पत्रकार महासंघको अक्षयकोष घोषणा गर्न प्रथम राष्ट्रपति झापामा

हिमालय टाइम्स
Read Time = 3 mins

-राजेन्द्र गाैतम

झापा । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव झापा आइपुग्नु भएको छ ।

रु १ करोड अक्षयकोष घोषणा गर्न पूर्वराष्ट्रपति यादव आइतबार झापा आउनु भएको हो । उहाँलाई भद्रपुर विमानस्थलमा झापाली सञ्चारकर्मीले स्वागत गरेका थिए ।

उहाँले सोमबार (आज) रु १ करोड अक्षयकोष घोषणा, सम्मान समर्पण र महासंघको स्तरोन्नति भवन उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

महासंघ झापा शाखाले २०७३ पुस १६ गते स्थापना गरेको अक्षयकोषमा १ करोड पुगेको छ । महासङ्घले चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाखबाट उपचार कोष स्थापना गरेको थियो । सो अक्षयकोषको नाम पत्रकार सहारा उपचार कोष राखिएको छ ।

महासंघले दुर्घटनामा परेर घाइते भएका, विभिन्न रोग लागेका र परिवारका सदस्य गुमाएका आर्थिक अवस्था कमजोर भएका झापाका पत्रकारलाई कोषले नगद सहयोग दिँदै आएको छ ।

कोषमा झापा अधिकांश पत्रकारले जनही तीन हजार उपलब्ध गराएका छन् । कोषको अधिकांश रकम दाताले दिएका हुन् । कोषको व्यवस्थित सञ्चालनका लागि महासंघले कार्यविधि बनाएको छ । कोष वृद्धिका लागि समिति गठन गरिएको छ । कोषको साँवा रकम खर्च गर्न मिल्दैन ।

अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट पत्रकारको उपचारमा खर्च हुँदै आएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सरकारका विभिन्न निकाय र दाताको सहयोगमा महासंघको दुईतले भवन निर्माण गरिएको छ । सोही भवनको डिजिटल प्रविधिबाट पूर्वराष्ट्रपतिले उद्घाटन गर्नु हुनेछ ।

कार्यक्रममा सहभागी हुने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल पनि हिजो नै झापा आउनु भएको शाखा अध्यक्ष गिरीले बताउनु भयो।

झापामा नारी सञ्चार गृह, प्रेस चौतारी झापा र नेपाल प्रेस युनियनले कोष स्थापना गरेका छन् । महासंघ र नारी सञ्चार गृहको कोष प्रभावकारी भएपनि चौतारी र युनियनको कोष खास वृद्धि हुनसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?