्रिया अघि बढ्ने त्रासले समेत ठेकेदार कान्छारामले सबै सडक निर्माणको थालनी गर्नुभएको हो ।
१५ वटै सडक निर्माणको ठेक्का पाएपछि ‘कान्छाराम’ ले शुरुमा काम त रफ्तारमै गर्छन की ? भन्ने चर्चा पनि भयो । उहाँले डिभिजन वन कार्यालय अगाडी, खारखोली टेलिकम सडकलगायतका ठाउँमा शुरुमा सन्तोषजनक काम पनि गरेका थिए । तर विस्तारै कान्छाराम कन्ट्रक्शनले ठेक्का पाएका सबै सडक अलपत्र पार्दै ठेकेदार ‘कान्छाराम’ समेत सम्पर्कविहिन बनेका थिए ।
कान्छारामले निर्माण जिम्मा पाएका सडकहरुको विभिन्न प्याकेजमा एक सय ११ मिटरदेखि सात सय ३० मिटरका सडक छन् । यी सडकको जम्मा लम्बाई पाँच हजार १४ मिटर अर्थात् पाँच दशमलब १४ किलोमिटर छ ।
१५ वटा सडक निर्माणका लागि कान्छारामले पूर्वाधार विकास निर्देशनलाय सुर्खेतसँग कुल १२ करोड ९४ लाख रुपैँयाको ठेक्का सम्झौता गरेका थिए । हालसम्म निर्माण गरिएका सडकको कामको मुल्यांकनका आधारमा एक करोड ९२ लाख भ्याटसहितको रकम भुक्तानी लिएका छन् । उहाँले काम सम्पन्न गरेको १२ लाख रुपैयाँ निर्देशनालयले दिन बाँकी थियो । तर उहाँ काम नै नगरेर सम्पर्कविहिन बन्नुभएको थियो ।
सडक अलपत्र छाडेपछि चौतर्फी आलोचना र दवाव बढ्दा निर्देशनलायले अन्तत अन्तिम बैंक जमानत फिर्ता सहित ठेक्का तोड्ने र कालोसूची प्रक्रियाका लागि सूचना जारी गरेको थियो । यस्तै कान्छारामले सडक अलपत्र पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा समेत उजूरी परेको छ । तर सडक निर्माण सम्पन्न भएकोृ भए कामको गुणस्तर कस्तो भयो भनेर अख्तियारले छानविन गर्न मिल्थ्यो । काम सम्पन्न गराउने दायित्व निर्देशनालयकै भएकाले अख्तियारले थप कारवाही अघि नबढाएको निर्देशनालयले जनाएको छ ।
यी हुन् निर्माण अलपत्र १५ सडक
अख्तियारमा परेको उजूरी र निर्देशनालयले ठेक्कातोडेर कालो सूची राख्ने प्रक्रियाथालेपछि ‘कान्छाराम’ले अहिले अलपत्र सडक बनाउन सुरु गर्नुभएकाे हाे । केही दिनयता तिब्र रुपमा सडक निर्माणको काम थालेको पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्य बताउनुहुन्छ ।
उहाँका अनुसार हाल ठेकेदारले नाला सम्पन्न भएका सडकको कालोपत्रेका लागि बेश विछ्याउने र नाला नै सुरु नगरिएका सडकको नाला निर्माणको काम गरिरहेका छन् । ‘कान्छाराम’ले ठेक्का लिएका सडकहरुमा डिभिजन वन कार्यालय अगाडीको सडक, खारखोली टेलिकम सडक, खारखोली हटलाइन सडक, इत्राम चोकदेखि जिल्लाप्रहरी कार्यालय अगाडीको सडक र जिल्ला अदालत-मुख्यमन्त्री-अख्तियार कार्यालय अगाडीको सडक रहेका छन् ।
यस्तै पूर्वाधार विकास निर्देशनालय अगाडीको सडक, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अगाडीको सडक, बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालय सडक, डीआईजी चौक-खारखोली सडक, कालिन्चोक-मिलनचोक सडक, खजुराको भित्रिमोडेल कलेज उत्तर-पश्चिम सडक, गण्डकी लाइन सडक, महिला छात्रावास-दैलेख रोड, लालुपाते उत्तरी र रत्न राजमार्ग शीतलनगर सडक रहेको निर्देशनालयले जनाएको छ ।
यी सडकहरुको नाला निर्माण गरेर, सब बेस र बेस राखेर जेठ १५ भित्र कालोपत्रे गरिने तयारी छ । यीमध्य केही सडकको काम आधा गरिएको छ भने केहीको काम नै सुरु भएको छैन ।
आगामी जेठ १५ सम्मको अन्तिम म्याद गरी सबै योजना सम्पन्न गर्न ताकेता दिएको निर्देशक रामशरण आचार्य बताउनुहुन्छ । ‘सडकको नाला निर्माण, फिलिङ गर्ने लगायतका काम भइरहेका छन’ उहाँले भन्नुभयो, ‘अब निर्माण अलपत्र सबै सडक छिटै कालोपत्रे बनाउने तयारीका साथ हामी पनि लागिपरेका छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच